नेताजी, मन्त्रीजी र हामीजीहरूलाई भतृहरिको प्रश्न



केशवप्रसाद भट्टराई ।

१. विपुलहृदयैर्धन्यैः कैश्चिज्जगज्जनितं पुरा
विधृतमपरैर्दत्तं चान्यैर्विजित्य तृणं यथा ।
इह हि भुवनान्यन्ये धीराश्चतुर्दश भुञ्जते
कतिपयपुरस्वाम्ये पुंसां क एष मदज्वरः ।।
अर्थः
२. कोही यो सारा संसारकै रचना गर्न सक्ने महान, सामर्थ्यवान र पराक्रमी थिए । कसैले आफ्नो बाहुबलले यो सारा संसारमाथि विजय प्राप्त गरे र शासन गरे ।
कसैले सारा संसारलाई जिते अनि आ !!! यो जावो संसारको स्वामी भएर कले पाउनु छ र भनेर आफूले जितेको सारा पृथ्वी तृण बराबर मानेर कसैलाई दानमा दिएर तपस्या गर्न हिँडे । कोही सारा तीन त्रिलोक र चौध भुवनको पालन र संरक्षण गरेर बसेका छन्–कुनै अभिमान थिएन, छैन । तर तिमीहरू सानो गाउँको , सानो प्रदेशको सानो मुलुकको, सानो दल,समूह वा संगठनको प्रमुख भएँ, नेता भएँ , अध्यक्ष, उपाध्यक्ष महासचिव ÷महामन्त्री आदि भएँ भन्दैमा उन्मत्त भएर बस्छौ ?

३ .  त्वं राजा वयमप्युपासितगुरु प्रज्ञाभिमानोन्नताः
ख्यातस्त्वं विभवैर्यशांसि कवयो दिक्षु प्रतन्वन्ति नः ।
इत्थं मानद नातिदूरमुभयोरप्यावयोरन्तरं यद्यस्मासु
पराङ्मुखोऽसिवयमप्येकान्ततो निःस्पृहाः।।
अर्थः
४. ए बाबा, तिमी राजा हौला, मन्त्री–प्रधानमन्त्री, सचिव,नेता अध्यक्ष महासचिव हौला,
आफूलाई ठूलो सम्झौला तर हामी पनि गुरू सेवाबाट , निरन्तर अध्ययन, चिन्तन र मननबाट प्राप्त शिक्षा र ज्ञानको बलमा स्वाभिमानका साथ उभिएका छौँ । तिमी आफ्नो उचनीच तरिकाले जोडेको सम्पत्ति, बैभव र विलाशमा गर्व गर्छौ तर लेखक,कवि, सङ्गीतकार र साहित्यकारहरूले हाम्रो विद्या र ज्ञानलाई सारा संसारभर फैलाइरहेका छन् ।
हे अभिमानी शासकहरू, नेताहरू हामी के कम छौँ, तिमीहरूलाई हाम्रो पर्वाह छैन भने हामीलाई तिमीहरूको पर्वाह हुनुपर्ने कारण के छ र ?
५. अभुक्तयां यस्यां क्षणमपि न यातं नृपशतै–
र्भुवस्तस्या लाभे क इव बहुमानः क्षितिभुजाम्।
तदंशस्याप्यंशे तदवयवलेशेऽपि पतयो
विषादे कर्तव्ये विदधति जडाः प्रत्युत मुदम।।
अर्थः
६ . हजारौँ लाखौं राजाहरू, शासकहरू र तिनका निकटस्थहरू यो समस्त पृथ्वी मेरो भनेर गर्व गर्थे, गए क्ष् कहाँ गए कहाँ गए । तर पृथ्वी कसैको भएन । दल, समूह, संगठनहरूको हकमा पनि यही हो । एउटा टुक्रो जमिनमा साँध हालेर म यो मुलुकको , म यो प्रदेशको म यो पालिकाको, यौटा सानो संगठन बनाएर म यो दलको म यो संगठनको स्वामी हूँ , अध्यक्ष हूँ , नेता हूँ भनेर सनक्क सन्किएर खपिसक्नु छैन । जुन कुराको लागि, जुन जिम्मेवारीको लागि अहोरात्र चिन्ता र साधनारत रहनु पर्थ्यो , लौ ती त मात्तिएर के के न पाएँ भनेर पो हिँडेका छन् त – बज्र स्वाँठहरू !

अनि अन्त्यमा ––
७ . दिव्यं चूतरसं पीत्वा गर्वं नो याति कोकिलः।
पीत्वा कर्दमपानीयं भेको मकमकायते । ।
अर्थ : उत्तम रस पिएर रहने कोइलीमा कुनै घमण्ड हुँदैन तर हिलो र फोहोर पानी पिएर बाँच्ने भ्यागुताको अहंकार खपिसक्नु हुन्न । झर्को लाग्दो गरी एकोहोरो ट्यार ट्यार ,ट्यार ट्यार गरी बस्छन् – मिडियामा हाम्रा नेताहरू जस्तै –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिको उपस्थितिमा सिंहदरबारको मूलगेट अगाडि यसरी मनाइयो पृथ्वीजयन्ती, तस्बिरमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण

काठमाडौँ । आज पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवस । नेपाल

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा