को हुन् सरस्वती ?



डा. गोविन्दशरण उपाध्याय
समय ८ः०० विहान
“बाबा, आज विद्यालयमा सरस्वतीको पूजा हुन्छ । गुरूआमाले फलफुल लिएर आउन भन्नुभएको छ । सरस्वती को हुन् र किन पूजा गरिन्छ ? ७ वर्षको भतिजोले पूजाआजाको लागि सरजम जुटाउँदै सोध्यो । भतिजोले मलाई नै बाबा भन्छ । हरेक वर्ष माघ कृष्ण पक्षमा पर्ने पंचमी तिथिका दिन (यो तिथीलाई वसन्त पंचमी, श्रीपंचमी तथा सरस्वती पूजा पनि भनिन्छ) नेपालका विद्यालयहरूले नयाँ बालबालिकालाई विद्यालयमा भर्ना गर्ने र भएका बालबालिकालाई सरस्वती पूजामा समावेश गराएर आफ्नो मौलिक संस्कृतिको जानकारी दिन्छन् ।

“बाबु, तिमी हामी, हाम्रा हजुरबाका पनि हजुरबालाई बनाउने ब्रह्मा थिए । सरस्वती ब्रह्माकी छोरी हुन् । संसार बनाउँदा ब्रह्मालाई दिक्क लाग्यो । उनले यो कुरा आफ्ना साथी बिष्णुलाई भने । विष्णुले छोरी सरस्वतीले समस्याको समाधान आफ्नो बीणा बजाएर गर्न सक्ने बताए ।”
“ब्रह्माजीले आफ्नी प्यारी छोरी सरस्वतीलाई आफ्नो विनायो बजाएर “दिक्क”बाट मुक्ति गर्न अनुरोध गरे । सरस्वतीले पनि आफ्ना बाबाको अनुरोध मान्दै आफ्नो विनायो निकालेर “सा, रे, ग, म, प, मजब, नी सा” यी सातबटा सूर भएको मीठो गीत बीणा बजाएर सुनाइन् । ब्रह्माजीलाई निकै रमाइलो भयो । उनले खुशी हुँदा आफ्नी छोरीलाई “तिमीले मेरो अनुरोध स्वीकार गरेर सङ्गीत गाएर सुनायौं । त्यसैले उप्रान्त तिमी सम्पूर्ण विद्याकी भकारी हुनेछौँ । यदि कसैले बसन्त पंचमीका दिन तिम्रो आराधना गर्छ भने सजिलैसंग पढ्न आउने छ” भनेर वरदान दिनुभयो । अनि त्यसै दिनदेखि सरस्वतीको सवैले सम्मान गर्न थाले ।”

“ए, यस्तो पो कुरा रहेछ । अनि, बाबा, सरस्वतीको पूजा गर्दैमा साच्चिकै पढ्न आउँछ त ? भतिजोले दोस्रो प्रश्न तेस्र्यायो । पढ्न त आफैंले पढ्नुपर्छ तर सरस्वती देवीको आराधना गर्दा उहाँले आशिर्वाद दिनुहुन्छ, हाम्रो आत्मबल बढ्छ र पढ्ने बेला सरस्वती देवीको अगाडी “पढ्छु” भनेर प्रतिज्ञा गरेको सम्झेर बालबालिकाले पढ्न अल्छी गर्दैनन् । अनि, तिमीले पनि सरस्वतीको पूजा गरेर प्रसाद खाएपछि पढ्नुपर्छ । सरस्वती देवीलाई ढाँटनु हुँदैन – मैले भने ।

उ सन्तुष्ट हुँदै पूजाआजाका सरजम लिएर आफ्नो विद्यालय गयो । यो संवाद सुनिरहेकी २२ वर्षको छोरीले सोधिन् “बाबा, त्यसो भए यसलाई बसन्त पंचमी वा श्री पंचमी किन भनिन्छ नि ?”

“प्राचीनकालमा आजकै मितिदेखि वसन्त ऋतुको आरम्भ मानिन्थ्यो । ऋषि बात्स्यायनले आफ्नो प्रसिद्ध पुस्तक कामसूत्रमा गाउँका मान्छेहरू भेला भएर नयाँनयाँ फूलका मालाहरू र पालुवाले सरस्वतीको पूजाआजा गर्ने र नाँचगाना गरेर बसन्त ऋतुको स्वागत गर्ने उल्लेख गरेका छन् । यो सबै माघ महिनाको कृष्ण पक्षको पंचमीका दिन आयोजना गरिने हुँदा वसन्त–पंचमी भनिएको हो ।”

“जहाँसम्म श्री पंचमीको कुरा हो, वैदिक हिन्दू समाजमा शक्ति आर्जनका लागि दूर्गादेवीको, धनसम्पतिका लागि महालक्ष्मीको र विद्याका लागि सरस्वती देवीको आराधना गर्ने चलन छ । दक्षिण भारत, कम्बोडिया, मलेशीया तथा इन्डोनेशियामा आजकै दिनलाई देवी लक्ष्मीको पर्वका रूपमा मान्ने चलन छ । तर हामी नेपालीहरूले बसन्त पंचमीलाई देवी सरस्वतीको आराधनाको पर्वका रुपमा मनाऊछौँ । यही हाम्रो मौलिक परम्परा हो ।”

“अनि, सरस्वतीको पूजाआजा कसरी गर्नुपर्छ ?” जुनसुकै देवीदेवताको पूजाआजा गर्दा शारीरिक रुपमा शुद्ध हुनु आवश्यक छ । त्यसैले सर्वप्रथम नुहाउनु पर्छ । लुगा फेरेर पूजाआजाका समाग्रीसहित मन्दिर वा सरस्वतीको पूजा गर्नुपर्छ । मूर्ति भए सबैभन्दा नमस्कार गरेर पूजाआजा गर्ने अनुमति माग्नुपर्छ । त्यसपछि नुहाइदिएर पूजाका सामग्रीहरू चढाउँनुपर्छ । प्रसाद चढाएपछि दियो वा अगरबत्ती बालेर आरती गर्नुपर्छ । अन्त्यमा, देवी सरस्वतीको परिक्रमा गर्दै भूइँमा झुकेर प्रणाम गर्नुपर्छ । अनि, बल्ल प्रसाद खानु पर्छ ।”

“सबैलाई पूजाआजा गर्ने शास्त्रीय विधिहरू थाहा हुँदैन । त्यसैले ‘ॐ ऐं सरस्वत्यै नमः’ मन्त्रको उच्चारण गरेर सम्पूर्ण पूजाआजा गर्न सकिन्छ । आफ्ना चाडपर्वहरू हामीले श्रद्धापूर्वक मान्ने÷मनाउने वानी बसाल्नुपर्छ । अरूले के भन्लान् भनेर डराउनु हुँदैन र अन्धविश्वास भनेर हेलाँ पनि गर्नुहुँदैन ।”

“हाम्रा धेरैजसो चाडवाडहरू देवीदेवता तथा ऋतुहरूसँग सम्बन्धित रहेछन् । रमाइलो पनि हुने आफ्नो मौलिक संस्कृति पनि जान्न, बुझ्न र मान्न पाइने, क्या राम्रो !! – छोरीले प्रतिक्रिया दिंदै आफ्नो काममा लागिन् । म भने ऋग्वेदमा उल्लेख बसन्तउत्सवका विषयमा खोजिनिधी गर्न थालें ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिको उपस्थितिमा सिंहदरबारको मूलगेट अगाडि यसरी मनाइयो पृथ्वीजयन्ती, तस्बिरमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण

काठमाडौँ । आज पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवस । नेपाल

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा