पूर्वलडाकू जति सबै देहव्यापार या वैदिशिक रोजगारमा छन् भन्ने निष्कर्ष गीतको होइन



नारायण गाउँले ।

प्रकाश सपूतको ‘हेर्ने गीत’मा नयाँ र यसअघि नखोतलिएको कुनै नयाँ पाटो रहेनछ । पूर्वलडाकुहरूको जीवन अभाव र उपेक्षाले थलिएको तर पार्टीका नेताहरू चाहिँ युद्धको उद्देश्य र मर्म बिर्सेर बिलासी र स्वार्थी जीवन बाँचिरहेको मूल कथ्य यो गीतको रहेछ, जुन धेरैले धेरै पल्ट धेरै तरिकाले भनिसकेको विषय हो । यो नाङ्गो आँखाले देखिने सत्य पनि हो । गीतले त उपेक्षा मात्रै देखाएको छ, वास्तविक जीवनमा त चेकसम्म लुटिएका घटना बाहिर आएका थिए ।

लडाकु र नेताबाहेक द्वन्द्वको बहुआयामिक पाटोलाई गीतले छोएको छैन । द्वन्द्वसँग कुनै साइनो नभएका लाखौँ नागरिकले समेत द्वन्द्वकै कारण यो गीतमा देखाइएभन्दा बढ़ी दुःख पाएका छन् । केही मिनेटको गीतमा त्यो अपेक्षा न्यायसङ्गत पनि नहोला । युद्ध लड्नेहरूको हालत त यस्तो छ, अरूको के होला भन्ने अर्थमा चित्त बुझाउन भने सकिन्छ ।

गीतले मुख्य कथ्य अर्थात् युद्ध लड्नेहरूले पाएको दुःख र उपेक्षालाई समेत न्याय गर्न भने सकेको छैन । पूर्व लडाकु शहरमा मासुपसल खोल्न सक्ने बनेको छ । उसले त्यसअघि केही पेशा-व्यवसाय परिवर्तन समेत गरेको छ । वर्डफ्लूका कारण व्यापार कम हुनुमा युद्ध या नेताको दोष त नहोला । ऊ पासपोर्ट बनाउनेदेखि आवश्यक परे वैदिशिक रोजगारीमा जान सक्ने अवस्थामा देखिन्छ । कतिपय लडाकु त अङ्गभङ्ग भएर कुनै उद्यम गर्न या वैदिशिक रोजगारमा जान समेत नसक्ने अवस्थामा छन् । युद्धकै कारण कलिला सन्तान गुमाएका कति वृद्ध दम्पतिहरू छन् र पासपोर्ट बनाउन समेत पैसा नभएका कति लडाकुहरू छन् ।

हरेक लडाकु मन्त्री नै बन्ने भन्ने त हुँदैन । कुनै आन्दोलन या युद्धपछि सबै एकाएक सम्पन्न र समृद्ध भएको इतिहास पनि छैन । विश्वका जुनसुकै आन्दोलनबाट तर चाट्ने त सीमित नेतृत्व वर्गले नै हो । नारामा समानताको लागि लडेको भएपनि त्यो युद्धपछि प्रचण्डले मासु पसल खोलेर बस्ने अनि बन्दुक छोडेर ऊ सिंहदरबार पस्ने भन्ने त स्वैरकल्पना नै हो ।

देहव्यापारको दृश्य र प्रसङ्ग केहीलाई अलि बिझाएको देखियो । माओवादी समर्थकलाई यो ‘इन्सल्ट’ जस्तो लाग्यो भने केही प्रगतिवादीलाई गीतले बाध्यता पर्नेबित्तिकै महिला देहव्यापार नै गर्छन् भन्ने गलत सन्देश दिएको जस्तो लाग्यो । व्याख्यात्मक विश्लेषण छोडौँ, कहीँ र कुनै रूपमा देशमा देहव्यापारको अस्तित्व छ भन्ने त सबैलाई थाहा छ । व्यापार भएपछि बजार, बिचौलिया, क्रेता र विक्रेता सबै छन् । ती को हुन् त ? के ती एलियन हुन् ? के ती अर्कै ग्रहबाट आउँछन् र व्यापार सकिएपछि विमानमा उडेर जान्छन् ? यदि ती हाम्रै समाजका पात्र हुन् भने ती पक्कै हामीजस्तै नागरिक हुन् ।

