युद्ध र तालीबीच आफूलाई उभ्याउनुको कुनै अर्थ छैन



नारायण गाउँले ।

युक्रेनमा निर्दोष नागरिक मारेर रसियाले नाटो र अमेरिकी दादागिरीलाई ‘जवाफ’ दिएको जस्तो उटपट्याङ् तर्क पनि पढ़ियो । युक्रेनमा न अमेरिकी सेना छन् न युक्रेन नाटोको सदस्य हो । बीस वर्षदेखि कोसिस गरेपनि युक्रेनले नाटोको सदस्यता पाएको छैन । जबकि रसियासँगै सीमा जोड़िएको र पूर्व सोभियत सङ्घको सदस्य रहेको लाटभियामा अमेरिकी सेना छन् । स्वयं अमेरिका रसियाको सीमामै छ । अन्य छिमेकी देशमा नाटो र अमेरिकी सैनिक छन् । ती देशमा तीव्र ‘एन्टी-रशियन’ राष्ट्रवाद पनि छ । तिनले एक इन्च भूमि कब्जा भए रसियालाई देखाइदिने धम्की पनि दिइरहेकै छन् ।

यदि साँच्चिकै अमेरिकी दादागिरीलाई जवाफ दिने भए त तिनलाई पो टार्गेट बनाइन्थ्यो होला ? छिमेकी देशले नाटोको सदस्यता लिँदा रशियन सुरक्षामा असर पर्ने भए सदस्यता लिएका देशमा आक्रमण हुन्थ्यो होला । युद्ध त कुनै पनि बहानामा भर्त्सनीय हुन्छ तर पनि त्यो केही हदसम्म लाजिकल हुन्थ्यो होला । अमेरिकी दादागिरीको जबाफ त उसैलाई पाठ पढाएर पो दिइन्छ ।

एउटा कमजोर छिमेकी देशलाई निलेर र त्यहाँका नागरिकलाई मारेर अमेरिकालाई कसरी जबाफ हुन्छ ? एउटै सांस्कृतिक र ऐतिहासिक धरोहर भएको देशलाई शक्तिको भरमा ध्वस्त बनाएर कसरी अर्को देशलाई जबाफ हुन्छ ? यो त माओवादीले ‘जनयुद्ध’का नाममा पाँच हजार (जिम्मा लिएको) मान्छे मारेर अमेरिका र भारतीय विस्तारवादलाई कड़ा जबाफ दिएजस्तो भयो । अनेक विश्वशक्तिको कुत्सित प्रयास र षड्यन्त्रलाई बहादुरीपूर्वक धुलो चटाउँदै एमाले र माओवादी एकीकरण गरेर अमेरिकालाई पराजित गरेजस्तो भयो । अनि फेरि देशी-विदेशी शक्तिलाई पराजित गर्दै एमालेलाई माओवादीबाट अलग्याउने ऐतिहासिक विजय जस्तो भयो ।

रसियाले आक्रमण गर्ने पक्का सूचना पश्चिमी राष्ट्रले महिनौं अघि दिएका थिए । यद्यपि रसियाले चुहिएको गोप्य सूचनालाई सधैँ अस्वीकार गरेको थियो । युद्ध भए रसियासँग लड्न सेना नपठाउने भनेर अमेरिका र पश्चिमले स्पष्टरूपमैं भनेका थिए । नाटो सदस्यमाथि आक्रमण भए लड्न बाध्य हुने भनेकै छन् ।

अमेरिकाले रसियाविरुद्ध उक्साएर अन्त्यमा धोका दिएको भन्ने तर्क पनि पढ़ियो । केमा उक्साएको भन्नेचाहिँ उहाँहरूलाई नै थाहा छैन । के युक्रेनले रसिया विरुद्ध धावा बोलेको थियो ? रसियाले बलपूर्वक लिएको क्राइमियालाई आफ्नो दाबी गर्नुभन्दा बढ़ी एक इन्च रसियन भूमिमाथि उसले नजर लगाएको थिएन । लगाउन सक्ने अवस्थामा पनि छैन । एउटा सार्वभौम देशको नाताले सार्क सदस्य बन्ने कि नबन्ने भन्ने निर्णय नेपालले गर्न पाए जस्तै युक्रेनको हक़ हुँदैन ? नाटोको सदस्य बन्नेबित्तिकै रसियालाई आक्रमण गर्ने भन्ने हुन्छ र ? त्यसो हो भने त पूर्व सोभियत धेरै राष्ट्र नाटोको सदस्य छँदै छन् । तिनले आक्रमण गरेका छैनन् त । यदि असुरक्षा नै हो भने पहिलो प्रहार त तिनलाई पो गर्नुपर्ने । युक्रेन त बन्न चाहेर पनि नबनाइएको र सैनिक सहयोग मागेर पनि नदिइएको कमजोर देश न हो । त्यसलाई हानेर, त्यहाँका गरिब मान्छे मारेर केको बहादुरी ?

