काङ्ग्रेस महामन्त्रीको राष्ट्रपति, प्रधानमन्त्री र सांसदहरूमा पटके उम्मेदवारीको मागबारे
केशवप्रसाद भट्टराई ।
१. काङ्ग्रेसको राजनीतिक विश्वास भनेको संसदीय प्रजातन्त्र, संसदीय प्रजातन्त्रमा जनताले विश्वास गरुञ्जेल चुनाव लड्न पाइन्छ । काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदले यति पटक भन्दा बढी चुनाव लड्न नपाइने व्यवस्था मागगर्नु भएछ । उहाँ महामन्त्री हुनुहुन्छ पार्टीले उम्मेदवार चयन गर्दा योग्य, इमान्दार, स्वच्छ छविका सक्षम जनप्रिय उम्मेदवार चयन गर्ने भूमिका निर्वाह गरे भो नी । तिनलाई सांसद , मन्त्री,प्रधानमन्त्री बनाउन पार्टी भित्र लडे भो नी ।
२. आमजनताको सरोकार त आफ्ना सांसद, मन्त्री, प्रधानमन्त्री योग्य, इमान्दार, स्वच्छ छविका र सक्षम होउन भन्ने पो होलात । को कति पटक सांसद र मन्त्री हुनुपर्छ भन्नेमा के सरोकार ? त्यसमाथि हरेक छ –आठ महिनामा मन्त्री फेरिने र अपवादको अवस्थामा बाहेक दुई वर्षको कार्यकाल पनि न पाउने प्रधानमन्त्रीले कुन दीर्घकालीन महत्वका राष्ट्र कार्य गर्ने ?
एक चोटी आठ नौ महिना अर्को चोटी त्यस्तै समय प्रधानमन्त्री भएर पालो पुग्ने भए पछि काम गरेर देखाउन सक्छ कसैले ? हो, पाँच वर्षे दुई कार्यकाल सुनिश्चित भए अर्कै कुरा । योग्य र सक्षम व्यक्तिहरू अझ अनुभवी पनि भए पो देश र जनताको राम्रो सेवा गर्न सक्लान् त । पालो पुर्याउन र कसैको पालो छिटो आउने पार्न मात्रै हुन् र ती पद ? होइनन् ।
३. प्रधानमन्त्री जतिपटक पनि हुन पाइन्छ । सांसद जतिपटक पनि हुन पाइन्छ । पार्टीहरूले राष्ट्रपति जस्तै राष्ट्रपति चयन गरे पटक किन गन्नु पर्यो ? यही पारा हो भने अर्को बढी राम्रोहुने कुराको के ग्यारेन्टी ?
४. अटल विहारी वाजपेयी १० संसदमा पटकसम्म निर्वाचित भैरहे । लालकृष्ण आडवाणी प्रतिनिधि सभा र राज्य सभामा गरेर ११ पटक सांसद रहे । अमेरिकामा ३५ वर्ष देखि ५१ वर्षसम्म लगातार सिनेटर हुने व्यक्ति दुई दर्जन भन्दा बढी छन् । जर्मनीमा एङ्गेला मार्केल १६ वर्ष चान्सलर ( प्रधानमन्त्री) बनिन् ।
राष्ट्रपतीय प्रणाली भएका अमेरिका जस्ता केही मुलुकमा राष्ट्रपतिले कतिपटक निर्वाचन लड्न पाइने भन्ने तोकिएको छ तर व्यवस्थापिकामा तोकिन्न । अमेरिकाले पनि डेढ सय वर्ष भन्दा लामो अवधिसम्म राष्ट्रपतिले कति पटकसम्म चुनाव लड्न सक्ने भनेर तोकेको थिएन । राष्ट्रपति फ्र्यांकलिन रुजवेल्ट चौथो पटकसम्म चुनाव लडे, जिते, तर अन्तिम कार्यकालको तककस्रो महिनामा नै उनको निधन भयो । दोस्रो विश्व युद्ध सकिएको थिएन । युद्ध जारी थियो ! राष्ट्रले खासै नचिनेको र अनुभवहीन उपराष्ट्रपति ह्यारी ट्रुमन राष्ट्रपति बन्न पुगे । एक किसिमले युद्ध के हुने हो भनेर अमेरिकीहरू कहालिए अनि दुई कार्यकालको सीमा तोके । तर यो अर्को कुरा हो कि ह्यारी ट्रुमन असाधारण क्षमता र भविष्य दृष्टि भएका राष्ट्रपति सावित भए । युद्धलाई विराट सफलतामा टुङ्ग्याए ।
५. गलत गरे तत्काल कारवाही हुने व्यवस्था पो हुनुपर्यो । उनीहरूलाई सक्षम, स्वच्छ छविका र उत्तरदायी बनाउनेबारे सघन गृहकार्य पो गर्नुपर्यो त महामन्त्रीले । त्यसको सुनिश्चितिको व्यवस्था पो निर्माणगर्नु पर्यो । त्यस्तो माग पो राख्नु पर्यो । क्षमता, निष्ठा र सांगठानिक कौशल भए त बालेन, हर्क, गोपालहरू पनि आउन सक्दा रहेछन्– यत्रा ठूला दलहरूले बाटो छेक्न खोजेर न छेकिने रहेछ । राणा शासनमा पजनीको अभ्यास गरे जस्तै यति पटक उती पटक किन भन्नु पर्यो र ? पार्टीको महामन्त्रीको चुनाव लड्दा समग्र राज्य व्यवस्था सचालन सम्बन्धमा कसरी जाने भनेर विचार गर्नु भएनछ ?