मेरो स्वतन्त्रता खोई ?



. गोविन्दशरण उपाध्याय ।

१. स्थानीय चुनाव हुँदैछन् । पार्टीहरूले उम्मेदवार उठाएका छन् । केही स्वतः स्फूर्त स्वतन्त्र पनि उठेका छन् । दलीय निर्देशन नमान्नेहरू पार्टीको सदस्यताबाट निकालिएका छन् । केहीले कारबाहीमा परिने डरले उम्मेदवारी फिर्ता लिएका छन् । टिकट पाउनेहरू मख्छ छन् । नपाउनेहरू निन्याउरो छन् । केही भिजेको मूसोझैं भएर आफ्नै शत्रुका लागि भोट माग्न हिँड्नु पर्ने बाध्यताले पिरोलिएका छन् । गठबन्धनले धेरैलाई “….फुपुको अनुहार“ बनाइदिएको छ ।

२. एकअर्काको “टाउकोको मूल्य तोक्नेहरू“ एकठाउँमा उभिएका छन् । यसलाई लोकतन्त्र वा प्रजातन्त्रको सुन्दर पक्षमा लिनुपर्छ । यसले नेपाली समाज सहनशील, बुझक्कड, सधैं शत्रुताको बोझले पीडित छैन भन्ने प्रष्ट हुन्छ । तर गठबन्धनको अर्को पक्ष पनि छ । माथि भनिएझैं वर्तमान गठबन्धनहरू लोकतन्त्र वा प्रजातन्त्रलाई जोगाउन, विकसित गर्न गरिएका होइनन् । आ–आफ्ना मान्छेहरूलाई सत्ताधारी बनाएर सत्ता सुख भोग्नका लागि हो ।

३. उम्मेदवारका रुपमा उठ्न पाउने, आफुले चाहेको व्यक्ति वा पार्टीलाई अभिमत दिन पाइने अधिकारलाई नेपालको संविधानले सुनिश्चित गरेको छ । तर राजनैतिक पार्टीहरूका लागि संविधानले दिएका यी अधिकारहरूको कुनै अर्थ छैन । उनीहरू आफ्नो “निर्देशन नमान्ने“हरूको राजनैतिक भविष्य समाप्त पारिरहेका छन् । नागरिक अधिकार प्रयोग गर्ने पार्टी–सदस्यहरूको नागरिक अधिकार पार्टीहरूको कब्जामा परेको छ, मानौं व्यक्तिहरू नेपालका स्वतन्त्र नागरिक होइनन्, फलानो पार्टीका पाल्तु कुकुर हुन् !!

४. यो देशका नागरिकहरूको (पार्टीको सदस्य लिएका) स्वतन्त्रता लोकतन्त्र, प्रजातन्त्रका नाममा पार्टी सदस्यता थोपर्ने शक्तिशाली नेताहरू र तिनले गर्ने गराउने राजनैतिक निर्णयहरूको वन्दी छ । निःसन्देह यी नेताहरूको शक्ति नेपालको संविधान र विश्वव्यापी लोकतन्त्रको मान्यताभन्दा बढी शक्तिशाली छ जसले पार्टीका सदस्य वाहेक स्वतन्त्र नागरिकहरूको अस्तित्वलाई स्वीकार गर्दैन । नेपालका हकमा यो निकै ज्यादतीपूर्ण नै छ ।

५. यदि कसैलाई नेपाली नागरिक स्वतन्त्र छन् जस्तो लाग्छ भने त्यो भ्रम हो । नेपालको कार्यपालिका तथा न्यायपालिका वा अन्य सरकारी निकायहरूमा सेवाक्षेत्रमा प्रवेश पाउन पार्टीको सदस्य हुनुपर्छ । राजदूत होस् वा कुनै संस्थाको प्रमुख वा कार्यालय सहायकको पद नै किन नहोस् “पार्टीका सदस्य“का लागि आरक्षित छन । कदचिद पार्टी सदस्य वाहिरका मान्छेले तेहा प्रवेश पाउन सफल भए भने पार्टीहरूको साम, दाम, दण्ड तथा भेट सम्बन्धित व्यक्तिलाई असफल पार्न केन्द्रीत हुन्छ । तीतोसत्य सत्य यही हो ।

