सन्न्यासी सहर
सन्न्यासी सहर
एक सन्न्यासी प्रकट भएर सोधे –
यो सहरमा तँ किन आइस ?
यो चोरहरुको निवासस्थान हो
यो ठगहरुको सपनास्थल हो
यो व्यभिचारीहरुको स्वर्ण नगरी हो
मन, बुद्धि र सौन्दर्यको व्यापारस्थल हो
जा तँ फर्की जा मनुवा …
हो है भनेर फर्किन खोजेँ –
अकस्मात् एक सुन्दरी प्रकट भइन्
अनि, समयलाई, जीवनलाई
प्रेम र सौन्दर्यले बाँधिदियो
त्यही सुन्दरताको आकर्षणमा
जीन्दगी सहरमै रुमलिइरह्यो …
सुन्दरताले मोहकता फैलाइरह्यो
केहीसमय जीवनलाई अल्मलायो
सौन्दर्यपूर्ण जीवनको अभिलाषा जगाइदियो
तर, रहर जागेपछि, जीवन प्यारो भएपछि
सुन्दरी हाँस्दै अलप भइन् …
म रहेँ अनि मेरो रहर रह्यो
उमेर ढल्किँदै गयो
न त सहर छाडियो
न त आफू अल्झिएको कर्म
जीवन केवल घस्रिइरह्यो
जीवनको संगीत
चिच्याहटमा रुपान्तरित भयो …
जीवनका धेरै ऋतुहरु
यही सहरमा बितेर गए
गाउँका खेतबारी डुलुँला भन्थेँ
मकैबारीमा पसेर हराउँछु सोच्थेँ
धानका बालासँगै मुस्काउँछु ठान्थेँ
रुखका डाली चढेर क्षितिज नियाल्छु भन्थेँ
सबै सपना रहरमा सीमित भए …
कृतघ्न हुन त मन छैन
किनकि यो सहरले –
आश्रय दियो, सहारा दियो
आँशु लुकाउने कुना दियो
साहस जुटाउने ज्ञान दियो
साधना सिकाउने मन्दिर दियो
ध्यान गराउने कुटी दियो
त्यही निष्ठूरीले रिक्त छाडिदिएको
मन भुलाउने अनेकौँ बहाना दियो …
एकदिन सहर सुतेपछि
एक्लै बार्दलीमा बसी टोलाएर हेरेँ –
जीवन केबल एक बहाना बनेछ
तेरो र मेरो, पदप्रतिष्ठा र मानसम्मान
अभिमान र अहंकारमा च्यापिएर
जीवन जिउनै नपाइकन
जञ्जीरमा जकडिएछ …
मौन भई डुलिरहेछु –
यही सहरका कुनाकुनामा
त्यही आफ्नो जीवनको रंग खोज्न
भ्रम छर्न आएको सुन्दरता समात्न
आफ्नो जीवनरंग फिर्ता पाउन
व्यर्थ बिताएको जीवन सँगालेर
बुर्कुसी मार्दै आफ्नै ठाउँ
फर्किन्छु भन्ने आशामा …
डा. प्रदीप ढकाल ।