उक्साउनेले त भोलि पनि उक्साउन सक्छ, त्यसैलाई पो हान्नु ! आक्रमणलाई रोक्न सकिन्छ कि भनेर अन्य कोसिस गरेको देखिन्थ्यो सबैले । अमेरिकादेखि चीनसम्म सबैले कूटनीतिक समाधानको कुरा गरेका थिए । आक्रमण भएमा कसैले पनि सेना नै पठाउने कुरो गरेको थिएन । आर्थिक नाकाबन्दीको धम्की दिएका थिए, त्यो गरेकै छन् । सबैभन्दा ठूलो धोका त छिमेकी रसियाले हो दिएको देश नै टुक्ऱ्याएर ।
खासमा कहिले देश नै होइन भन्ने, कहिले मेटाइदिने धम्की दिने, सार्वभौमिकताको सम्मान र समान व्यवहार नगर्ने, सीमा मिच्ने मात्रै होइन, क्राइमियाजस्ता भूभाग नै कब्जा गर्ने, आफै हतियार र सेना दिएर विभिन्न प्रान्तमा गृहयुद्ध मच्चाउने र तिनलाई अलग देश भनेर घोषणा गरिदिने जस्ता कुराले आमयुक्रेनीमा एन्टीरशियन सेन्टिमेन्ट बढ्दो क्रममा छ । हेपिएको आखिर कसलाई मन पर्ला र ? यो दादागिरीलाई चाहिँ नदेख्ने तर अमेरिकामात्रै देख्ने आँखामा पक्कै समस्या छ । के तपाईं चीन या भारतले उक्साएकै भरमा देशमाथि आक्रमण हुँदा भरूवा बन्दुक बोकेर मिसाइल अगाडि उभिन सक्नुहुन्छ ? किन भाषादेखि भेषभूषासम्म मिल्ने रसिया छोडेर युरोपतिर ढल्कियो युक्रेन ? के सहयोग, सम्मान र मित्रता पाउँदा पाउँदै कोही अर्कोतिर ढल्किन्छ ? किन रसियाका छिमेकी देशले एक्लै हुँदा असुरक्षा महसुस गर्छन् ? के एउटा शासकले यसबारे सोच्न पर्दैन ? के भारतले हतियारको बलमा नेपाललाई आफ्नो प्रभावमा राखिरहन सक्छ ?

अमेरिका र रसियाले हतियार बेचेर ठूलो पैसा कमाउँछन् । तर हामीले सोचेजस्तो त्यो एकमात्र ठूलो कमाइ होइन । जीडीपीको साह्रै सानो हिस्सामात्रै त्यसबाट आउने हो । त्यसमा पनि तीव्र प्रतिष्पर्धा छ । फ्रान्स, चीन, जर्मनी, बेलायत, इजरायल जस्ता विश्वका धेरै देश आज हतियार निर्यात गर्छन् । रोचक त के छ भने युक्रेन आफैमा विश्वकै ठूलो हतियार निर्यात गर्ने देश हो । भारतमात्र होइन, टर्की जस्ता नाटोकै सदस्य देशले समेत युक्रेनबाट हतियार किन्दै आएका छन् । रसियाले उत्तरी युक्रेनमा विद्रोहीलाई सैन्य सहयोग गर्न थालेपछि मात्रै युक्रेनको हतियार निर्यात घट्न थालेको हो ।

हो, अमेरिका विश्वका धेरै युद्धमा प्रत्यक्ष-अप्रत्यक्ष संलग्न छ । अफगानिस्तानदेखि इराकसम्म, भियतनामदेखि सिरियासम्म युद्धका अनेक बर्बर उदाहरण र घाउहरू छन् । अमेरिकालाई यस अर्थमा जति पनि गाली र घृणा गर्न सकिन्छ । दोस्रो विश्वयुद्धमा त अमेरिका, बेलायत, रसिया र चीन एउटै मोर्चामा थिए र तिनले जर्मनी, जापान र इटालीविरुद्धको लड़ाइँमा सफलता हासिल गरेका थिए । ‘बिग फोर’ भनिने यी देशले एकअर्कालाई सहयोग नगरेको भए शायद आजको युरोपको नक्सा र चीनको नक्सा यस्तो रहन्नथ्यो । अमेरिकाले जापानलाई ध्वस्त नबनाएको भए चीनको धेरै ठूलो भूभाग आज जापानको हुन्थ्यो । आज एकअर्काका लागि थ्रेट जस्तो देखिएका देश हिजो सँगै थिए, आज सँगै भएकाहरू हिजो मुख्य शत्रु बनेर युद्धमा थिए । यो क्रम चलिरहन्छ ।

अमेरिका, रसिया, बेलायत जस्ता देशको इतिहासमात्र होइन, वर्तमान पनि युद्धको रगतले रङ्गिएको छ । शान्तिप्रेमी नागरिकलाई यिनमाथि जस्तोसुकै टिप्पणी गर्ने हक छ । अमेरिकालाई गाली गर्न हजार अन्य कारण उपलब्ध छन् । तर, एउटा बलियो देश रसियाले एउटा निर्धो देश युक्रेनमाथि गरेको आक्रमण र नरसंहारको जिम्मा अमेरिकालाई दिएर रसियालाई समर्थन गर्ने या अमेरिकाको पराजय भनेर निर्दोष मान्छेको मृत्युमा उत्सव मनाउनेहरूबाट चाहिँ के आशा गर्नु ?

यो आणविक युगमा भोलि रसिया र अमेरिकाबीच युद्ध नै भयो भने जसले जिते पनि र जसले हारे पनि ताली बजाउन हामी रहन्छौं कि रहँदैनौं, कुनै ग्यारेन्टी छैन । त्यसैले युद्ध र तालीबीच आफूलाई उभ्याउनुको कुनै अर्थ छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिको उपस्थितिमा सिंहदरबारको मूलगेट अगाडि यसरी मनाइयो पृथ्वीजयन्ती, तस्बिरमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण

काठमाडौँ । आज पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवस । नेपाल

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा