जबराको बयानको भिडियो सुनेपछि….
डा. गोविन्दशरण उपाध्याय ।
राजनैतिक दुष्ट र स्वार्थीहरूको नाङ्गोपनलाई जवराको वयानले अझैं नाङ्गो बनाएको छ । यही नाङ्गोपनउपर जवराले पनि खेल्ने प्रयत्न गरेका हुन् कि भन्ने शङ्का चाहिँ अस्वाभाविक ठान्दिन । राजनैतिक धुर्त्याई साध्नका लागि राष्ट्रका हरेक संस्था र संस्थानहरू भागवन्डा लगाएर दिनको १२ बजेनै अध्यारो बनाएका राजनैतिक दलहरू र तिनको आइडियोलोजीलाई समर्थन गर्नेहरूले आफ्नो स्वार्थलाई वाहेक अरू केहीसंग (देशसंग) प्रेम गर्दैनन् भन्ने सिद्ध भएकै छ ।
१२ वर्ष ढुङ्ग्रोमा राखेपछि कुकुरको पुच्छर सोझो होला तर (२०६२ देखि २०७९) १५ वर्षमा पनि नसुध्रिने प्रतिज्ञा गरेको तथाकथित लोकतन्त्र, प्रजातन्त्र वा समाजवाद कथान्चित सुध्रिने देखिन्न । लोकमान कार्की, दिपक, जवराहरू यिनै लोकतन्त्रले जन्माएका पात्र हुन् । कुरा नमिलेपछि कुकुर र विरालोको खेल मन्चन गरिएको हो ।
आफ्ना कुकृत्यहरूलाई ढाकछोप गर्न राजनैतिक नेतृत्वले गरेका व्यभिचारहरूलाई समर्थन गर्नेहरू पनि दोषका भागिनै हुन् । चुनावको घोषणा भैसकेको अवस्थामा संसद निष्क्रिय हुने विश्वव्यापी मान्यतालाई ठाडो उल्लंघन गरेको सरकारी तन्त्र र अझैं पनि आफुलाई “सांसदको हैसियत“मा प्रस्तुत गर्ने विपक्षीहरूको साझा स्वार्थ बुझ्ने गरी देखिएको छ । नागरिकता विधेयक पछिल्लो प्रकरण हो । सर्प मरेपछि पनि उसको विष माटोमा बसिरहेको हुन्छ भन्ने वैज्ञानिक यथार्थ ध्यान नदिने हामी जनता अलिबढी नै दोषी छौँ । व्यभिचारका ढोकामा चुगुल नलगाएपछि व्यभिचारीहरूले प्रोत्साहननै पाउँछन् ।
सामान्यतया मैले राजनैतिक व्यवस्था र व्यक्तिहरू वारे टीकाटिप्पणी गर्न मन पराउन्न तर कानूनले आपराधिक क्रियाकलाप हुँदैगर्दा त्यस विषयमा सम्बन्धित निकायलाई जानकारी नदिनु पनि दण्डनीय अपराध नै मानेर अदालतले दण्डित गर्छ । यदि जनतालाई न्यायाधिश मान्ने हो भने जनतालाई “तिमी न्यायाधिश हौँ अव आफ्नो अभिमत तिम्रै लागि अपराधको कारण नबनोस्“ भनेर सुसज्जित हुनैपर्छ“ बुझाउने प्रयत्न गर्ने प्रयत्न गरेको हो ।
आफ्नै देशको राजनैतिक व्यबस्था र नेतृत्वका विषयमा नकारात्मक टिप्पणी गर्दा निकै कष्ट हुन्छ । समालोचना र आलोचनाका विचको फरक पनि बुझ्न नसक्ने, बूझ पचाउने र सर्वसाधारणलाई समेत राज्यशक्तिको स्वाद/शक्ति/लोभ देखाएर भ्रष्टाचारको मतियार बनाउने नेतित्व र यस्तो भ्रष्ट्राचारीहरूका हरेक कुकुर्मलाई आँखा चिम्लेर समर्थन गर्नेहरूप्रति आक्रोश र पीडा व्यक्त गर्न बाध्य भइन्छ । नागरिकले बोल्न पर्छ, यद्यपि शक्तिको प्रयोग गरेर यस्तो बोलाईलाई सधैंका लागि “चूप“ पार्न सक्ने शक्ति उनीहरूसंग छ ।
–तथाकथित अहिलेको राजनैतिक व्यबस्था ठीक छ तर नेतृत्व ठीक भएन भन्नेहरूको बुद्धिमा निकै गहिरो माकुराको जालो लागेको छ । गतार्थ भएका र विश्वभरी भ्रष्टाचार तथा अस्थिरताको पर्याय बनेको/बनाईको व्यबस्थाहरू नेपालीमा लाद्ने र सोही प्रयोजनमा खटेका नेतृत्वबाट सदाचारको आशा गर्नु सहाराको रेगिस्तानमा बिचमा धानको रोपाइँ गरेर धान पलाउँछु भन्नु नै हो । कठै, हामी नेपाली जनता ।
–हे पशुपतिनाथ हामी जनतालाई सत्मार्गका लागि तयार गर । ईश्वरको नाम लिंदा धर्मनिरपेक्षता धरापमा पर्छ भन्नेहरूबाट “नेता“बाट जोगाऊ ।