६. देशको संस्थागत राजनीतिले देशका स्वतन्त्र नागरिकहरूसंग (कुनै राजनैतिक पार्टीको सदस्य नलिएका) सधैं तेस्रो दर्जाको व्यबहार गर्छ । जागिर खुल्यो भने स्थानीयतहका नेताले आफ्ना सदस्य वाहेकका व्यक्तिलाई सिफारिस । म स्वयंले यो हविगत भोगेको छु । केन्द्रीयतहमा त छन् सबैभन्दा पहिला आफ्नो परिवार, त्यसपछि नातागोता, अनि, केन्द्रीयतहका नेताहरूका आफन्त, अन्त्यमा स्थानीयतहका नेता र अन्त्यमा स्थानीय पार्टी सदस्यहरू सिफारिसमा पर्छन् । यदि तपाईंसँग पार्टी–विशेषको सदस्यता छैन भने तपाईं “पत्रु“ ठहरिनु हुन्छ । त्यसैले आफ्नै खुट्टामा उभिन्छु भनेर दम्भ भर्ने तथाकथित उद्योगपतिहरू पनि पार्टीहरूकै चाकरी गरेर राजनैतिक सत्ताको स्वाद लिन्छन् । नेतासंग मिलेर जनतालाई “लुट्छन्“ भन्ने जताजतै चर्चा छ ।

७. घरपरिवार छुट्टिंदा अंशबण्डा हुन्छ र गाउँठाउँका भलादमीहरू मिलेर छुट्टिनेहरूलाई चित्त बुझ्ने गरी अंशबन्डा गर्छन् ्र राजनीतिका लागि देशनै घर हो। स्वार्थका आधारमा सत्ताका लागि अंशबन्डा हुनु स्वाभाविक हो तर अहिलेको गठबन्धन पूर्णतया “बाँदर–न्यायालय“मा आधारित छ  । नागरिकहरूको स्वतन्त्रअधिकारहरूलाई राजनैतिक दलहरूले बन्धक बनाएर आफ्ना वफादारहरूलाई स्थानीयतह, प्रदेशतह र केन्द्रीयतहको साँचो बुझाउने प्रयन्त गरिरहेका छन् । आमाजनताले पनि बुझेको तत्थ्य के हो भने चुनावका माध्यमबाट विकास निर्माणका लागि सरकारीस्तरबाट प्राप्त हुने संसाधन र तिनको उपयोगमा विचौलिया (दलाल) का रूपमा काम गर्न÷गराउन बैधानिकतवरबाट दलाल नियुक्त गरिंदैछ । पार्टीबाट आएका “प्रतिनिधिहरू“ जनताप्रति होइन, देशप्रति होइन पार्टीप्रति वफादार हुन्छन् भन्ने तत्थ्य विगत ३० वर्षमा जनताले बुझिसकेका छन् ।

८.  राजनैतिक पार्टीहरूले जनतालाई पनि दिग्भ्रमित बनाएका छन् । धर्म र संस्कृति मान्ने तर धर्मनिरपेक्षतामा भोट दिने, धर्म–संस्कृति र नेपालको सांस्कृतिक पहिचानको पक्षमा बोल्ने तर आफुलाई “कम्युनिस्ट–कांग्रेस“ भोटर भन्ने, पार्टीले व्हिप जारी गरेपछि नेपाल नै बिक्रि गरे पनि चुईक्क बोल्न नसक्ने काँतर स्वभाव जनतामा विकसित भएको छ । आज पनि नेपाली जनताहरूको तुलना कट्टरवादी इसाई, मुस्लिमसंग गर्न सकिन्छ । मुसलमानहरूले ज्यान दिन सक्छन् तर अल्लाह हुँ अकबर भन्न छोड्दैनन् त्यसरी नै नेपाली जनताहरू कांग्रेस र कम्युनिस्ट “धर्म“मा जेलिएका छन् । आफ्नो देशको मौलिक संस्कृति, धर्म पहिचान बेचिंदा पनि आफ्ना धर्मगुरू अर्थात् कांग्रेस, कम्न्युनिस्ट वा समाजवादका ठेकेदार गुरुहरुप्रति विद्रोह गर्न सक्दैनन् । मानौं, कम्युनिस्ट –कांग्रेस पार्टीलाई भोट नहाले अनन्त कालीन नर्कमा परिन्छ !!

९. स्वतन्त्रता र स्वच्छन्दता फरकफरक कुरा हुन् ्र नेपाली राजनीतिमा स्वन्तन्त्रता होइन स्वच्छन्दता मौलाएको छ । त्यसैले राजनीति शब्दनै गालीगलौजमा रुपान्तरित भएको छ । राजनीति गर्नेलाई कसैले सम्मानको नजरले हेर्दैन, बुझ्दैन बरू राज्य दोहन गर्ने लुटाहा, फटाहा. भष्ट्राचारी तथा हुल्याहाका रूपमा चिनिन्छन् । स्वच्छन्दताको यो भूमरीमा असल नियतसंग काम गर्नेहरू पिल्सिन्छन् । नागरिकको पूर्ण सम्मान हुनु स्वतन्त्रता हो भने पार्टीका कार्यक्रताको मात्र सम्मान हुनु स्वच्छन्दता हो ।

१० अव नेपाली नागरिकहरूले आफ्नो नागरिक अधिकारको प्रयोग र उपयोगलाई महत्व दिनुपर्छ । नागरिक अधिकार प्रयोग गर्दा कारवाही गर्ने “पार्टी“हरू विरुद्ध अवज्ञा गर्नुपर्छ । देश, संस्कृति, समाज, धर्म तथा नेपालको मौलिकताको पक्षधर व्यक्ति वा पार्टी दूवैलाई निर्वाचित हुन प्रोत्साहित गर्नुपर्छ । जनताहरू पार्टीका बँधुवा मजदुर हुनुहुँदैन । प्राध्यापकहरूले आफ्नो विज्ञताको प्रमाणपत्र लिन पार्टीको सदस्यता अस्वीकार गर्नुपर्छ । कृषकहरूले आफ्नो सीपको स्वीकृतिका लागि पार्टीमा बन्धक बस्नुहुँदैन । तर एउटा एउटा स्वतन्त्र नागरिकका रूपमा हरेक व्यक्तिले गोप्य मतदान गरेर आफ्नो अभिमत जाहेर गर्न पाउनु पर्छ । गाउँगाउँ, सहरसहरका टोलटोलमा “हाम्रा भोटर एति छन्“ भन्दै मान्छेहरूको सूची बनाउनेहरूलाई वहिष्कार गरेर मात्र नागरिक स्वतन्त्रता प्राप्त हुन्छ ।

११. आसन्न चुनावमा म पार्टीलाई होइन आफ्नो विवेकलाई गोप्य मतदान गर्ने सङ्कल्प लिन्छु । विदेशी प्रतिमान नेपालीहरूमा थोपर्ने, राजनैतिक जडतावाद लाद्ने, देशको धर्म, संस्कृति, पहिचान तथा स्वाभिमानका शत्रुहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नेगराउने कुनै पनि पार्टी वा व्यक्तिमा मेरो भोट जाने छैन । अकुत भ्रष्टाचार गर्ने ठाउँ सुनिश्चित गर्न भ्रष्टाचार र भ्रष्ट्राचारीको घोर विरोध गर्नेहरूलाई मैले चिनेको छु, भोगेको छु । त्यसैले म आफुलाई कुनै प्राणी ब्लेकमेलिंगबाट जोगाउने छु । म भोट दिन्छु किनभने उप्रान्त मैले नेपालको स्वन्तन्त्र नागरिकको अधिकार प्रयोग गर्नेछु । भोट मेरो अधिकार र कर्तव्य दूवै हो तर मेरो अधिकार र कर्तव्य खोस्ने कुनै पनि व्यक्ति वा पार्टीलाई भोट दिन्न ।

स्वस्तिअस्तु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग

निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट