डेभिड क्यामरूनबाट सिक्ने कि ?



नारायण गाउँले ।

यो तस्बीरमा, बेलायतका पूर्व प्रधानमन्त्री डेभिड क्यामरून युक्रेनका लागि रेडक्रसको राहत सामग्री बोकेको ठूलो ट्रक चलाएर बेलायतबाट पोल्याण्ड जाँदै छन् । यतिबेला बेलायत र युरोपमा ट्रक-ड्राइभरको ठूलो अभाव छ ।

हाल ५६ वर्षका क्यामरून ६ वर्षअघिसम्म बेलायतका शक्तिशाली प्रधानमन्त्री थिए । उनकै नेतृत्वमा १३ वर्ष शासन गरेको लेबरलाई पराजित गर्दै कन्जरभेटिभ पार्टी सत्तामा आएको थियो । अक्सफ़ोर्ड विश्वविद्यालयका छात्र रहेका क्यामरूनको व्यक्तित्व र बोल्ने शैली गज्जबको थियो । पार्टी कन्जरभेटिभ भए पनि उदारवादी धारका क्यामरूनकै पालामा दुईवटा मुख्य जनमत सङ्ग्रह भए ।

१-युकेभित्र रहेका ४ वटा देशमध्ये एक स्कटल्याण्डमा स्वतन्त्र बन्ने राजनैतिक मागहरू थिए । २०१४ मा उनले स्कटल्याण्ड बेलायतमैं रहने कि स्वतन्त्र देश बन्ने भन्नेमा जनमत सङ्ग्रह गर्ने घोषणा गरे । यो ‘एक-देश’को नीति लिनेहरूका लागि ठूलो आश्चर्य थियो । जनमत सङ्ग्रहमा बेलायतभित्रै रहने भन्नेमा बहुमत आयो । उनले एक-देशकै पक्षमा क्याम्पेन गरेका थिए ।

२-बेलायतले युरोपियन युनियनको सदस्यता छोडेर स्वतन्त्र बन्नुपर्ने माग थियो । उनले त्यसमा पनि जनमत सङ्ग्रहको घोषणा गरे । उनी व्यक्तिगत रूपमा ईयुको पक्षमा थिए । तर पार्टीलाई यही पक्षमा भोट हाल्नुपर्छ भन्ने बाध्यता थिएन । जनमत सङ्ग्रहको परिणाम बाहिरिने (ब्रेग्जिट)का पक्षमा आयो । यो दलको निर्वाचन थिएन । उनको दल बहुमतको सरकार चलाउँदै थियो र उनलाई कसैले राजीनामा मागेको थिएन । तर उनले आफ्नो विचारभन्दा फ़रक जनमत आएकाले त्यस्तो जनमतलाई शासन गर्न आफ्नै पार्टीभित्र अरू बढ़ी योग्य रहेको भन्दै आफै राजीनामा दिए ।

बेलायतमा अहिले उनकै पार्टीको सरकार छ । तर सन् २०१६ मा करिब ५० वर्षको उमेरमैं राजीनामा दिएका उनले त्यस यता कुनै राजनैतिक टिप्पणी गरेको सुनिएको छैन । कुनै दिन झण्डा बोकेर कसैको समर्थन र विरोधमा बोलेको सुनिएको छैन । आफ्नै या विपक्षी दलका नेतालाई कुकुर, गिद्ध, स्याल, दलाल या कुर्सीवादी भनेर गाली गरेको सुनिएको छैन । कुनै निर्वाचन नै नलड्ने भएपछि पार्टीभित्र गुट चलाउने त कुरो नै भएन । उनले प्रधानमन्त्री निवास छोड्दै गर्दा आफै सामान प्याक गरेर गाड़ीमा लोड गरेको तस्बीर बाहिर आएको थियो । उनी आम बेलायतीले जस्तै सामान्य जीवन बिताउँछन् ।

युक्रेनमाथिको रसियन आक्रमणमा उनले राजनैतिक भाषण र टिप्पणी गर्दै हिँडेका छैनन् । त्यो बेलायती सरकारको काम हो र उनी सरकार होइनन् । हातहतियार त सेनाका ट्रक र जहाजले बोकिहाल्छन् । तर अत्यावश्यक राहत र मानवीय सामान बोक्ने ट्रक र खासगरी ड्राइभरको सङ्कट रहेको बेला उनले रेडक्रसका लागि ड्राइभरको काम गर्न तैयार भए । आश्चर्यजनक के छ भने यत्रो शक्तिशाली देशका पूर्वप्रधानमन्त्री भए पनि उनको ट्रकको अघिपछि सुरक्षाकर्मी साइरन बजाउँदै हिँड्दैनन् । आम ड्राइभरले जस्तै उनी एक्लै सीमा पार गर्नेछन् । र उनलाई सय किलोको फूलमाला बोकेर स्वागत गर्ने बेरोजगार कार्यकर्ता पनि त्यहाँ हुने छैनन् । कसैले देख्यो र चिन्यो भने ‘हेलो डेभिड़’ भन्नु अलग भयो !

हामीकहाँ बाँचेका जति पूर्वप्रम सबै भीआईपी, सबै नेता, सबै विज्ञ, सबै खानका काल र सबै क्षुद्र गालीगलौजका खानी जस्ता देखिन्छन् । सबैलाई कुर्सी चाहिएको छ, मानसम्मान चाहिएको छ, भागबण्डा चाहिएको छ । आफूचाहिँ जिउँदै व्यक्तिलाई श्रद्धाञ्जलि दिन्छन्, विपक्षी व्यक्तिलाई गिद्ध भन्छन् तर मिडियाले तिमी भनेर सम्बोधन गर्दा तिनलाई रीस उठ्छ । अनि उदेक लाग्दो त तिनकै पाउमा लड्ड़ू चढ़ाएर प्रसाद खाने युवापुस्ता छ ।

यसो सोच्नुस् त, हाम्रा पूर्वप्रमहरू मात्रै डिलिट हुने हो भने हाम्रो राजनीतिको आधा फोहोर यसै डिलिट हुन्न थ्यो र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा

आज देशभर पृथ्वीजयन्ती मनाइँदै

काठमाडौं ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर

केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति