तेस्रो विश्व युद्धको सम्भावित तिथि मिति र परिवेश



केशवप्रसाद भट्टराई ।

१. एउटा वहुचर्चित र वहु प्रतीक्षित पुस्तक गत अगस्टमा प्रकाशित भएको थियो । लेखक हुन् हल ब्रान्डस् र माइकेल बेक्ले । पुस्तकको नाऊ ‘डेन्जर जोनः दी कमिङ् कन्फ्लिक्ट विथ चाइना’ । दुवै जना अन्तर्राष्ट्रिय राजनीतिका विश्वस्तरमै नामूद र प्रतिष्ठित लेखक हुन् । उनीहरूको विश्लेषण र प्रक्षेपणलाई अत्यन्त गम्भीररूपमा लिइन्छ । उनीहरू र रस डोशी जस्ता प्राज्ञिकहरूको चीनका राजनीतिक, सैनिक र गुप्तचरी गतिविधि र सूचनाहरूमा भरपर्दो पहुँच भएको बताइन्छ । उनीहरूका जानकारी र सूचनाका स्रोतहरू अत्यन्त भरपर्दा मात्रै होइनन् , प्रामाणिक पनि मानिन्छन् ।

२. नेपाली बजारमा उपलव्ध नभएकोले पुस्तक नै त पढ्ने अवसर त जुटेको छैन तर सो पुस्तकको समीक्षाको क्रममा अन्तर्राष्ट्रिय समाचार माध्यमहरूमा उल्लेख भए अनुसार सो पुस्तकको पहिलो अनुच्छेदमा नै जनवरी १८, २०२५ का दिन चीनले ताइवान माथि आक्रमण गर्ने बताइएको छ । उनीहरूको भनाइ अनुसार एउटा अमेरिकी राष्ट्रपतिको कार्यकाल समाप्त भएर अर्को राष्ट्रपतिले कार्यभार सम्हाल्नु भन्दा दुई दिन अघि चीनले आक्रमणको साइत चयन गर्ने छ । डोनाल्ड ट्रम्पको कार्यकालको अन्त्य र जो बाइडेनको कार्यकालको आरम्भ हुनु अघि अमेरिकाका सडकहरूमा र अमेरिकी संसद भवन अगाडि भएको हिंसात्मक प्रदर्शन अमेरिकी इतिहासकै अकल्पनीय घटना हो । र अमेरिकी राजनीतिको स्तर र चरित्रबारे मिडियामा आएका समाचार र टिप्पणीहरूको आधारमा हेर्दा त्यो कुनै ऐतिहासिक अपवाद मात्रै नरहने पूर्वानुमान गरिएको छ ।

३. युक्रेन युद्ध ताइवान युद्धको पूर्वाभ्यास हो र अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले गरेको ताइवानको सैन्य नाकाबन्दी र ताइवानलाई लक्ष गरेर उसको वरिपरी उसले गरेको सैन्य अभ्यासले पनि हल ब्रान्डस् र माइकेल बेक्लेको प्रक्षेपणलाई अस्वीकार गर्दैन । जनवरी १८, २०२५मा चीनले आक्रमण गर्दछ भन्ने कुरालाई अमेरिकी गुप्तचर सँस्थाहरूले त्यसलाई देखेका, खुट्याएका हुन्छन् । सम्बन्धित तहमा त्यसको जानकारी पनि गराएका हुन्छन् । तर भड्काउपूर्ण सूचना गतिविधिकोरूपमा त्यसलाई राजनीतिक स्तरमा लिइन्छ । त्यसलाई खासै ध्यान दिइन्न ।

