मन्दिर र तपाईँ
डा. गोविन्दशरण उपाध्याय ।
नेपालमा कति मठमन्दिर छन् ? कसैसँग अभिलेख छैन । निजी, सार्वजनिक र गूठी यी तीन श्रेणीमा नेपाली मन्दिरहरूलाई राख्न मिल्छ भन्ने मेरो ठहर हो त्यैपनि गूठीअन्तर्गत निजी र सार्वजनिक दूवै प्रकारका मन्दिर छन् भनेर बुझ्नुपर्छ ।
काठमाडौँ उपत्यकाका धेरैजसो मन्दिरहरू निजी धनले निर्माण गराएर तिनको संचालन गर्न गुठीको अवस्था गरिएको छ । त्यस्ता मन्दिरहरू निजी गुठीका नामले चिनिन्छन् र गुठियारहरू सम्बन्धित परिवारकै पुस्ताहरू हुन्छन् । पूर्वजले राखेको नासो चलाउने काम जीवित पुस्ताको हुन्छ । दुर्भाग्यवस, पछिल्लो पुस्ता निजी गुठीहरूको उठिवास गर्न सक्रिय छन्, आफ्ना पुस्ताको सत्कर्म मेटाउन तम्तयार छन् । सबैलाई एकै भाँडोमा हाल्नु अन्याय हुनेछ ।
श्रीपशुपतिनाथ सार्वजनिक गुठी हो । गुठी परम्परा विश्वकै लागि परम्परा संचालनको नेपाली प्रतिमान हो । यस्ता मन्दिरहरूको दायरा र लोकप्रियता वृहद् हुन्छ । तेस्रो, व्यक्तिले आफ्नो घरकम्पाउन्ड भित्र निजी पूजाआजाका लागि निर्माण गरिने मन्दिर हुन्छन् । मन्दिर जस्तो विधिमा संचालन किन नहोस्, सबैको उद्देश्य वैदिक सनातन धर्मको निरन्तरता सुनिश्चित गर्नुनै हो । मन्दिरहरू सनातन धर्म सिकाउने सबैभन्दा प्रमाणिक र जीवन्त आधार हुन् ।
मन्दिरको अर्थ ’घर’ हुन्छ । मन्दिर त्यो घर हो जहाँ हामी हिन्दू, जैन तथा बौद्धहरूका आराध्यदेव देवीहरूको आराधना गरिन्छ । मन्दिरसँग आस्था, विश्वास, इतिहास, त्याग, दान, संस्कृति तथा दैनिक संस्कारहरू जोडिएका हुन्छन् ।
हरेक सनातन धर्मिका लागि मन्दिर एउटा “आत्मिक घर वा समुह र परिवार जोडिने पवित्र“ मिलनस्थल हुन्छ । जहाँ पुगेपछि धनिगरीव, ऊँचनीच, छुतआछुतजस्ता भिन्नताहरू समाप्त हुन्छन् । मन्दिरमा आराधना गरिने देवीदेवता सबैका साझा हुन्छन् र हरेक व्यक्तिको आध्यात्मिक, मानसिक समस्याहरूको समाधान गर्ने आधार हुन्छन् ।
नेपालीहरूको मन्दिरको इतिहास नेपालजत्तिकै प्राचीन छ । नेपालका निर्माता ने–मुनिले नेपालको जग भगवान् शिवको मन्दिर निर्माण गरेर राखेका थिए । साच्चिकै भन्नुपर्दा हामी नेपालीका लागि नेपाल पनि एउटा वृहदकाय मन्दिर हो जहाँ हामी सबै मिलेर आराधना गर्छौं ।
नेपालमा असंख्य मठमन्दिरहरू छन् जसले सर्वसाधारण नेपालीहरूको धर्म, संस्कृति, संस्कार तथा असल–कमसल कार्यको नियन्त्रण हुन्छ । हरेक मठमन्दिरले धर्म, संस्कृति तथा संस्कारहरूको पुस्तान्तरण गर्छन् । मन्दिरमा गएर अर्पित गरिने नगद वा वस्तु, गरिने ढोग, सम्पदान गरिने संस्कार यी सबैले हामी वैदिक संस्कृतिका अंश भएको प्रमाणित गर्छन् ।
