सन्दीप पक्राउको सन्दर्भमा मात्र होइन, प्रहरीले ज्यादति गरेका सयौं घटना छन्
जेपी गुप्ता ।
सन्दीप लामिछानेको पक्राउका सन्दर्भमा प्रहरीले अपनाएको तरिकाका बारे गंभीर चर्चा उठेको छ। प्रहरीले सबै अभियुक्तसंग समान व्यवहार गर्दैन भन्ने प्रश्न बारे सामाजिक संजालहरूमा चर्चा छ। यस्तो प्रसंग निकै अघि देखि उठेको हो। राजबन्दीहरूसंग थुनामा दुर्व्यवहार गरिएको छ। हिरासतमा यातनाका कारणले थुनुवाहरूका मृत्यु भएको छ। शांतिपूर्ण प्रदर्शनकारी उपर प्रहरीले ज्यादति गरेको छ। प्रदर्शन नियन्त्रणका सबै बैकल्पिक उपायहरूलाई छाडेर प्रहरीले नृशंसता पूर्वक गोली प्रहार गरेर दर्जनौको हत्या गरेका घटनाहरू छन्। यस्ता मानवता बिरोधी घटनाहरूको यदाकदा चर्चा हुन्छ। तर, सेलाएर जान्छ। मानव अधिकारवादी तथा नागरिक समाजले यस्ता घटनाहरूको बिरोधलाई निरन्तरता दिदैनन्।
बि.स. २०४२ सालमा पक्राउ परेका साकेतचन्द्र मिस्र, दिलिप चौधरी लगायत कयौं राजबन्दीहरू बेपत्ता पारिए, उनिहरूलाई थुना मै मारिए। मेरै आँखा अगाडीबाट राजबिराजमा पक्रिएका हरि झोल (भुजेल) थुनाबाट कहिल्यै फर्किएनन्। गणेश साह पछि मंत्रि भए, अहिले माओवादी पार्टीका नेता हुन। पंचायत कालमा यिनलाई गिरफ्तार गरि महिनौ अन्य बन्दीहरू संगै थुनामा राखिएको थियो, पछि प्रहरीले गिरफ्तारीलाई इन्कार गर्यो। गणेश साह थुनामा परेको बेला सरकारी चिकित्सकसंग जचाँएको प्रेसकृप्शन औषधि किनी पठाउनका लागि एक आफन्तलाई दिएका थिए। यही प्रेसकृप्शनले गणेश साहको ज्यान जोगियो। बि.स. ०४५ सालमा म स्वयं डिल्लिबजारको सडकबाट सयौं मानिसका आँखा अगाडीबाट गिरफ्तार गरिएको थिए। थुनामा म बरिष्ठ पत्रकार पदम ठकुराठी, राजनीतिक नेताहरू बलबहादुर केसी, प्राध्यापक जीवराज पोख्रेलहरूसंगै लामो समयसम्म रहेको थिए। म उपर राज्य बिरूद्धको अपराधमा बयान लिई कारवाही चलाईएको थियो। मेरा बिषयमा बन्दी प्रत्यक्षीकरणको रीट सर्वोच्च अदालतमा दिईयो। नयनबहादुर खत्री प्रधानन्यायाधिश थिए, अदालतले मलाई हाजीर गराउने आदेश दिएकोमा प्रहरीले निजलाई थुनामै न राखिएको लिखित जवाफ दियो र अदालतले त्यस जवाफलाई पत्यायो। यस्ता सयौं उदाहरणहरू छन्।
पंचायत कालमा मरिचमान सिंहको प्रधानमन्त्रीत्वको बेलामा कर्ण ह्याजुको हत्या अभियोगमा भक्तपुरका वामपंथी नेता नारायणमान बिजुक्छे थुनामा थिए। हथकडी सहित उपचारार्थ नारायणमान बिजुक्छेलाई भक्तपुर अस्पताल पुर्याउँदा डा.अशोकानन्द मिस्रले हथकडी न खोली उपचार गर्न न मान्दा जागिर गुमाए। यति मात्र होईन, निलम्बित डा. अशोकानन्द मिस्रलाई २४ घंटा भित्र बागमती अंचल छोडन आदेश दिईयो। डा. मुरली प्रसाद सिंह मोरंग रंगेली अस्पतालमा मेडिकल अधिकृत थिए। नेता गजेन्द्र नारायण सिंह अचानक बिरामी भई रंगेली अस्पताल पुर्याईएका थिए। गजेन्द्र नारायण सिंह जो डा. मुरली सिंहका नातेदार पनि थिए-उनको इलाज गरे बापत डा. मुरली सिंहलाई सरकारी जागीरबाट हटाई २४ घंटा भित्र मोरंग छोडन बाध्य पारियो।
केही महिना पहिले सांसद निर्वाचित रेशम चौधरी डिल्ली बजार जेलमा बिरामी भए। सिकिस्त भएपछि उनलाई बीर अस्पतालमा भर्ना गरियो। बीर अस्पतालमा रेशमलाई खुट्टाको नेल लगाई नेल सहित अस्पतालको फलामे बेडमा बाँधि दिदापनि डाक्टरले केही बोलेन। केपी ओली जो पंचायत कालमा सबभन्दा बढी यातना भोग्ने मध्येका हुन् उनि मुलुकको प्रम भएको बेला यो कार्य भयो। सो घटनाको तस्वीर तल पोष्ट गरिएको छ। शासन सत्तामा रहेका कसैले पनि यस अमानवीय कार्यको निन्दा गरेन। यस्तै दुखःबाट गुज्रेका नारायणमान बिजुक्छेले पनि एक शब्द बोलेनन्।
गलतलाई गलत भनी निन्दा गर्ने सामान्य धर्म हराउदै गएको छ देशमा। पंचायतमा जो यस्तै दुखः पाएका थिए,अहिले यस्तै दुखः दिने भएका छन्। तैपनि देश चलेकै छ बिभिन्न अवतारमा।