बारका मतदातासमक्ष एउटा प्रस्ताव



माधवकुमार बस्नेत ।

नेपाल बारको चुनाउमा प्रतिस्पर्धा गर्ने उम्मेदवार मित्रहरूले मत माग्दा “संवैधानिक सर्वोच्चता”, “विधिको शासन”, “कानूनी राज्य”, “सुशासन”, “मानव अधिकार”, “स्वतन्त्र र सक्षम न्यायपालिकाको”, “न्यायपालिकाको विकृति विसंगति हटाउन” (यी SMS मा आएका जस्ताकोतस्तै यहाँ सारिएका हुन्) भन्ने र यस्तै अरू थुप्रै सैद्धान्तिक र बजारु कुराहरू लेखेर मत मागेको पाइयो ।

न्याय प्रणाली बिगार्ने प्रमुख र स्थायी प्रदूषक कानून व्यवसायीहरू नै हुन् । कानून व्यवसायीको इज्जत र प्रतिष्ठा रसातलमा पुर्‍याउने क्रियाकलाप पनि कानून व्यवसायीबाटै भएका हुन् । कानून व्यवसायीको विरुद्धमा परेका उजूरीमा कारवाई नगरी अनेकौं तिकडम गरेर उजूरीहरूलाई बेकम्मा बनाउने पनि बारका पदाधिकारी र/वा महान्यायाधिवक्ता (नेपाल कानून व्यवसायी परिषद्का पदेन अध्यक्ष) बनेका कानून व्यवसायी नै हुन् । विपक्षीलाई सल्लाह दिएर निवेदकको पक्षमा बहस गरी कानून व्यवसायीको आचार संहिताको उल्लंघन गर्दै आफू निष्कलंक भएको ढोंङ गर्ने पनि कानून व्यवसायी नै हुन् । त्यसैले यी र यस्तै तीता वास्तविकतालाई स्वीकार गर्दै मैले त्यस्तो गरेको छैन र गर्दिन पनि। गरेँको पाएमा लुकाएको कुरालाई सार्वजनिक गर्दै मलाई मत नदिनोस् । मैले यति कर तिरेँको छु । मैले यति र/वा यसरी सार्वजनिक सेवालाई पेशागत सहयोग उपलब्ध गराएको छु । म बारमा निर्वाचित भएमा पदमा रहेकै अवस्थामा वा पदावधि सिद्धिएपछि यति वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्दिन । नेपाल बारको पदाधिकारीको पदलाई निजी स्वार्थ पूरा गर्ने भर्‍याङ बनाउँदिन । मसँग यति सम्पत्ति छ (यस अघिल्लो चुनाउमा अधिवक्ता सुनिल पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेर उदाहरणीय र अनुकरणीय काम गर्नुभएको मलाई स्मरणमा छ ।) भनेर सार्वजनिक गर्दै मसँग भएको सम्पत्तिको स्रोत यो हो भनेर कसैले देखाएका छैनन् । यस्ता विकृतिलाई सार्वजनिक रूपमा स्वीकार गरेर म निर्वाचित भएमा यस्तालाई नियन्त्रण गर्न मसँग यस्ता योजना छन् भनेर देखाउनुको सट्टा माथि उद्धरण गरिएका जस्ता उडन्ते र बजारु कुरा लेखेर मतदातालाई “मुर्ख” र “हुस्सु” बनाउन प्रयास गरेको धेरै देखियो ।

बारको चुनाउका मतदाता कानून व्यवसायी नै हुन् । कानून व्यवसायी हुनको लागि निश्चित शैक्षिक योग्यता हुनैपर्छ र २०५२ साल पछाडि हो भने पेशागत इजाजतको परीक्षा पनि पास गर्नुपर्ने भएकोले तिनीहरूले पनि केही बुझेका हुन्छन् भन्ने पनि हेक्का नराखी आफैँले नजानेका (जस्तो माथि उल्लिखित “विधिको शासन” र “कानूनी राज्य” उही कुराहरू हुन् भन्ने पनि थाहा नपाउने) कुरा देखाएर मुर्ख बनाउन खोजेको देखियो । बारको स्तर तीब्रतर गतिमा निरन्तर खस्किरहेको छ । अब मतदाताले कुनै कठोर र सुविचारित कदम नचालेमा आफैँ भुत्लोभाङ केही नजान्ने अर्कालाई मुर्ख बनाउन खोज्ने पनि पदाधिकारी बन्ने कारणले बारलाई साँच्चो अर्थमा बार बनाउन सकिने देखिँदैन ।

त्यसैले बारलाई कुहीगन्धे हुनबाट बचाउन र मतदातालाई मुर्ख सम्झने यस्ता उम्मेदवारलाई ठेगान लगाई बारलाई वर्तमान स्तरबाट माथि उकासी न्यायपालिकालाई पनि गर्वलायक बनाउन (किनभने जस्तो बार उस्तै बेञ्च भनिन्छ) एउटा काम गरौं । यसैपालिको चुनाउको पनि अझै समय बाँकी छ । त्यसैले अहिलेबाटै शुरू गरौं ।
प्रस्तावः
१. उम्मेदवारले व्यक्तिगत वा समूहगत मत माग्दा लेखेका सैद्धान्तिक र दार्शनिक कुराहरूको विषयमा उसले के बुझेको छ ? कति बुझेको छ ? त्यो भन्न लगाउने । त्यसो गरियो भने उसले बुझेर नै बोले लेखेको रहेछ कि अरूलाई “मुर्ख” बनाउन खोज्ने फाँइफुट्टे वञ्चक बन्न खोजेको रहेछ चिनिन्छ ।
२. जति उम्मेदवार हुन्छन् ती प्रत्येकलाई उसको उसको उम्मेदवारी किन ? उसले के गर्नलाई उम्मेदवारी दिएको हो ? प्रस्तावित लक्ष्य हासिल गर्न ऊसँग के योजना छन् ? ती मागौं । प्रत्येक उम्मेदवारलाई नलगाउने हो भने अमुक समूहको अमुक प्रतिनिधि भनेर आउनाले “गणेशहरू” (सम्बन्धित पार्टीमा गणेश घुमाइ गरेर टिकट पाउनेहरू) बच्ने हुन्छन् ।
३. यदि उसले मत माग्दा गरेको प्रतिज्ञा पूरा नगरेमा त्यसबापत् के गर्ने ? त्यो पनि सम्बन्धित उम्मेदवारबाट नै मागौं र त्यसलाई स्थायी सार्वजनिक अभिलेखको रूपमा नेपाल बार एशोसियशनमा राखौं । त्यसले बार शुद्धिकरणमा र बारको संस्थागत स्मरणको लागि धेरै महत्त्वपूर्ण काम गर्छ ।
४. आफू निर्वाचित भएमा पदमा रहुञ्जेल र त्यसपछि पनि कम्तीमा ३ वर्षसम्म कुनै पनि सार्वजनिक पदमा नियुक्ति नलिने प्रतिवद्धता लिऊँ ।
कम्तीमा यति गर्न सकियो भने-
१. बारको मर्यादा पनि स्वतः बढ्दै जान्छ ।
२. कानून व्यवसायीले जति उपद्रव गरे न्यायपालिकामाथि दोष थुपारेर कानून व्यवसायी चोखो देखिने अर्थात् काम्लो ओढेर घीउ खाने प्रवृत्ति पनि निमिट्यान्न नभए पनि न्यूनिकरण हुन्छ र त्यसले बार शुद्धिकरणमा मद्दत गर्छ ।
३. माथिका प्रश्‍नहरूको मतदाताहरूलाई चित्त बुझ्ने जवाफ दिन सम्बन्धित उम्मेदवारले बार र अदालतको विषयमा र वर्तमान न्यायिक परिपाटी बुझ्न जरूरी हुन्छ । कानून व्यवसायीको परिचय-पत्र बोकेर पार्टीका नेतालाई गणेश घुमाइ गरेर टिकट लिने प्रवृत्त घट्छ । त्यसो भएमा बारको नेतृत्व गर्ने पदाधिकारीहरूमा गैर-अदालती-अभ्यासी, आक्कलझुक्कल-अभ्यासी, मतदानको दिन उपस्थित हुने र दलको उर्दीमा हुने कार्यक्रममा उपस्थित हुने “कानून व्यवसायी”बाट बार मुक्त भई वास्तविक कानून व्यवसायीबाट बार सञ्चालित हुन्छ र उल्लिखित प्रकारका “कानून व्यवसायी” बाट वास्तविक कानून व्यवसायी शासित हुने दिनको पनि अन्त्य हुन्छ ।
यो मेरो व्यक्तिगत विचार र प्रस्ताव हो । आगे, बारको वास्तविक सुधार चाहने मतदाताहरूको जो विचार !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा

आज देशभर पृथ्वीजयन्ती मनाइँदै

काठमाडौं ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर

केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति