अनुहार नयाँ भएकैले ताली बजाउने हो भने अलग कुरा हो !
नारायण गाउँले ।
हामी आफ्ना छोराछोरीलाई चाहिँ राम्रो स्कुल र राम्रो विश्वविद्यालय पढ्नै पर्छ भन्छौँ । बिहे गर्दा जुवाइँ होस् या बुहारी, पढेको चाहिन्छ । सानो बिजनेस सुरु गर्यौँ र त्यहाँ एकाउण्टेन्ट राख्नुपर्ने भयो भने पक्कै पनि ‘पढेको’ मान्छे नै हाम्रो रोजाइ हुन्छ ! नपढे पनि विद्वान् भइन्छ भनेर छोरा या छोरीले भने र स्कुल गएनन् भने हामीलाई सहज लाग्दैन !
तर, देशको अर्थमन्त्री जस्तो प्राविधिक, सामाजिक र राजनैतिक सबै ज्ञान चाहिने महत्त्वपूर्ण पदहरूमा विज्ञ या पढेको व्यक्ति राख्नुको साटो एसएलसी फेल भएको, कलेज बङ्क गरेको, पढ्ने समयमा बन्दुक बोकेको जस्ता मान्छे खोजेर राखिन्छ । कसैले योग्यता चाहिन्न र भन्ने प्रश्न गर्यो भने हाम्रो मगज तात्छ ! हाम्रो नेतालाई अयोग्य देख्ने भनेर रिस उठ्छ ! यो नेताप्रतिको अतिशय भक्ति नै हाम्रो देशप्रतिको गद्दारी हो !
नपढ्ने बित्तिकै अयोग्य हुने भन्ने होइन । तर केही क्षेत्रमा साँच्चिकैको विज्ञता जरूरी हुन्छ । बजेट ल्याउनु या रकमान्तर गरेर खोप किन्न बजेट छुट्याउनुजस्ता काम त नपढेको व्यक्तिले पनि गर्ला । तिनका पूर्वनिर्धारित ढाँचा हुन्छन् । मन्त्रालयका कर्मचारी हुन्छन् । तर अर्थतन्त्रका कैयौं सूचकाङ्क र तथ्यहरूको विश्लेषण, परीक्षण र सामान्यीकरण गरेर दीर्घकालीन वैज्ञानिक अर्थनीति बनाउन होस् या मुद्रास्फीतिदेखि व्यापार र बजेटघाटासम्मलाई नीतिगत सम्बोधन गर्ने हकमा होस्, देशलाई विज्ञ अर्थमन्त्री आवश्यक हुन्छ । अर्थमन्त्री सिङ्गो सरकारको मेरूदण्ड जस्तै हो ।
अझ नेपालजस्तो सीमित साधनस्रोतले असीमित आवश्यकतालाई सम्बोधन गर्नपर्ने, उत्पादनदेखि वैदेशिक लगानीका क्षेत्र, नीति र सम्भावनाबारे भाषणमात्रै नगरी पहिचान र प्रबर्धन गर्नपर्ने जस्ता दायित्व अर्थमन्त्रीको हुन्छ । फलत: नेपाललाई अझ धेरै योग्य र सक्षम व्यक्ति चाहिन्छ ।
मेरिटलाई आधार मानेर योग्य र सक्षम व्यक्ति पदमा नपुगुन्जेल देशको विकास हुँदैन । देशमात्रै होइन, आफन्त मात्रै भर्ना गरेर त एउटा उद्द्योग पनि चल्दैन । यसमा किन्तु परन्तु भन्नु भक्ति मात्रै हो । आज योग्य व्यक्ति राख्न नसक्दा त्यसको असर भोलिको पुस्तासम्मले बेहोर्नु पर्छ । देउबा, ओली या महेन्द्रले आत्मैबाट भारतसँग सम्झौता गर्दा देशको माटो या नदी बेचेका होइनन् । नेगोसिएट गर्ने र डील गर्ने टेबलमा योग्य मान्छे नराखेकाले चुकेका हुन् । झट्ट हेर्दा देशलाई मुनाफा नै मुनाफा देखेर लोभिएका हुन् । चुरेबाट गिटीबालुवा बेचेर धनी हुने सपना पनि त्यस्तै हो । जसले ल्यायो त्यसको मनमा देशलाई घात गर्ने इच्छा पक्कै छैन । यो दूरदर्शिताको अभावमात्रै हो । योग्य मान्छे ठाउँमा नभएकाले नेपाल हरेक सम्झौतामा पछि परेको हो । यो दीर्घरोग हो ।
नपढेको अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउन या ताली खाने भाषण गर्न सक्छ तर रोगी अर्थतन्त्रको शल्यक्रिया गरेर स्वस्थ बनाउन सक्दैन । म लेख्न बोल्न र अलिअलि विश्लेषण गर्न सक्छु होला, तर साइन्स नपढेको म, फिजिक्सको कक्षा पढ़ाउने जिम्मेबारी दिए मैले न्यायपूर्वक निभाउन सक्दिन । भलै म धेरै नै जानेको जस्तो गरी फिजिक्सको व्याख्या र इतिहास पढाउँछु, ताली खान्छु र आफ्नो कार्यकाल पूरा गर्छु ।
एमालेमा थुप्रै विज्ञहरू थिए तर विष्णु पौडेल अर्थमन्त्री बने । अहिले जनार्दन शर्मा बने । तात्विक रूपमा कुनै परिवर्तन भएन । ‘क’लाई हटाएर ‘ख’लाई राख्ने काममात्रै भयो । उनले बुर्ज़ुवा शिक्षा भनेर पढाइको विरोध गरे पनि आफ्ना सन्तानलाई भने पढाइ चाहिने रहेछ भनेर विदेशतिर पढाएका छन् । शर्माप्रति मेरो व्यक्तिगत रूपमा कुनै गुनासो छैन । उनको इमान र निष्ठाबारे हाललाई कुनै प्रश्न पनि छैन तर मलाई सम्बन्धित विषयमा योग्य व्यक्ति नभए देशले र आगामी पुस्ताले दुःखमात्रै पाउँछ भन्ने थाहा छ ।
अनुहार नयाँ भएकैले ताली बजाउने हो भने अलग कुरा हो !