मुटुको शल्यक्रिया गर्न एक करोड खर्च गरी २६ घण्टा एयर एम्बुलेन्स चढेर अमेरिकाबाट चेन्नई



आपत्कालीन शल्यक्रिया आवश्यक भएकी एक महिलालाई यसै साता अमेरिकाबाट विमानमा राखेर भारत ल्याइएको छ । त्यसलाई एउटा लामो ’एरोमेडिकल’ उद्धार मानिएको छ । उनको उडान २६ घण्टा लामो थियो र उडानका क्रममा विमान बाटोमा तीन पटक रोकियो । उक्त जहाज अमेरिकाबाट उडेपछि सुरुमा आइसल्यान्डमा र दुई पटक टर्कीमा रोकिएको थियो। त्यसपछि मङ्गलबार बिहान दक्षिणी भारतीय सहर चेन्नई पुग्यो । ती महिला अहिले चेन्नईको अपोलो अस्पतालमा शल्यक्रियाको पालो कुरिरहेकी छन् ।

अहिले उनको अवस्था स्थिर रहेको अस्पतालका प्रवक्ताले बताएका छन् । अस्पतालका एक अधिकारीले भने, ‘मुटुको भल्भमा समस्या देखिएपछि उनलाई अमेरिकामा आईसीयूमा भर्ना गरिएको थियो। उनको परिवार जुलाई ५ देखि हाम्रा मुटुरोग विशेषज्ञ डा. साई सतीशसँग सम्पर्कमा थियो। उनीहरू मुटुको भल्भको उपचार गराउन यहाँ आएका थिए।’

ती ६७ वर्षीया महिलाको पहिचान खुलाइएको छैन । उनी अमेरिकाको ओरेगनस्थित पोर्टल्यान्डमा आफ्ना छोराछोरीसँग बस्थिन्। त्यसैबेला उनमा मुटुको समस्या देखिएको बताइएको छ । परिवारका सदस्यले उनको घरमै उपचार गर्दा राम्रो हुने महसुस गरे ।

त्यसपछि दक्षिणी भारतीय सहर बैङ्गलोर (बेङ्गलुरु) मा रहेको एयर एम्बुलेन्स सेवा इन्टरनेशनल क्रिटिकल–केअर एअर ट्रान्सफर टीम आईसीएटीटीलाई सम्पर्क गरे । ती बिरामी महिला पनि सोही क्षेत्रकी हुन्।
लामो यात्रा
आईसीएटीटीकी सहसंस्थापक तथा निर्देशक डा. शालिनी नलवाड भन्छिन्, ‘हामीले उनलाई चेन्नईसम्म ल्याउने उडानका लागि विमानस्थलहरूमा अनिवार्य इन्धन र मर्मतसम्भार समय कम गर्न दुईवटा विमान प्रयोग गर्यौँ।’

उनलाई भारत ल्याउन लागेको उडान समयले यसअघि दक्षिण अफ्रिकाको जोहानेसबर्गदेखि चेन्नईसम्म एकजना क्यान्सर रोगीलाई ल्याउन लागेको १८ घण्टाको कीर्तिमान् तोडेको उनी बताउँछिन् ।

यसअघि दक्षिण अफ्रिकाबाट ती बिरामीलाई कोभिडका कारण उडानहरू हुन नसकेका बेला सन् २०२० मा भारत ल्याइएको थियो । एयर एम्बुलेन्स बजार भारतमा अझै पनि प्रारम्भिक चरणमै छ । यद्यपि उद्योगबारे जानकारहरू यस्तो व्यवसाय हरेक वर्ष लगभग छ प्रतिशतले बढिरहेको बताउँछन् । र, त्यसको विस्तारको सम्भावना उच्च छ।

अधिकांश भारतीयहरू निजी एयर एम्बुलेन्सको उच्च मूल्य तिर्न असमर्थ छन् । तर सञ्चालकहरू यस्तो सेवाको माग बढ्दै गएको बताउँछन् । गत मे महिनामा एकजना सङ्घीय मन्त्रीले भारतको संसद्लाई देशमा ४९ वटा एयर एम्बुलेन्सहरू रहेको बताएका थिए। ती १९ वटा सञ्चालकद्वार सञ्चालित हुन् ।

विगत तीन वर्षमा भारतमा करिब ४,१०० बिरामीलाई एयर एम्बुलेन्सबाट एक स्थानबाट अर्को स्थानमा लगिएको छ । पछिल्लो घटनामा आईसीएटीटीको एउटा मेडिकल टोली व्यवस्थापन र बिरामीलाई तयार पार्न निर्धारित उडानको दुई दिनअघि पोर्टल्यान्ड पुगेको थियो । उक्त टोलीमा क्रिटिकल केयर फिजिसियन र दुईजना मुटु र फोक्सोसम्बन्धी उपकरण चलाउन जान्ने प्राविधिक थिए ।

उनीहरूले पहिलो पटक च्यालेन्जर–६०५ विमानमा उडान गर्दै थिए । उक्त विमानलाई “विमान आईसीयू“ का रूपमामा रूपान्तरण गरिएको छ । उक्त जहाज आइसल्यान्डको रेक्याभीकमा पुग्यो। त्यहाँ विमानमा इन्धन भरियो । त्यसपछि उनीहरू टर्कीको इस्तानबुल पुगे। त्यहाँबाट बिरामीलाई अर्को विमानमा सारियो । उक्त विमानमा चालक दलका नयाँ सदस्यहरू थिए ।

त्यसपछि उनीहरू चेन्नईका लागि उडान सुरु गर्नुअघि टर्कीको दीयार्बाकरमा इन्धन भर्नका लागि फेरि रोकिए । डा. नलवाडका अनुसार हरेक पटक इन्धन भर्न विमान रोक्दा अनिवार्य जाँचको लागि लाग्ने समय कम गर्नका लागि विमान परिवर्तन गरिएको हो ।

‘आठ घण्टा उडान गरेपछि पाइलटहरूले आराम गर्नु अनिवार्य हुन्छ त्यसैले चालक दल पनि परिवर्तन गरिएको हो,’ उनले भनिन् । सन् २०१७ मा स्थापना भएको उक्त संस्थामा २५ जना चिकित्सकहरू र २५ जना मुटु तथा फोक्सोसम्बन्धी उपकरणहरू चलाउन जान्ने प्राविधिकहरू छन् । उक्त कम्पनीसँग भारतमा दुईवटा विमान छन्।

त्यसमध्ये एउटा प्रायः दक्षिणी सहरमा राखिन्छ भने अर्को पश्चिम बङ्गालको कोलकातामा हुने गर्छ । पहिले राजधानी दिल्लीमा राख्ने गरिएको विमानलाई पछि कोलकातामा राख्न थालिएको हो । नलवाडका अनुसार पूर्वोत्तर भारतबाट माग उच्च भएपछि त्यसो गरिएको हो ।

पूर्वोत्तर भारतका धेरैले दक्षिणी राज्यका अपस्पतालहरूमा जानका लागि यस्तो सेवा धेरै प्रयोग गर्छन् । दक्षिणी राज्यका अस्पतालहरूमा चिकित्सा पूर्वाधार र सेवा राम्रो भएकाले उनीहरूले त्यसो गरेका हुन् । कोलकातामा जहाज राख्न थालेपछि लागत घटेको उनी बताउँछिन्।

पहिले कोलकाताबाट दक्षिणी सहरमा उडान गर्न बिरामीले १४ लाख भारतीय रुपैयाँ तिर्थे । अहिले उनीहरूले त्यसको आधा खर्चमा यस्तो सेवा लिन सक्छन् । हालै अमेरिकादेखि चेन्नईसम्म भएको उडानको भाडा भने ‘महँगो रहेको’ उनले बताइन् ।

तर उनले त्यो कति थियो भन्ने खुलाइनन् । तर उक्त यात्रामा करिब एक करोड रुपैयाँ खर्च भएको खबरहरू आएका छन् । आईसीएटीटीले हरेक दिन करिब दुई/तीन बिरामीलाई ’एयरलिफ्ट’ गर्ने गर्छ । उनीहरूले प्रत्यारोपणका लागि अङ्गहरू र शल्यक्रियाका लागि सामग्रीहरूको पनि ’एयरलिफ्ट’ गर्ने गर्छन्।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अजरबैजानको विमान खस्नुमा रुस जिम्मेवार हुनसक्छ : अमेरिका

बीबीसी । ह्वाइटहाउसका प्रवक्ता जोन किर्बीले अजरबैजान एयरलाइन्स दुर्घटनाग्रस्त भएको घटनामा रुस जिम्मेवार

सिचुवानको जहाज र उजाड कालापत्थर बन्दै गरेको माछापुछ्रे

राम थापा, गण्डकी । माछापुछ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिर कैद

कानुन संशोधनमा ढिलाइ हुँदा बजेट निर्माण कार्य प्रभावित

काठमाडौं । कानुन संशोधनमा ढिलाइ हुँदा सङ्घीय सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को

राहुघाट जलविद्युत आयोजनाको बाँध, सुरूङ र विद्युतगृह निर्माणको काम तीव्र

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट