नेपाल अहिले रात्रि राजनीतिको शिकार भएको छ
डा. युवराज संग्रौला ।
विगत बिर्सने रोगलाई ‘एम्नेसिया’ वा बिस्मरण भनिन्छ । नेपालमा कम्युनिष्ट र कांग्रेस दुबैलाई यो रोगले ग्रस्त पारेको छ । यो रोगले दिमागलाई निकम्मा पार्दछ । हिजो जनताका घरमा बस्ता यिनको दिसापिसाब समेत जनताले सफा गरे । आफ्ना छोराछोरीलाई खान नदिइ यिनलाई खान दिए । तर सत्तामा पुगेपछि, यिनीहरुका पहिरन, खाना बोली सबै सामन्तका जस्ता भए ।
कांग्रेसको मति पनि उही हो । यिनमा लागेको रोगको नाम छैन तर निकम्मा हो कि जस्तो लाग्छ। यी दुबै राम्रा बिचारधारा बोक्ने मानिसले बनाएका घर थिए, अहिलेकाले गरेका फोहोरले डङड्ङ्ती गनाउने घरमा परिणत भए।
१. बिस्मृति र निकम्मा दुबै रोगमा चेतना मर्छ । चेतना मरेपछि मानिसलाई बिचार र सिद्धान्तको ख्याल हुँदैन । बिचार मरेपछि नैतिकता रंहँदैन। नैतिकता नरहेपछि भ्रष्टाचारको नसा लाग्छ । अहिले अवस्था एम्नेसियाले जन्माएको रोग हो ।
२. एम्नेसियामा लाज पनि हरांउछ किनभने लाज नैतिकता पचेपछि लाग्छ। लाज पचेपछि मानिस नाङ्गाो हुन्छ। नाङ्गो स्वयंलाई लाज हुँदैन तर देख्नेलाई लाज हुन्छ । आज कम्युनिष्टले देखाएको अवस्था त्यही हो ।
३. आम पढेलेखेका मानिस चमेरा रोग हुन्छ। चमेरा टाउको उठाउने होइन टाउको झुन्ड्याउने प्राणी हो। चमेराले तल मात्र देख्छ माथी देख्दैन । त्यसैले उसले आफ्ना नेताको गल्ती देख्दैन।
४. चमेराले दिउँसो देख्दैन । रातिमात्र देख्छ । त्यसैले उसलाई दिउँसोको कुरा थाहा नै हुँदैन। अरु प्राणीले दिउँसोको कुरामात्र देख्छन् । त्यसैले जनता रातिको राजनीति केही बुझ्दैनन् । नेपाल अहिले रात्रि राजनीतिको शिकार भएको छ । केपी ओलीका बारेमा धेरै कुरा भए । तर केपी ओलीलाई असफल पार्ने रात्री राजनीति गर्ने उनका वरिपरिका मानिस चोखै छन् । उनका मन्त्रीहरुको सम्पत्ति, उनको बिरोध गर्ने तर साँठगाँठ गर्दै आर्जन गर्नेको चरित्रको कुरा मानिसले देखेनन् ।
अर्थात् कम्युनिष्टले सिद्धान्तलाई धोका दिए किनकी यी अधिकांश कम्युनिष्ट नै थिएनन् । बस जनता झुक्किए। यी धेरै त डमिमात्र थिए पुतलीसडकमा कुर्ता लगाएर उभ्याएका पुत्ला जस्ता । अब नयाँ सरकारको नामको एउटा पुत्ला खडा हुनेछ । यो पुत्लाको नाम लोकतन्त्र भनिएको छ। तर यो पुत्ला लोकतान्त्रिक छैन । मानिस भन्छन् राजा ल्याएपछि सबैथोक रुखमा फल्छ । हिजो माओवादी आउँदा यही भनेको हो । एमाले आउँदा यही भनेको हो । कांग्रेस आउँदा यहि भनेको हो । ६० बर्ष नेपाली जनताको जीवन त्यतिकै सकियो । समस्या पार्टीको होइन, समस्या बाघको छालामा बसेका स्यालहरुको हो । देश चलाउन बुद्धि र विवेक चाहिन्छ । नेता होइन । नेताले राजनीतिलाई फुटबल ठान्छ । राजनीति त जीवन हो । नेपालीले अब आफ्नो जीवनलाई देश र आफ्नो भलाइसँग जोड्नु पर्छ।
अब त आँखा खोल्ने दिन आए । अहिलेको घटना बिस्मरणबाट मुक्तिको सन्देश हो ।
अब देशमा हरेकले राष्ट्रको स्वार्थलाई आफ्नो स्वार्थ बनाउनु पर्छ।
१. अब बाघको छालामा स्याललाई बस्न नदिन ‘संविधानमा संशोधन गरेर कार्यकारी क्याबिनेटको प्रत्यक्ष निर्वाचन हुनुपर्छ।’
२. संवैधानिक अदालत सर्वोच्चबाट बाहिर निकालेर अलग अदालतका रुपमा राख्नु पर्छ ।
३. प्रदेश सरकार आवश्यक छैन । केन्द्र र स्थानीय सरकार दुई तहको संघीयता कायम राख्दै स्थानीय सरकारलाई जिम्मेवार र शक्तिशाली बनाउनुपर्छ । स्वायत्त प्रणालीको विकास गर्नुपर्छ ।