कहिलेसम्म युवा भनेको लठैत हो भन्ने अर्थ लाग्ने काममा प्रयोग हुने ?
डा. युवराज संग्रौला ।
देशको विकास सजिलो हुँदैन । तर हामीले थुप्रै देशको अनुभवबाट सिक्न पाउने अवसर छ । तर एउटा अकाट्य यथार्थ स्थापित छ, त्यो हो राष्ट्रको प्रतिगामी स्थायीत्वलाई समाप्त गरेर आर्थिक र सामाजिक विकासलाई अगाडि बढाउन, देशका समस्त युवाहरूको रचनात्मक सहभागिता आवश्यक हुन्छ । नेपालमा जस्तासुकै राजनीति दल सत्ता पुगेपनि वर्तमान युवाहरुको सोच र प्रवृत्तिलाई बदल्न सकिएन भने, नेपालमा आर्थिक समृद्धि र प्रगतिशिल सामाजिक रुपान्तरणको योजना लागू हुन सक्दैन ।
१. नेपालमा तीन तरिकाले युवा उत्पादन शक्तिको क्षय भैरहेको छ । ५० प्रतिशत महिलाहरुलाई उत्पादनका औपचारिक क्षेत्रबाट बिस्थापित गरिएको छ । बाँकी रहेको ५० पुरुष युवाशक्ति उत्पादनका क्षेत्रबाट बाहिर छ । यो डरलाग्दो यथार्थता हो। यदि यसकाविरुद्ध तत्काल चेतना निर्माण नगर्ने हो भने, जतिसुकै राम्रो राजनीति स्थिरता भएपनि देशको स्वतन्त्रता बिसर्जनको बाटोमा जानेछ ।
२. देशको युवाशक्तिको ठूलो हिस्सा राजनीतिमा छ र त्यो हिस्सा बिरोध, हिंश्रक गतिविधिमा संलग्न छ । नेताको पक्षमा मोटरसाइकल जूलूस, पार्टीको प्रचारमा आडम्बरी प्रचार प्रसार, कहिले के फोर्स र कहिले के फोर्सका नाममा युवा भनेको लठैत हो भन्ने अर्थ लाग्ने काममा प्रयोग हुँदै आएको छ । अर्को ठूलो हिस्सा विदेशमा कामगर्छ । उसलाई सरकारले नै सम्झौता गरेर बेचेको छ । नेपालको करेन्सी कतै बिक्दैन, तर नेपाली शरीर जताततै बिक्छ । अर्कोतिर हिस्सा नेपाली सेना, प्रहरी, र विभिन्न क्षेत्रमा छ, जसको प्रयोग उत्पादनशील हुन सकेको छैन । जब समस्त युवा उत्पादनको क्षेत्रबाट बाहिर देश कसरी विकास हुन्छ । युवा शक्तिको राजनीति दुरुपयोग नेपालको आर्थिक विकासमा एउटा गम्भीर समस्या हो । राष्ट्रको हित राजनीति दलहरूको सरोकार बन्न नसकेको हुँदा यो अवस्था निर्माण भएको हो ।
३. सन् १९३० को मन्दीपछि, अमेरिकी अर्थशास्त्रीले कृषि र उद्योगमा आम युवा परिचालनको योजना अगाडि ल्याए । लाखौं युवाहरू उत्पादनमा खटिए र मन्दीको समस्यालाई सम्बोधन गरे। जब क्यास्ट्रोले क्युवा मुक्त गरे, अमेरिकी कम्पनीहरुले उत्पादन बन्द गरे, उल्टै क्युवाको समुल अर्थतन्त्रको स्याबोटेज गर्ने षड्यन्त्र गरे । क्युवाले लाखौं युवा स्वयंसेवकहरु परिचालन गरि दसौं गुणा बढी उखु र चिनी उत्पादनको अभियान चलायो, पार्टीका नेता समेत यसमा खटिए । शोभियत युनियनसँग चिनी दिएर पेट्रोलियम सट्टा गर्ने सन्धि भयो । कृषिको यस अभियानले क्युवालाइ अगाडि बढ्ने आधार तयार भयो।
४. सन् १९४९ मा नयाँ चीन स्थापित भएपछि, लाखौं युवाहरूलाई स्वयंसेवक भै उत्पादनमा सरिक हुन र राष्ट्रको निर्माणमा योगदान गर्न आव्हान गरियो। दसौं लाख युवाहरूले कृषिमा किसानहरुलाई सहयोग गरे। सन १९५० मा चीनमा कृषि उत्पादन ४९ प्रतिशतका दरले बढ्यो र १९५३ सम्ममा सम्पूर्ण जनतालाई पुग्ने गरि उत्पादन भयो। १९५० मा ८४०० देहब्यापार केन्द्रहरु बन्द गरि करीब २ लाख युवतीहरुलाई उद्योग मजदुरमा सरिक गराइयो । लाखौं युवाहरूले १९५० मा चीनलाई सफापार्ने अभियान चलाए र सबै कुडाकरकट गार्बेज सफा पारे।
के देशका युवालाइ परीचालित नगरी देशको आर्थिक विकास गर्न सम्भव छ ?
त्यसैले,
क. युवा साथीहरू, विश्वविद्यालयमा पढ्ने सबै विद्यार्थीलाई एक वर्षे राष्ट्रिय उत्पादन प्रवद्र्धन अभियानमा सरिक गराइ बाँझा जमिनमा खेती गरौँ । यो माग राखेर सरकारलाई सोच्न बाध्य गरौं ।
ख. आर्मीले सातै प्रदेशमा एकीकृत कृषि फार्म संचालन गर्ने र प्रयोगशालासहितको उत्पादन र प्रशोधन केन्द्रको स्थापना र संचालनका लागि दवाव निर्माण गरौं ।
३. चिया विकास निगमलाई लिलामबाट फिर्ता गरी विदेशबाट फकिएएका युवाहरूलाई संचालनको जिम्मा दिने व्यबस्थाका लागि आवाज उठाऔं ।
४. स्वदेशी उत्पादन प्रयोग गर्ने अभियान शुरु गरौं।
देश नागरिकले बनाउने हो । यिनै अभियानले राजनीतिका माफियालाई समाप्त गर्नेछ। भ्रम र आग्रहबाट बाहिर आऔं र लठैतको होइन सम्मानित नागरिकको भूमिका गरौं ।