अब जन्मको आधारमा नागरिकता दिने कल्पनाको अन्त्य हुनुपर्दछ
जेपी गुप्ता ।
नागरिकता विधेयक संसदको दुबै सदनबाट पास भयो। राष्ट्रिय सभाबाट पनि बहुमतले पास हुनुबाट स्पष्ट भएको छ कि संसदका प्रायसः सबै पार्टीहरूले यस समस्याको सदाका लागि समाधान चाहेको हो ।
नागरिकताका प्राप्तिका अनेकौ समस्याहरू मध्ये सर्वाधिक चर्चा समेटेको बिषय थियो–जन्मसिद्ध नागरिकता पाएकाहरूमा, नागरिकता पाए पश्चात नेपाली सहरमा जन्मेका सन्तानहरूलाई वंशजको आधारमा नागरिकता दिनु । यस विधेयकको प्रमाणीकरणबाट यस समस्याको समाधान हुनेछ। यदि फेरि पनि सरकारले जन्मको आधारमा नागरिकता दिने पेटारो खोल्यो भने मुलुकको ठूलो अहित हुने काम हुनेछ । अब जन्मको आधारमा नागरिकता दिने कल्पनाको अन्त्य हुनुपर्दछ। मधेसी पार्टी तथा बासिन्दाहरूले त यस बारे चुईक्क पनि बोल्नु हुदैन।
अतितमा धेरै गलत र नपाउनु पर्ने मानिसहरूले नागरिकता पाए । यसमा कुनै सन्देह छैन कि, गलत मानिसहरूले घूस तथा रिश्वत दिएर नागरिकता पाउन सके। यो अपराध नागरिकताको सिफारिस गर्ने जन प्रतिनिधी र नागरिकता जारी गर्ने सरकारी कर्मचारीको मिलोमतोबाट हुन सक्यो। यसमा पर्वते र मधेसी दुबैको संलग्नता छ। कस्को बढी, छुट्याउन सक्नेले छुट्याए हुन्छ। यस बिषयमा जाने बुझेकाले प्रशासन कार्यालयमा हद म्याद न भएको तथा हकदैया न भएको उजुरी दिनका लागि जनतालाई आह्वान गरे हुन्छ। कडाईका साथ कारबाही बढाए हुन्छ।
नागरिकता सम्बन्धि संसदीय कार्यविधी पछि अर्थात पारित भएपछि एउटा जिज्ञासा हुन्छ कि संसदमा यस विधेयकलाई पारित गर्न सघाउने राजनीतिक दल तथा यसका नेताहरूले बाहिर सडकमा किन यसको बिरोध गरिरहेका छन् त ? मलाई लाग्दछ, यसको जवाफ न खोजौं, यो खेति हो त्यस्ता दल तथा यसका नेताहरूको !