बिन्ती गरेर पार्टीमा आइदेऊ भन्नु पर्ने डा. वाग्लेलाई किन दिएन कांग्रेसले टिकट ?
केशवप्रसाद भट्टराई ।
१. म डा. स्वर्णिम वाग्लेलाई व्यक्तिगतरूपमा चिन्दिन । तर उनी दक्षिण एशियाकै श्रेष्ठ अर्थशास्त्रीमा गणना हुने अन्तर्राष्ट्रिय स्तरका अर्थशास्त्री हुन् । विश्वका विभिन्न मुलुकलाई र अन्तर्राष्ट्रिय संगठनलाई उनले आफ्नो आफ्नो विज्ञताबाट लाभान्वित गराएका छन् । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक, युएनडिपी लगायतका राष्ट्र संघीय निकायहरूमा आम नेपालीको कल्पना भन्दा माथिको तलव सुविधा पाउने गरी जागिर खाएर बस्न सक्थे । तर देशमै सेवा गर्छु भनेर आए । थोरै समय योजना आयोगमा राखिए । सरकार फेरिए सँगै उनी हट्ने नै भए, हटे ।
२. काङ्ग्रेसले बिन्ती गरेर पार्टीमा आइदेऊ भन्नु पर्ने व्यक्ति हुन् । भनेन, उनले काङ्ग्रेसको राजनीति गर्न चाहे । काङ्ग्रेसले राष्ट्रियसभामा लैजान सक्थ्यो, लगेन । समानुपातिकमा ठाउँ सुरक्षित गर्न सक्थ्यो–त्यो पनि गरेन । चुनाव लड्ने इच्छा जाहेर गरे । पार्टीले टिकट दिएन । काङ्ग्रेसका कुनै पनि उम्मेदवार मेरो सट्टा डा. वाग्लेलाई देऊ भन्न सक्थे – त्यो पनि कसैले भनेनन् ।
३. उनलाई सांसद बनाएर अर्थ वा परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन पाए मुलुकको आर्थिक विकासका प्रयत्नलाई विश्वभरीको सफलताको अनुभव र ज्ञानसँग जोड्न सकिन्थ्यो । उनको विश्वका प्रमुख विकास,आर्थिक र वित्तिय संस्थासंगको सम्पर्कको लाभ लिएर, विश्वका प्रमुख राष्ट्रका अर्थमन्त्री र अन्य अन्तर्राष्ट्रिय विकास सम्बन्धित मन्त्रीहरूसँग सजिलै सम्पर्क गरेर मुलुककालागि आर्थिक सहयोगका विराट सभावनाका ढोका खुल्न सक्दछ भन्ने आशा पनि मनमा पलाएको थियो ।
४. विश्वका कुनै पनि भागमा बिक्न सक्ने मानिस किन फर्किन्छौ नेपाल ? किन यहाँ आएर राजनीति गर्न खोज्छौ ? यहाँको राजनीतिमा योग्यता, क्षमता र निष्ठाको कदर हुन्छ, मेरो लागि स्थान छ राजनीतिमा भनेर सोच्नेहरू, कठै … ! डा. वाग्ले