रहरले देहव्यापारमा लाग्नेहरू हुँदै हुँदैनन् भन्ने पक्कै सत्य होइन तर यो व्यापारसँग जोडिएको सामाजिक घृणा, असुरक्षा र अस्वीकृतिका कारण ‘बाध्यता’ नै मुख्य कारण हो भन्नेमा विवाद गरिरहनु जरूरी छैन । सङ्क्षेपमा भन्दा बाध्यतावश महिलाहरू हाम्रो समाजमा देहव्यापारमा संलग्न छन् । अर्थात्, जीवननिर्वाहका अन्य कुनै सम्भावना रहेसम्म मानिस यो पेशामा संलग्न हुँदैन ।

यत्ति सत्य स्वीकार गर्ने हो भने गीतमा कुनै समस्या देखिन्न । युद्ध लडेकै कारण एउटी महिला यो व्यापारमा पस्न बाध्य भएको होइन । युद्धअघि पनि देशमा असमानता, अभाव, गरिबी थियो, युद्धपछि पनि हट्न सकेको छैन । यो त स्वयं युद्धको कमान्डिंग गर्ने मोहन बैद्यदेखि विप्लवसम्मले भनेकै छन् ।

पूर्व लडाकु जति सबै देहव्यापार या वैदिशिक रोजगारमा छन् भन्ने निष्कर्ष गीतको होइन । देहव्यापारमा संलग्न जति सबै कांग्रेस-एमालेमात्रै हुन्, माओवादी होइनन् भन्ने निष्कर्ष आउने गरी गीतको विरोध हुनु पनि हास्यास्पद छ । कृष्ण बहादुर महराजस्ता रसिक नेता हुन सक्छन् भने तिनैले प्रशिक्षण दिने केही लडाकुहरू श्रीमती वैदिशिक रोजगारीमा गएको केही महिनामा त्यसरी बजार पुग्नु पनि नौलो होइन । यौन जैविक र निजी विषय भएकाले सबै लडाकु पक्कै त्यसरी बजार छिर्छन् नै भन्ने पनि छैन । लडाकु बजार छिर्ने तर अरू नछिर्ने भन्ने त झन हुँदै होइन । युद्ध नलडेका या युद्धको विरोध गर्नेहरू पनि बजार छिरेकै छन् ।

गीतले सबैभन्दा तल्लो स्तरको र निरुपाय भएर बाध्यतावश गरिने व्यवसायका रूपमा देहव्यापार र वैदिशिक रोजगारीलाई प्रस्तुत गरेको छ । विश्वव्यापीकरणको यो युगमा वैदिशिक रोजगारलाई यस्तो हेय देखाउनु जरूरी छैन । अमेरिकीहरू अफ्रिकामा काम गर्छन् । भारतीयहरू विश्वभरि छन् । नेपाली पनि पुगेका छन् । यसलाई सुरक्षित, प्रभावकारी र व्यवस्थित बनाउने, सीप वृद्धि गर्ने र मर्यादित बनाउने भन्ने अलग कुरो होला । अझै केही दशक ठूलो आर्थिक वृद्धि दर हासिल गरे पनि रेमिटेन्सविना हाम्रो अर्थतन्त्र धानिन सक्दैन ।

चुनाबको मुखमा कुनै खास राजनैतिक विषयमा एउटा गीत बजारमा आउँदा प्रसंशा मात्रै पाउने अपेक्षा त गायकले पनि राख्न मिल्दैन । तर, नेताहरूले समृद्ध र बिलासी जीवन बिताउँदा परिवर्तनको सपना बोकेर लड्ने लडाकुहरू कठीनतम र तिरस्कृत जीवन जिउन बाध्य छन् भन्ने यथार्थ चित्र बोकेको सामान्य गीतलाई प्रतिबन्धको माग गर्नु हदैसम्मको निरङ्कुशता हो । अझ हाम्रो आन्दोलनले गर्दा तैँले बोल्न पाएको छस् भन्नेहरूले एउटा गीतको यसरी विरोध गर्नु त आफै नाङ्गिनु हो !

र पुछारमा, हिजो भर्खर पशुपति शर्माको ‘लुट्न सके लुट्’ बोलको गीतलाई हटाउन बाध्य पार्नेहरूले यतिबेला चर्को स्वरमा अभिव्यक्ति स्वतन्त्रताको वकालत गरेर प्रायश्चित्त गरेकोमा भने खुशी लागेको छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केही ऐन संशोधन, भूमिसम्बन्धी र एनआएनएसम्बन्धी अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग

निजामती कर्मचारीको ट्रेड युनियन अधिकार खोस्ने बहसले सकारात्मक परिणाम नदिने चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको ट्रेड युनियन

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट