सामरिक सवालमा र शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धामा हामी कतै पट्टी पनि लाग्नु हुँदैन
गगन थापा ।
पछिल्लो समय राष्ट्रिय राजनीतिको विमर्शमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, वैदेशिक सहायताजस्ता विषयहरुले अधिक महत्व आएको छ । यस्ता राष्ट्रिय बहसहरुले मूलतः आम-नेपाली नागरिकहरुको अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा रहेको रुची र राष्ट्र प्रतिको गहिरो प्रेमलाई उजागरसमेत गरेको छ ।अर्को तर्फ यस्तो राष्ट्रिय बहसहरु कति पूर्वाग्रहपूर्ण पनि छन्, कति उक्साहट जस्तो देखिन्छ भने कतिमा विषयको गम्भिर्यता र सुझबुझको अभाव पनि भेटिन्छ ।
यस्तो बहसको सकारात्मक प्राभाव नै हो आज अन्तर्राष्ट्रिय सम्बन्ध र मामिलाका विषयहरु आम नागरिकको जानकारीमा पुगेको छ, जसले नागरिकलाई सचेत बनाएको छ । आम नागरिक अन्तर्राष्ट्रिय सम्बन्धका विषयहरुमा जानकार र सचेत रहँदा राजनीतिक नेतृत्वलाई त्यस्ता विषयहरुमा सही निर्णय गराउन प्रभाव र सार्वजनिक दबाब निर्माण गर्छ र पछिल्लो समय सही निर्णय गराउन दबाब निर्माण गरेको पनि छ । अन्तर्राष्ट्रिय सम्बन्ध र मामिलाका विषयहरुमा, आम नागरिकको दबाबमा, विकास हुँदै गरेको पारदर्शिता स्वागतयोग्य छ ।
एकातिर आम नागरिकहरु अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा जानकार भएर राजनीतिक नेतृत्वलाई सही निर्णय गराउने तर्फ दबाब सिर्जना हुनु सकारात्मक प्रभाव भए पनि अर्का तिर अन्तर्राष्ट्रिय सम्बन्धका विषयलाई आवश्यकताभन्दा बढि विवादको विषय बनाउँदा राष्ट्रिय राजनीतिमा केही विकृति पनि विकास भएका छन् :
• पछिलो दुई-तिन वर्षमा नेपालको राष्ट्रिय राजनीति चरम ध्रुविकृत भएको कुरा यथार्थ हो । यस्तो ध्रुविकृत राजनीतिक परिवेशले निर्मित राजनीतिक प्रतिस्पर्धामा आफूलाई सहि र अर्कालाई गलत देखउन अन्तर्राष्ट्रिय सम्बन्धको विषयलाई प्रयोग गर्ने प्रवृत्ति पछिल्लो समय बढेको छ । यसले राज्यको अन्तर्राष्ट्रिय छविमा त प्रभाव परेकै छ राजनीतिक दलहरुको विश्वसनियतामा पनि प्रश्न उठ्ने निश्चित छ ।
