अलिकति भ्रष्ट र अनैतिक शासकबाट शासित हुनु त हाम्रो नैसर्गिक हक र गौरव नै हो !



नारायण गाउँले ।

भर्खरै जनार्दन शर्माको “राजीनामा” सुन्नुभो, फुर्सत छ भने बेलायतको यस्तै तातो प्रसङ्ग पनि सुन्नुहोस् ! बेलायतमा पनि भर्खरै अर्थमन्त्रीले राजीनामा दिएका छन् ! केही वर्षअघि पबमा रक्सी पिएर दुई पुरुषमाथि दुर्व्यवहार गरेको आरोप लागेका एक बेलायती सांसदले सरकारी जिम्मेबारीबाट राजीनामा दिनुपर्यो । पार्टीले उनलाई सांसद पदबाट कारबाही पनि गर्यो ।

तर, प्रसङ्ग यत्तिमैं रोकिएन । चारित्रिक स्वच्छता नभएका व्यक्तिलाई सरकारी जिम्मेबारी सुम्पेको भन्दै प्रधानमन्त्रीको चर्को आलोचना भयो । उनले सुरुमा त्यस्तो आरोपबारे थाहा नभएकोले नियुक्त गरेको बताएका थिए तर पछि ‘सङ्गीन’ आरोप नभएकाले नियुक्ति दिएर गल्ती गरेको स्वीकार गरे र माफी मागे ।

माफी मागेपछि झन दुई वटा गल्ती देखियो । पहिलो अनैतिकलाई नियुक्ति दिनु र दोस्रो आरोप थाहा थिएन भनेर ढाँट्नु ! नेताले झुटो बोल्नु हाम्रोमा कला र क्रान्तिकारिता भए पनि बेलायतमा निकै ठूलो अपराध मानिन्छ ।

यतिबेला प्रधानमन्त्री बोरिस जोनसनमाथि पद छोड्ने चौतर्फी दबाब बढेको छ । प्रतिपक्षको विरोध त सामान्य भयो, उनकै सरकारका १७ जना सदस्यले राजीनामा दिइसकेका छन् । तिनले प्रधानमन्त्री जोनसन नैतिक रूपमा देशको नेतृत्व गर्न अयोग्य रहेको भन्दै साथ दिन नसक्ने बताएका हुन् । राजीनामा दिनेमा अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाविद पनि छन् ।

प्रधानमन्त्री जोनसनले आज विपक्षी दलका नेतालगायतसँग प्रत्यक्ष सवालजबाफ गर्ने, संसदीय समितिसमक्ष बयान दिने र संसदमा सांसदहरूको प्रश्न सामना गर्ने कार्यक्रम छ । हामीकहाँ जस्तो वर्षौँ बालुवाटारभित्रै बसेर सरकार र पार्टीको नेतृत्व गर्ने सुविधा बेलायतमा छैन । हरेक दिन उनले कठोर प्रश्न र संसदको सामना गर्नुपर्ने हुनसक्छ । सम्भवतः यो नैतिक प्रश्न र मुद्दाले उनको सरकार गिर्न सक्नेछ भन्ने ठानिएको छ ।

राजीनामा दिनेहरूले पार्टीलाई कमजोर बनाएको जस्तो देखिए पनि मूलतः पार्टीको नैतिक, सैद्धान्तिक र मूल्यगत आदर्श रक्षा गरेको बताएका छन् । तिनले सरकारमा रहेर पार्टीलाई कमजोर बनाउनु गलत हुने तर्क गरेका छन् । हामी भए यस्तो राजीनामालाई पार्टी प्रतिको गद्दारी भन्ने थियौं । चरित्रहीनताको आरोप लागेका व्यक्तिको राजनीति त त्यसै सिद्धिनेछ नै, एकपल्ट राजीनामा दिए भने जोन्सनको राजनैतिक जीवन पनि समाप्त हुनेछ ।

अब जनार्दन शर्मातिर फर्किनुहोस् । के उनलाई नियुक्त गर्ने या सिफारिस गर्नेले जबाफदेहिता देखाउलान् ? जोनसनले जस्तै कम्तिमा माफी माग्लान् ? बेलायतमा पनि आरोप मात्रै लागेको हो, पुष्टि भएको होइन । र जनार्दन जस्तो गम्भीर राष्ट्रघातको आरोप नभएर वैयक्तिक चरित्रहीनताको आरोप हो ।

के त्यत्रो भ्रष्टाचारको साक्षात् अडियो नै सार्वजनिक हुँदा गोकुल बास्कोटाको राजनीति सकियो ? उनी जेल गए ? उनलाई नियुक्त गर्ने र पछिसम्म चोख्याउन भूमिका खेल्ने ओलीले माफी मागे ? के गम्भीर यौन दुराचारको आरोप लागेका कृष्ण बहादुर महराको राजनीति सकियो ? संसदीय समितिले नै अनियमितता भएको भन्दै सरकारलाई छानबिन र कारबाही गर्न सिफारिश गरेका वाइडबड़ी काण्डदेखि यति र ओम्नी काण्डमा कसैलाई कारवाही भयो ? के कहिल्यै देउबालगायतका प्रधानमन्त्रीहरू यस्ता गम्भीर मुद्दामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी भए ? के पार्टी क्याडरलाई छुटाउन पार्टीकै कार्यकर्ताले न्यायाधीश खरीद बिक्री गरेको त्यत्रो अडियो सार्वजनिक हुँदा कोही कसैले नैतिक/कानुनी जिम्मेवारी लियो ?

अलिकति नमज्जा त लाग्यो होला तपाईंलाई पनि । तर यस्को मुख्य जिम्मेबार हामी कार्यकर्ता नै हौं जो गोकुल बास्कोटा र विजय गच्छदारबाट सुशासनको प्रशिक्षण लिन सगर्व लाइन लाग्छौं र प्रकाश दाहालको शालिकमा माल्यार्पण गर्दै महराबाट चारित्रिक प्रमाणपत्र थाप्न शिर निहुऱ्याउँछौं । नेताको गलत चरित्रबारे प्रश्न गर्नु अन्ततः पार्टी र देशको हितमा हुन्छ भन्ने हामीलाई लाग्दैन । यतिमात्र होइन, त्यत्रो विकसित देशसँग तुलना गरेर हुन्छ भनेर केही उपबुज्रुक साथीहरू कमेन्ट बक्समा आउनुहुन्छ । मानौं, अलिकति भ्रष्ट र अनैतिक शासकबाट शासित हुनु त हाम्रो नैसर्गिक हक र गौरव नै हो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग

निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट