पूर्वप्रधानमन्त्री हराऊँ अभियान व्यक्तिविशेष भन्दा पनि साङ्केतिक अभियान बनोस्



नारायण गाउँले ।

बुहारी या ज्वाइँ खोज्दा हामीलाई ‘पढेको’ चाहिन्छ । लमीले नपढे पनि केटा योग्य छ भन्यो भने हामी कन्भिन्स हुन्नौं । पढेको मात्र होइन, त्यो पढ़ाइ मार्केटमा बिक्न सक्ने क्वालिटीको हो होइन भन्ने पनि चाहिन्छ । आफ्नो छोरा या छोरीले स्कुल ‘बङ्क’ गर्दै पढेर के हुन्छ र भन्यो भने हामी हो त नि भन्न पक्कै सक्दैनौं । हामीलाई थाहा छ, नपढी त झन केही हुँदैन ।

एउटा सामान्य स्कुल खोल्यौं भने पनि चिन्जानकै भरमा नपढेको व्यक्तिलाई शिक्षकको जागिर दिन हामीलाई अप्ठेरो लाग्छ । एउटा निजी कम्पनी खोल्नुभो भने जानेको छ भन्ने भरमा स्कुल पनि पूरा नगरेको कसैलाई लेखापालको जिम्मेबारी पक्कै दिनुहुन्न । गर्दै जाँदा सिकिहाल्छ नि भन्ने तर्क यहाँ चल्दैन । तपाईंलाई थाहा छ, सामान्य हिसाब त गर्ला, तर कुनै दिन ठूलो अप्ठेरोमा उसले डुबाउन पनि सक्छ ।
तर जब देशको कुरो आउँछ, राजनीतिको कुरो आउँछ, एकाएक नपढे पनि योग्य छ भन्ने दिव्य ज्ञान कसरी आउँछ ? तपाईंको कम्पनीमा लेखापाल हुन अयोग्य मान्छे तपाईंकै नजरमा देशको अर्थमन्त्री हुन कसरी योग्य हुन्छ ? तपाईंको स्कुलमा पढ़ाउन समेत अयोग्य मान्छे देशकै शिक्षामन्त्री हुन कसरी योग्य हुन्छ ? तपाईंले नपढेको व्यक्तिलाई शिक्षकको जागिर नदिनु उसको अपमान होइन ।

तपाईंले अयोग्य व्यक्तिलाई भोट नदिनु उसको अपमान होइन । देशप्रतिको तपाईंको आस्था र कर्तव्य हो । हाम्रो बुबाको पाला एसएलसी पास गरेपछि सम्मानित जीवन बिताउन पर्याप्त हुन्थ्यो । जिन्दगी भागदौडमैं थियो, तर साइकिलको स्पिडले त्यसलाई भेटाउन सकिन्थ्यो ।
मेरो समय आइ पुग्दा नपुग्दै मास्टर गर्न पर्ने भयो । प्रतिष्पर्धा तीव्र हुँदै जाँदा साइकिलको स्पिडले जिन्दगीलाई भेटेन । मोटरसाइकिल चढ्न पर्ने भयो ।

अबको पुस्ता मजत्तिको स्पिडले कहीँ पुग्दैन । मेरो बुबाको स्पिडले त बाँच्न पनि सक्दैन । हरेक दिन नयाँ चुनौती, नयाँ आयाम, नयाँ प्रविधि, नयाँ ज्ञान र नयाँ सम्भावना थपिएका छन् र स्पर्धा पनि हरेक दिन झन कड़ा हुँदै गएको छ । मेरो बुबाको लागि एउटा समाचार हप्ता दिनसम्म नयाँ हुन्थ्यो, मेरा लागि हरेक दिन अपडेट चाहिन्छ । मेरो छोरा हरेक घण्टा अपडेट हुन सकेन भने पछि पर्छ । यो तपाईंलाई राम्ररी थाहा छ ।
देश पनि यस्तै हो । हिजोको देश जसले चलाए पनि चल्थ्यो, र चलेजस्तो लाग्थ्यो । हिजो भारत चिने पुग्थ्यो, आज विश्वसँग प्रतिस्पर्धा गर्न पर्छ । अब देशको नेतृत्व फेर्ने बेला भयो । छोरालाई पीएचडी नगरी ‘करियर’ सफल हुँदैन भन्नु नपढेको हजुरबुबाको अपमान होइन, फेरिएको समय र प्रतिष्पर्धाको सम्मान हो । अब शिक्षित र नयाँ पुस्ताको नेतृत्व चाहिन्छ भन्नु ऱ्याल चुहाउने पुस्ताको अपमान होइन ।

सबै कुरा एकै पटक फेर्न सकिन्न । पूर्ण रूपान्तरण एकै पल्ट पक्कै हुँदैन । यसपालि दलहरूबीच रूपान्तरणको बिउ छरौं । कथित शीर्ष भनिने र बारम्बार परीक्षित नेतालाई बिदा गरौं । खाली ठाउँ युवा पुस्ताले लिन्छ । यति खराब नेताबाट शासित छौं कि कम्तिमा यसभन्दा खराबको डर हामीलाई छैन । पूर्वप्रधानमन्त्री हराऊँ अभियान व्यक्तिविशेष भन्दा पनि साङ्केतिक अभियान बनोस्, सुरुवात बनोस् ! मेरो ऐक्यबद्धता !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग

निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट