सनातन धर्मको गौरव
डा. गोविन्दशरण उपाध्याय ।
१. सनातन शब्दको अर्थ – सधैं रहिरहने, आरम्भ र अन्त्य नभएको, निरन्तर चलिरहने तथा कहिले पनि पुरानो नहुने भन्ने हुन्छ । इतिहासमा ब्रह्माजीका चारवटा मानसपुत्र सनकादि ऋषिहरूमध्ये मध्ये तेस्रो सनातन थिए । यी चार ऋषिहरू ऋषिहरू मध्ये सबैभन्दा ज्ञानी, तपस्वी र त्यागी मानिन्छन् । यी ऋषिहरूले ब्रह्माको सृष्टि गर्न दिएको आदेश नमान्दा सधैं “बालकझैं देखिने“ श्राप प्राप्त गरेका थिए । यिनै ऋषिहरूका श्रापका कारण भगवान विष्णुका प्रसिद्ध द्वारपालहरू जय तथा विजय हिरण्याक्ष–हिरण्यकशिपु, रावण–कुम्भकर्ण तथा कंस–शिशुपाल बनेक थिए । भगवान् विष्णुका अवतारहरू यिनै तीनबटा जयविजयका असुर अवतारहरूको वरिपरी घुम्छन् ।
२. धर्मको अर्थ – गुण, मूलगुण, असल व्यबहार, शास्त्रीय मर्यादाअनुसारको कर्म भन्ने हुन्छ । ऋषिहरूले फरकफरक तवरले धर्मशब्दको परिभाषा गरेका भए पनि धर्मको अर्थ “धारण शक्ति“ हो भन्ने तत्थ्यमा सबै सहमत छन् । उदाहरणका लागि सूर्यको मूलगुण प्रकाश हो, पृथ्वीको मूलगुण गन्ध र भार हो, पानीको मूलगुण शीतलता र स्वाद भएझैं मानिसको मूलगुण बौद्धिकता हो। महाराजा मनुले धर्मका दशवटा लक्षण बताएका छन् । धर्मभित्र अनेकौं सम्प्रदाय, मत, पन्थहरू हुन्छन् । हिन्दू शब्दले सनातन धर्म र ती धर्मगुणलाई आफ्नो ठानेर फरकफरक दृष्टिकोण र व्यबहारले पालन गर्ने समुदायहरूको सामूहिकतालाई सङ्केत गर्छ । तैपनि स्वर्गनर्क, आत्माको अमरता, कर्मको नियम तथा पुनर्जन्म र संस्कारमा विश्वास गर्नेहरू नै सनातनी (हिन्दू) हुन् भन्न मिल्छ । सनातनीको पहिलो पहिचान नै उपरोक्त मूल लक्षणहरूको सबैले फरकफरक तवरले पालन गर्छन् तर विरोध नगर्नुनै हो । यदि तपाईंले “जे–जस्तो उपासना गरे पनि अन्ततः उनी परमात्मासंग मिसिने हो, केवल बाटो फरकफरक हुन्“ भन्ने कसैबाट सुन्नुहुन्छ भने त्यो “सनातनी“ भनेर प्रष्टसंग बुझे हुन्छ ।
३. नेपाल र नेपाली सनातन धर्म, संस्कृतिका अनुयायी तथा उत्तराधिकारी हौँ । हामी सनातनीले विश्वका कुनै पनि पन्थ वा सम्प्रदायको विरोध गर्दैनौं । हरेक नेपालीले (धर्मपरिवर्तन गरेर इसाई, मुस्लिम बनेका वा परम्परागत मुसाई वाहेक) विश्वका जुनसुकै उपासना पद्धतिले ईश्वरकै प्राप्ति हुन्छ भनेर सम्मान गर्छौं । आजको तनावग्रस्त विश्वका लागि सनातन धर्ममात्र एकमात्र निर्विकल्प साधना हो जसले विश्व–भातृत्वका आधारमा दिगो शान्ति स्थापना गर्न सक्छ । त्यसैले हरेक सनातनीले अधिकतम सद्गुणहरूको अवलम्बन गर्दै सनातनधर्मका मूलभूत सिद्धान्त तथा व्यबहारलाई विश्वसामु पसिक्नुपर्छ । आजको विश्व सनातन धर्मलाई जान्न र मान्न लालायित छ, भोको छ । विश्वका मान्छेहरू सनातन धर्मका अविनाशी गुणहरू प्राप्त गर्दा अत्यन्त शान्ति र सुखको अनुभव गर्ने छन् । “हरेक आराधना पद्धति ईश्वरकै प्राप्तिका मार्ग हुन्“ भन्ने उदात्त तथा सनातन विचार भएको कुनै पनि हिन्दूले धर्मपरिवर्तन गराउंदैनन् र धर्मपरिवर्तन गराएर कसैलाई हिन्दू बनाउने आवश्यकता पनि छैन । एक पटक सनातन धर्मका मूलभूत गुणहरू जानेपछि, बुझेपछि र साधना गरेपछि मान्छेहरू स्वतः विचार परिवर्तन हुन्छ । संसारको हरेक व्यक्ति प्राकृतिक रूपमा हिन्दू नै हुनेहुँदा हृदयपरिवर्तन हुन्छ, चोला होइन ।
त्यसैले सनातन धर्मको मर्मलाई बुझौं र सनातन हिन्दू धर्म (सद्गुण)को विस्तारमा स्वामित्व लिएर अगाडी बढौं । विश्वले हरेक नेपालीलाई पर्खेर वसिरहेको छ । यो पर्खाईको महत्व बुझौं र गौरवका साथ अगाडी बढौं ।