पार्टीको यो क्षयीकरण र सङ्कटको जिम्मेवार तपाईंहरू भनेर ओली र नेपाललाई औँला ठड्याउन सक्ने कोही भएन
नारायण गाउँले ।
ओली र नेपालको द्वन्द्वमा पार्टी बन्धक बनेर टुक्रिने अवस्थासम्म पुग्दा पनि एमालेभित्र वैकल्पिक नेतृत्व चाहिन्छ भन्ने माग दोस्रो पुस्ताले उठाउन सकेन ।
नेताभन्दा पार्टी ठूलो हुनुपर्ने हो तर नेताका अगाडि पार्टी फुच्चे देखियो । नेपाल र ओलीमध्ये को बन्ने या दुबै एकैसाथ बन्ने भन्नेमैं सङ्घर्ष रह्यो ।
पार्टीको यो क्षयीकरण र सङ्कटको जिम्मेबार तपाईंहरू हुनुहुन्छ भनेर ओली र नेपाललाई औँला ठड्याउन सक्ने कोही भएन । ठड्याए जस्तो देखिनेहरूले दुबैलाई होइन, अर्को पक्षलाई मात्रै ठड्याए । तपाईंहरू पार्टीलाई एक ढिक्का राख्न असफल हुनुभो, विश्राम गर्नुस् भन्ने कोही देखिएन । यो असफलतालाई कसरी आफ्नो नेताको टाउकोबाट बचाएर अर्कोको टाउकोमा थोप्ने भन्ने होड़मा नै दोस्रो पुस्ता व्यस्त देखियो ।
यो समग्र डिस्कोर्समा म नेतृत्व लिन सक्षम छु भनेर अघि बढ्ने कोही देखिएन ।
खासमा पार्टी जोगाउने नाममा कसरत गरेजस्तो लाग्ने दोस्रो पुस्ताले पार्टी होइन, ओली र नेपाललाई जोगाउने कसरत गरेको देखियो । दोस्रो पुस्ता नेतृत्वदायी कम, ओली या नेपालको सुरक्षादस्ता बढ़ी देखियो । अन्ततः पार्टी फुट्यो । खासमा पार्टीभित्र कुनै समस्या थिएन, समस्या केही व्यक्तिमा थियो र व्यक्तिका लागि पार्टी दुई टुक्रा भयो । कसैले ओली र नेपाल दुबै बिना पनि एमाले उभिन सक्ने ल्याकत राख्छ भनेको भए पार्टी जोगिन्थ्यो ।
यो एमाले कथामात्रै होइन । हरेक दलमा विधि, पद्धति, मूल्य र सिद्धान्त भनेका गफ गर्ने विषय मात्रै हुन् । दोस्रो पुस्ताको काम आफ्ना गुटका मुखियाको चाकरी बजाउनुमात्रै हो । तिनले विरोध गरेजस्तो देखियो भने पनि तिनको उद्देश्य पार्टी या संस्था सुधार गर्ने नभई आफ्नो गुटको मुखियालाई बलियो बनाउने मात्रै हुन्छ ।
अझ दुर्भाग्य त के छ भने, भन्दा ‘तिनको’ भने पनि तीभित्र तपाईं हामी पनि पर्छौँ ! हामी पनि मुखियाबिना उभिन नसक्ने दुर्बल र हुतिहारा छौँ !