आडम्वरपूर्ण दान भन्दा दया तथा करुणापूर्ण दान धेरै महत्वपूर्ण हुन्छ
डा. गोविन्दशरण उपाध्याय ।
यो कथा होइन – १४ (थप प्याकेट)
समय : ९.३० बजे
घटना पहिलो लकडाउनको हो । एउटा टहरोमा परिवार थियोः तीन जनाको । आमा, हजुरआमा र नातिनी । आमा मान्छेहरूका घरमा भाँडाकुँडा माझ्नु हुन्थ्यो । हजुरआमा मकै/भटमास बेचेर गुजारा गर्नु हुन्थ्यो । भाँडाकुँडा माझ्ने ढोकाहरू थुनिए, सडकमा मान्छेनै नआएपछि मकैभटमास विक्ने कुरै भएन । यो सानो परिवारको विचल्ली भयो । प्राणकै सङ्कट आइलाग्यो ।
केही स्थानीय मनकारीहरूले “प्याकेट–भोजन” वितरण गर्न थालेपछि परिवारले राहत पायो । मैले त्यो परिवारलाई देखेको थिएँ । यो परिवार पनि हरेक दिन राहतको भोजन प्राप्त गर्न जान्थ्यो । त्यो परिवारमा ८ वर्षिया पनि थिइन् र स्थानीय सरकारी विद्यालयमा पढ्छिन् । लक्ष्मीले भोजनको प्याकेट थाप्ने क्रममा उनले भनिन् “अंकल, हिजो मैले त्यो कुकुरलाई खाना दिएँ, मेरो प्याकेटबाट । त्यसका ससाना तीनबटा बच्चा छन्, रातभरी भोकले रुन्छन्, एउटा थप प्याकेट दिनुस् न ?”
थप प्याकेट सम्भव थिएन र मैले कुरा पनि बुझ्न सकिन । प्रश्न बाचक दृष्टिले नानीको आमातिर हेरें । नानीकी आमाले भन्नु भयो “हिजो सबैजसो खाना यसले कुकुरलाई दिई । नदेऊ भन्दा मान्दिन । “तंपाइँले मलाई माया गरेझैं यसले पनि आफ्ना बच्चालाई माया गर्छे । हामीलाई मान्छेले भोजनको प्याकेट दिन्छन्, यसलाई कसैले दिंदैन । मैले र यिनले बाँडेर खान्छौं नि” भन्दै पिलपिल गर्छे ।
कुरा के रहेछ भने बालिका वसेको डेरा नजिकै एउटा कुकुर्नीले बच्चा जन्माएको रहेछ । त्यो कुकुर्नी सडकआश्रित प्राणी, पसलपसल घुमेर पेट पाल्न सजिलो थियो । लकडाउनले त्यो सम्भावना थिएन । दयामाया गर्नेले पाउरोटी किनेर दिने ठाउँ पनि थिएन । ती बालिकाले आफुले पाएको भोजनको ५०% भागचाहिं त्यही कुकुर्नीलाई दिने गरेकी रहिछन् ।
करुणा, दानशीलता तथा सहृदयताको जीवन्त उदाहरणका रुपमा मैले यी बालिकालाई नमन गर्छु । हुनेखाने, सक्नेलाई सबैले सहयोग गर्छन् तर आफैसंग नहुँदानहुँदै पनि पाएको वस्तु बाँडेर खानेहरू महान् हुन् र यस्तो शिक्षा दिनेहरू झन् महान् हुन् ्र वैदिक संस्कृतिको आत्मा यसरी नै प्रकट हुन्छ । आडम्वरपूर्ण दान भन्दा दया तथा करुणापूर्ण दान धेरै महत्वपूर्ण हुन्छ ।