• अन्तर्राष्ट्रिय सम्बन्धको विषय यसै पनि संवेदनशील हुने भएकाले वदनियत राखेर नीजि (व्यक्तिगत वा दलगत) स्वार्थलाई पूर्ति हुने गरी ‘card’ का रुपमा अन्तर्राष्ट्रिय सम्बन्धका विषयहरुलाई प्रयोग गर्ने गलत र विकृति राजनीतिक परिपाटि सुरु भएको छ । यसरी संवदेनशिल विषयलाई निहित स्वार्थमा प्रयोग गर्ने परिपाटिले आम नागरिक स्तरमा समेत गलत जनकारी सम्प्रेशण भएर नागरिकलाई गुमराह गर्ने वातावरण सिर्जना भएको छ । नागरिक स्तरमा यसरी गलत र अपभ्रंशित सूचना र जानकारी प्रदान गर्दा नागरिकस्तरबाट राजनीतिक नेतृत्वमाथि हुने सार्वजनिक दबाबले गलत निर्णय गर्न दबाब दिने अवस्था सिर्जना हुने देखिन्छ ।
• अन्तर्राष्ट्रिय सम्बन्धका मामिलाहरु लामो समयको गृहकार्य पश्चात तयार भएको हुन्छ । कुटनैतिक तहमा हुने यस्ता गृहकार्य विषय र सन्दर्भ अनुसार दुईपक्षिय वा बहुपक्षित स्तरमा काम भएका हुन्छन् । यसरी कुटनैतिक स्तरबाट काम भएको विषयमा समेत औपचारिकताका लागि गर्नुपर्ने राजनीतिक निर्णयको समयमा अप्रत्याशित रुपमा प्रकट हुने विवादहरुले हाम्रो अन्तर्राष्ट्रिय छवी र national confidence लाई नकारात्मक रुपमा ठूलो असर परेको छ । यस्ता विवादहरुमा सार्वजनिक रुपमा राजनीतिक दल र नेताहरुले आ आफ्नो अनुकुलता अनुशार नेपालका मित्रराष्ट्रहरुको नाम नै तोकेर गर्ने भद्दा र अशोभनिय टिप्पणीहरु, त्यस्ता टिप्पणीहरुले आम नागरिक स्तरमा सिर्जना गरेको असंगत चिन्ता र भयले पनि हाम्रो national confidence मा अपूरणिय क्षति पुर्याएको छ ।
• अन्तर्राष्ट्रिय राजनीति यतिखेर महत्वपूर्ण परिवर्तनबाट गुज्रीँदै छ । ठूला शक्ति राष्ट्रहरुको संघर्षले शीत युद्ध पश्चात निर्मित यथास्थितिको International Order लाई चुनौती दिएको छ । यस्तो परिवर्तनको केन्द्रमा हाम्रो छिमेकी राष्ट्र, हामी अवस्थित दक्षिण एसिया तथा एसिया-प्रशान्त क्षेत्र रहेको छ । यस प्रकारको संवदेनशील र महत्वपूर्ण भू-राजनीतिक परिवेशमा हामीले सुझबुझपुर्ण ढङ्गबाट आफू अनुकुल फाइदा लिनु पर्नेमा, हामी कहिलेकाहीँ वरालिन पुग्छौं । यस्तो हुँदा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय छवि, र national confidence झन कमजोर हुन पुग्छ।
अन्तर्राष्ट्रिय सम्बन्धका मामिलमा राष्ट्रिय रुपमा देखिएका यस्तो गम्भिर समस्याहरलाई नेपाली कांग्रेसले कसरी हेर्छ वा हेरेको छ ? यस्तोमा एउटा स्पष्ट दृष्टिकोणका साथ सिङ्गो देश र जनतालाई सम्हालेर अगाडि बढ्नु पर्नेमा जे आउँछ त्यही अनुशार प्रतिक्रिया दिदैं बस्नु उपयुक्त हुन्छ?
न त राजनीतिक ईतिहास र क्षमताले कांग्रेसलाई, प्रतिक्रियात्मक शक्तिको रुपमा रहन शोभा दिन्छ न त क्षणिक लाभ वा चुनावी अंक-गणितको राजनीतिलाई हेरेर अन्तर्राष्ट्रिय सम्बन्धका विषयलाई सुविधानुकुल कहिले उचाल्ने र कहिले रक्षात्मक हुने अहिलेको गलत परिपाटी लाई अवलम्बन गर्ने छुट दिन्छ।
अत: नेपाली कांग्रेसले, अहिले देखिएको सुविधानुकुल प्रतिक्रियात्मक आन्तरिक व्यवहारले सिर्जना गरेको अलमल र आत्महिनताबाट देशलाई मुक्त गर्ने मामिलाको नेतृत्व लिनु पर्छ ।
यसका लागि हामीले हाम्रो दृष्टिकोण आम जनता ले बुझ्ने गरि बताउनु पर्छ।
१) हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धलाई मार्गदर्शन गर्ने भनेको हाम्रो संविधानले हो । हाम्रो संविधान यस सन्दर्भमा स्पष्ट छ – पञ्चशील र असंलग्नताको सिद्धान्तले हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको प्रमुख स्तम्भ हुन् ।
२) संविधानको यसै मर्म अनरुप हामीले हाम्रा सबै मित्र तथा छिमिकी राष्ट्रसंग सार्वभौम समानताको आधारमा सम्बन्ध राख्ने हो ।
३) हामी हाम्रो भुभाग कोही कसैको विरुद्ध प्रयोग हुन दिंदैनौं र हाम्रा मित्र राष्ट्रहरु समेतले आफ्नो भूभागमा नेपाल विरुद्ध प्रयोग हुन दिंदैनन् भन्ने विश्वास राख्दछौं ।
४) हामी हाम्रो भूमीको एक ईन्च पनि कोही कसैलाई दिंदैनौं र अतिक्रमीत भुमि फिर्ता ल्याउन निरन्तर कुटनैतिक उपचार खोज्ने लगायत अन्य हर सम्भव उपाय लगाइ रहन्छौं। साथै हामी कोही कसैको भूमीमा दावा राख्दैनौं ।
५) आर्थिक कुटनीति र वैदेशिक सहयोग (र सहायता) नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको महत्वपूर्ण अंग हो । नेपालको आर्थिक र विशेष गरी पूर्वाधार विकासको आवश्यकता र त्यस्तो विकासका लागि आवश्यक पर्ने पूँजीको बीच ठूलो अन्तर छ। यस्तो अन्तरलाई आवश्यक पर्ने वित्तिय सहयोग र साहयताको मूख्य मध्येको एक माध्यम अन्तर्राष्ट्रिय सहयोग तथा सहायता हो । यसरी प्राप्त हुने सहयोग र सहायतामा हाम्रो प्रयास विशेष गरी अनुदान सहयोगका लागि र त्यस पश्चात् सहुलियत रिन हुनुपर्छ । यसरी दुईपक्षिय वा बहुपक्षिय सहयोग र सहायताबाट प्राप्त हुने सहयोग अनुदान र सहुलियत रिनलाई नेपालले आफ्नो प्राथमिकता अनुसार फाइदा हुने क्षेत्रमा प्रयोग गर्ने हो । वैदेशिक सहायतलाई विकसित राष्ट्रहरुको विकासशिल तथा अल्प-विकसित राष्ट्रहरु प्रति जिम्मेवारीको रुपमा अन्तर्राष्ट्रिय रुपमा स्थापित छ । यसका लागि नेपाल समेत विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्नो आवाज उठाएको छ । अत: नेपालको स्वार्थमा हुने गरी प्रतिस्पर्धि रुपमा वैदेशिक सहायता भित्र्याउनु हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको एउटा आयम हो ।
६)आर्थिक रूपमा र विकास साझेदारीमा हामीले सबै शक्ति राष्ट्रहरूसँग संलग्न भएर सहकार्य गर्नु पर्छ। सामरिक सवालमा र शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धामा भने हामी कतै पट्टी पनि लाग्नु हुँदैन। नेपाल कुनै पनि सैन्य वा रणनीतिक गठबन्धनमा रहनु हाम्रो राष्ट्रिय स्वार्थको अनुकुल छैन, त्यसैले नेपाल कुनै पनि किसिमको सैन्य वा रणनीतिक गठबन्धनमा रहँदैन,रहन सक्दैन।
