सरकारको पहिलो प्राथमिकता कोरोना नियन्त्रण हुनुपर्छः नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाविरुद्धको खोप सम्पूर्ण नागरिकलाई छिटो उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।
शनिबार बिहान काठमार्डौको नयाँ बजारमा भएको एक कार्यक्रममा नेता सिंहले कोरोनाको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई खोपको व्यवस्था गर्न सरकारलाई विशेष तयारी थाल्न आग्रह गरेका हुन् ।
उनले काँग्रेस नेतृत्वको सरकारको पहिलो प्राथामिकता कोरोना नियन्त्रण हुनुपर्ने समेत बताए । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउने बताइसकेको भन्दै सिहंले त्यसै अनुसार काम थाल्न सरकारलाई आग्रह गरे ।
उनले भने,‘कोरोना संक्रमणको तेस्रो लहरको जोखिम उच्च छ । यस्तो बेला सरकारले कोरोनाविरुद्धको खोप सम्पूर्ण नागरिकलाई व्यवस्था गर्नुपर्छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउने बताइसक्नु भएको छ । विश्वास गरौं काम पनि त्यसै अनुसार हुनेछ ।’