कहिल्यै अहंकार नपाल्न नेता कार्यकर्तालाई माधव नेपालको आग्रह
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले पार्टी भित्र देखिएको समस्या समाधान गर्न चाहिरहेको बताएका छन् ।
वरिष्ठ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै ‘म सबैथोक जान्ने सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टी भित्र समस्या पैदा गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर अघि बढ्न आफूले चाहिरहेको बताएका हुन् ।
शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले पार्टी भित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि स्पष्ट पारे ।
नेता नेपालले पार्टीलाई नयाँ जीवन दिन भन्दै अरुले जस्तो बाँदरे नाच नाच्ने काम नगर्न पनि आफू पक्षीय जनवर्गीय संगठनका नेता, कार्यकर्तालाई आह्वान गरे ।
इमान्दार बन्नुपर्ने, असल संस्कार बोक्नुपर्ने, अरुको मानमर्यादामा आँच पुर्याउने काम कसैले पनि गर्न नहुने उनको भनाइ थियो । वरिष्ठ नेता नेपालले सिंगो कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाएर देश र जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।