६) हामी हाम्रो आन्तरिक मामिलामा तथा हामीले गर्ने अन्तरास्ट्रिय व्यवहार र हाम्रो अन्तरास्ट्रिय सम्बन्धको विषयमा, मित्र राष्ट्र वा छिमेकी राष्ट्र समेत कोही कसैको हस्तक्षपलाई स्विकार गर्दैनौं । सम्भावित हस्तक्षपलाई प्रतिरोध गर्ने सबै भन्दा ठूलो जिम्मवारी नेपालका प्रमुख राजनीतिक दलहरुको हो ।
यो आजको अवस्थामा अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा न्यूनतम साझा विचार हो जुन हाम्रो संविधानको मर्म अनुरुप पनि छ । यी विषयहरु नेपाली कांग्रेस मात्रको नभएर सबै राजनीतिक दलको हुनु पर्ने हो । यसमा असहमत हुनु पर्ने कुनै कारण छैन । त्यसैलाई अन्तर्राष्ट्रिय सम्बन्धका यस्ता न्यूनतम साझा विचारलाई औपचारिक रुपमा साझा धारणा बनाऔं । साझा धारणा बन्न सके सत्ता वा सडकमा जो कुनै दल भए पनि अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा सबैको साझा धारणा हुने थियो । यस्तो हुन सके कम्तिमा सस्तो राजनीतिक लाभका लागि सडकमा रहँदा एउटा र सत्तामा हुँदा अर्को धारणा हुने विकृतिको अन्त्य हुन्थ्यो । पछिल्लो समय MCC वा BRI को मामिलामा देखिएको ध्रुविकरण र SPP लाई खारेज गर्न देखिएको अलमल रहँदैनथ्यो। र अनावश्यक रुपमा लोकरिझाँईका लागि हुने conspiracy theory बाट नागरिकहरु मुक्त हुने थिए ।
अन्तर्राष्ट्रिय सम्बन्धको मामलामा सबै प्रमुख राजनीतिक दलहरुको साझा विचार हुने हो भने दिगो रुपमा अहिले देखिएका केही समस्याहरुको ठोस समाधान हुने थियो ।
क) अहिले राष्ट्रिय राजनीति, आन्तरिक मामिला र राजनीतिक discourse मा देखिएको बाह्य राष्ट्रहरुको असोभनिय प्रभाव संस्थागत रुपमै उल्लेख्य रुपमा कम हुनेछ ।
ख) हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवहार सहज रुपमा प्रक्षेपण गर्ने किसिमको हुने हुँदा राष्ट्रको अन्तर्राष्ट्रिय छवि, आत्मविश्वास र प्रतिष्ठा बढ्ने छ ।
ग) अहिले कहिलेकाहीँ हाम्रो अन्तर्राष्ट्रिय व्यवहार र सम्बन्धको केन्द्रमा हामी के चाहन्छौं वा हाम्रो स्वार्थ के हो भन्ने भन्दा पनि भारत वा चिन वा अमेरिका वा अन्य कुनै देशले के चाहान्छ वा के स्वार्थ छ भन्ने कोणबाट निर्देशित देखिन्छ । सबै राजनीतिक दलको साझा विचार बन्न सके नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवहारको केन्द्रमा नेपालको स्वार्थ रहने हुन्छ ।
घ) सबै प्रमुख राजनीतिक दलले अन्तर्राष्ट्रिय व्यवहार र सम्बन्धको सम्बन्धमा राष्ट्रिय सहमति बनाउने हो भने हामी एउटा परिपक्व परराष्ट्र सम्बन्धको चरणमा प्रवेश गर्छौं। त्यसपछि हामीले शक्तिराष्ट्रहरूबीचको खिचातानीमा पर्नु पर्दैन।
त्यसैले, नेपाली कांग्रेसले यस विषयमा नेतृत्वदायी भुमिका खेल्दै गठबन्धनका सबै दल तथा प्रमुख प्रतिपक्षसंग समेत राष्ट्रिय संवाद गरौं । अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा सबै दलहरुलाई एक ढिक्का बनाऔं । अन्तर्राष्ट्रिय सम्बन्धमा परिपक्व राष्ट्रिय धारणा बन्नु भनेको राष्ट्र बलियो बन्नु हो । समकालिन राष्ट्रिय राजनीतिमा यस विषयमा नेतृत्व लिन सक्ने परिपक्वता नेपाली कांग्रेसले राख्नै पर्छ।
(कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले नेपालले लिनुपर्ने परराष्ट्र सम्बन्धबारे पार्टी नीतिबारे व्यक्त विचारको सम्पादित अंश)