भ्यू टावरको किस्सा
शारदाप्रसाद त्रिताल ।
सन् १९९८ मा स्नातकोत्तर अध्ययनको क्रममा वेलायतको म्यानचेस्टर युनिभर्सिटीबाट १५ दिने अध्ययन भ्रमणको लागि हामी मोरक्को गएका थियौं । समथर भूमि भएको कारण बाटोमा ठाउँ ठाउँमा भ्यू टावरमा चढेर परसम्म हेर्नको लागि हाम्रो गाडीको ड्राइभरले गाडी रोक्थ्यो ।
भारत, पाकिस्तान र नेपालका हामी ३ जना थियौं । हामी भ्यूटावरमा त्यति चाख राख्तैनथ्यौं । अनि एक ठाउँमा गाडी रोकिएको समयमा हाम्रो कोर्स डाइरेक्टरले हामी तीनै जनालाई भ्यूटावरतिर ध्यान नदिनुको कारण सोध्नु भयो ।
हामीले हामी तीन जना संसारका सबैभन्दा अग्ला तीन हिमाल भएका तीन छिमेकी देशका उच्च पहाडी तथा हिमाली भूभागमा जन्मे हुर्केका नागरिक हौं भनेर जवाफ दियौं । अनि गाडी चलेपछि कोर्स डाइरेक्टरले हाम्रा हिमाल र पहाडी भूभाग र आफ्ना अनुभवका बारे जानकारी गराउन लगाउनु भयो ।
हामी तीनै जनाले आआफ्नो अनुभव सुनायौं । सबै साथीहरुले हाम्रा अनुभव ध्यानपूर्वक सुन्नु भयो । कतिपय साथीहरुले ती अग्ला हिमालमा कतिपटक चढेका छौ भनेर पनि सोध्नु भयो । चुचुरोमा पुग्न कसरी सकिन्छ भन्ने सुनाउँदा धेरैले अचम्म मान्नु भयो ।
हामी तीनैजनाको निष्कर्ष थियो कि हामीलाई भ्यूटावरको आवश्यकता नै छैन ।
हाम्रो टोलिका साथीहरु मध्ये कोही नेपाल आउनु भयो भने हामीले भनेको उ वेलाको हाम्रो भनाइ गलत सावित हुने भयो ।
नेपाल शायद संसारमा सबैभन्दा बढी भ्यू टावर भएको देशको रुपमा पनि चिनिन बेर छैन ।
हाम्रा गणतान्त्रिक नेताहरुको सोच र बुद्धिलाई मान्नु पर्छ ।