४. आक्रमणको क्रममा चीनले ताइवानको हवाई मैदानमा क्षेप्याश्त्र प्रहार गर्दछ । ताइवानका सवै सरकारी कार्यालयहरूमा एकैसाथ आक्रमण गर्दछ । अमेरिकी सैन्य अड्डा रहेको जापानको ओकिनावा र पश्चिम प्रशान्त क्षेत्रको गुवाम टापुमा पनि चीनको आक्रमण हुन्छ । क्षेत्रमा तैनाथ अमेरिकाको एउटै मात्र विमान वाहक युद्धपोतमाथि पनि क्षेप्याश्त्र प्रहार हुन्छ । चीनको एउटा विशेष रूपमा प्रशिक्षित सैन्य दस्ताले ताइवानका सवै प्रमुख राजनीतिक नेतृत्वहरूको हत्यागर्ने प्रयास गर्दछ । चीनको साइवर सेनाले ताइवानको विद्युत प्रणालीलाई नियन्त्रणमा लिन्छ र जल र जमिनबाट एकैचोटी ताइवानमाथि पूर्ण नियन्त्रणमा लिने प्रयास गर्दछ ।

५. कसैलाई यो कुनै सनसनीखेज उपन्यासको कुनै अंश जस्तो लाग्न सक्दछ तर माथि उल्लेख गरिए जस्तै केही दिन अघि मात्रैको चीनियाँ सैन्य अभ्यास र चीनका उच्च राजनीतिक र सैनिक नेतृत्व हरूको बारम्बारको धम्की, चेतावनी र स्वयम् राष्ट्रपति सी जिन्पिङ्का अन्तर्राष्ट्रिय समुदाय माझ अभिव्यक्त कडा प्रतिक्रियाहरूले त्यसलाई अस्विकार गर्ने स्थिति रहँदैन ।

६. चीन विश्वको नेतृत्व गर्न चाहन्छ । गुप्त र प्रकट रूपमा अमेरिकालाई पछार्ने उसको रणनीति १०० वर्ष पुरानो हो । पाँचहजार वर्षदेखिको निरन्तर इतिहास भएको चीन कुनै समय विश्वको सवैभन्दा शक्तिशाली र समृद्ध मुलुक थियो । भारत पनि त्यस्तै हो । प्रतिव्यक्ति आयको आधारमा चीन अझै पनि विकासोन्मुख राष्ट्र नै हो तर राजनीतिक व्यवस्था साम्यवादी तर आर्थिक व्यवस्था राज्य पूँजीवादी भएको चीनीयाँ राज्य समृद्ध छ । साम्यवादी राज्य व्यवस्था राज्य पूँजीवादवीचको अन्तर्द्वन्द्वलाई, आन्तरिक सत्ता संघर्षलाई व्यवस्थित गर्न पनि चीनलाई केही सैनिक र रणनीतिक उपलव्धि आर्जन गर्न आक्रामक विदेश नीति र रणनीति अवलम्वन गर्न चीनलाई आवश्यक भैसकेको छ । अमेरिकालाई रणनीतिक रूपमा कुनै न कुनै किसिमले पराजित गर्न सकिएमा चीनको विश्व नेतृत्व स्थापित हुने छ । अमेरिकाको पराजयको आरम्भ ताइवानमाथिको विजयबाट आरम्भ हुन्छ । र त्यो स्वाभाविकरूपमा तेस्रो विश्व युद्धको घोषणा हुनेछ ।

७. चीन एउटा विशाल,असीमित महत्वाकांक्षा युक्त उद्यमशील राष्ट्र, प्रचूर साधन र स्रोतसम्पन्न, संसारको दोस्रो ठूलो सैन्य शक्ति रहेको रूससँगको एक किसिमको रणनीतिक र सैन्य साझेदार राष्ट्र । अमेरिका बारे दुवैको दृष्टिकोण र रणनीति समान । युरोपबाट अमेरिकालाई विस्थापित गर्ने रूसी रणनीतिक महत्वाकांक्षा र एसियाबाट अमेरिकालाई धपाउने चीनको । यो नाताले पनि चीन र अमेरिका वीचको द्वन्द्व वा युद्ध अपरिहार्य मानिन्छ । उदाउँदो विश्व शक्ति र सय वर्षदेखिको विश्व शक्तिवीच यही दशक भित्र रणनीतिक छिनोफानो हुने प्रक्षेपण सवैजसो ठूला प्राज्ञहरूले गरिरहेका छन् ।

८. अर्को पक्ष पनि छ । जव कुनै महत्वाकांक्षी राजनीतिक नेतृत्वले असुरक्षाको अनुभव गर्दछ , उसले आफ्नो सुरक्षाकोलागि आक्रामक रणनीति अवलम्वन गर्दछ । आन्तरिक राजनीतिको सवालमा पनि यो लागू हुन्छ । आफ्नो शक्ति र समृद्धिको वृद्धिको एउटा जटील मोडमा चीन पुगेको छ । ऊ वर्तमान विश्व व्यवस्थालाई चुनौती दिने सामर्थ्य राख्दछ तर उसको आत्म विश्वासमा निरन्तर ह्राश पनि भैरहेको छ र त्यसले चीनियाँ नेतृत्वलाई थप आक्रामक बनाएको देखिन्छ ।

९. १९१४मा जर्मनी र १९४१मा जापान शक्तिशाली थिए । तर आफ्नो राष्ट्रिय आत्मविश्वासमा आएको ह्राशकै कारण उनीहरू आक्रामक रूपमा अघि आए । असुरक्षाकै भावनाले गर्दा पुटिनले युक्रेनमाथि आक्रमण गरेको बताइन्छ । सोभियत राज्य व्यवस्थाको असुरक्षा बढ्दै गएपछि ख्रुश्चेभ र ब्रेजनेभ पनि आक्रामक बन्दै गएका थिए , ब्रेजनेभको निधनपछि त्यो सावित पनि भयो । चीनले भारत (१९६२) र भियतनाम (१९७९ ) विरुद्ध गरेको आक्रमण र १९८९मा तियाननमेन चोकमा भएको बर्बर राज्य दमन त्यस्तो असुरक्षाकै अभिव्यक्ति हो । स्वतन्त्र प्रेसको अनुपस्थिति, एक दलीय राज्यको चरित्रले गर्दा व्यवस्था माथि आउने आन्तरिक र वाह्य चुनौतीलाई सामना गर्न चीन अत्यधिक शक्ति प्रयोग गर्न र शक्ति प्रदर्शन गर्न वाध्य छ । त्यो वाध्यताको प्रदर्शन ताइवानकै कारण हुनेछ ।

ताइवानको प्रजातन्त्र र त्यहाँको शक्ति र समृद्धि पनि चीनियाँ राज्य व्यवस्था माथिको चुनौती बनेको छ । उता भारत, जापान, भियतनाम, अस्ट्रेलियाको बढ्दो सामर्थ्य र अमेरिकासँगको उनीहरूको रणनीतिक साझेदारी र गठबन्धन अनि क्षेत्रमा अमेरिकाको बढ्दो प्रभाव–यी सवैले चीनको रणनीतिक संयमलाई चुनौती दिइरहेका छन् । कानुनद्वारानै ताइवानको सुरक्षाप्रति उत्तरदायी अमेरिकालाई चुनौती दिएर ताइवानलाई बलपूर्वक आफ्नो नियन्त्रणमा लिन सकिएमा भारत, जापान र भियतनाम जस्ता मुलुकसँगको विवादित भूभागका सवालमा आफ्नो पक्ष निर्णायक हुने चीनले बुझेको छ । यो परिवेशलाई भारतले नबुझ्ने कुरा भएन–त्यसैले रूसले युक्रेनमाथि गरेको आक्रमण विरुद्ध मौन रहेको भारतले ताइवानको नाकाबन्दी र नजिकैको जलक्षेत्रमा उसले गरेको सैन्य अभ्यासलाई भारतले आलोचना गर्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

नवलपुरमा पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलाको पुल भासिएको छ

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट

ओली सरकार अब नचल्ने निष्कर्षका साथ प्रचण्डले थाले छलफल, माधव नेपाल र राजेन्द्र लिङ्देनसँग वार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँगको संवादलाई तीव्र