मन्दिरहरूः हिन्दू वैदिक सनातन धर्मका असली जग अर्थात् स्रोत हुन् । जसले सबैभन्दा पहिले मन्दिर वनाएर वैदिकहरूलाई मन्दिर जान उत्प्रेरित गरे उनी वास्तव नै दूरदर्शी थिए । हामी भाग्यमानी छौँ, मन्दिर र मन्दिर निर्माताले राखेको विश्वासको जगले गर्दा हरेक प्राचीन मन्दिरहरूको वारम्वार पुनर्निर्माण, पुनउद्धार र पुनः संस्कृति सिकाउने थलोका रूपमा सुरक्षित छन् । धेरै राजाका सुन्दर महलहरू हराए तर एउटा मन्दिरहरू हाम्रो आस्थाका कारण जीवित छन् ।
मन्दिरहरू हामी वैदिक (हिन्दू, जैन, बौद्ध) हरूका स्वाभिमान हुन् । हाम्रा पूर्खाहरूको त्याग, तपस्या तथा दूरदृष्टिका जीवित प्रतिमान हुन् । मन्दिरको अपमान गर्नु वा मन्दिरहरूको वेवास्ता गर्नु भनेको आफ्नो स्वाभिमान त्याग्नु वा तेसको महत्वलाई नबुझ्नु हो । जीर्ण भएका मन्दिर, वेवास्तामा परेका मन्दिर तथा अतिक्रमणमा परेका मन्दिरहरूले हाम्रो गीर्दो स्वाभिमान देखाउँछन् । मैले सम्पूर्ण योरोप घुम्दा कुनै पनि चर्च वेवास्तामा परेको देखिन, भेटिन ।
काठमाडौँलाई मन्दिरहरूको सहर भनेर बुझिन्छ । हरेक मन्दिरले त्यो चाहे ठूलो होस् वा सानो, एउटा इतिहास, आस्था, विश्वास र संस्कृतिको प्रतिनिधित्व गरिरहेको हुन्छ । एउटा मठमन्दिर नष्ट हुनु भनेको एउटा सम्पूर्ण इतिहासको धरोहर नष्ट हुनु हो । अहिले मन्दिर तथा गुठीहरूको जग्गा कब्जा गरेर त्यसको इतिहास नष्ट गर्ने व्यक्तिहरूको वर्चश्व छ । यस्ता व्यक्तिहरू आफ्नै धर्म, संस्कृति तथा धरोहरका शत्रु हुन् । दण्ड इतिहासले दिनेछ ।
हाम्रो समाजमा मठमन्दिरलाई वेवास्ता गर्ने जमातहरू बढेको छ । यस्तो जमात आफुलाई “आधुनिक र प्रगतिशील“ ठान्छ । यो एउटा आत्मघाति प्रवृत्ति हो । हरेक अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई कमसेकम हप्ताको एक दिन निकटतम मन्दिरमा लैजानु पर्छ, आराधनामा समावेश गर्नुपर्छ र दान दिने संस्कृति सिकाउँनु पर्छ । इसाई–मुस्लिमहरूबाट हामीले धर्मप्रतिको समर्पण सिक्नुपर्छ । आज मुस्लिम र इसाई समुदाय क्रमशः दोस्रो र पहिलो ठूलो धार्मिक समुदाय हो किनभने उनीहरूले मस्जिद र चर्चलाई कहिले पनि वेवास्ता गरेनन् ।
हामी हिन्दूहरू मन्दिरहरूको संरक्षणका सवालमा निकै पछि परेका छौँ । हरेक सानोठूलो समुदायले एउटा मन्दिरको संरक्षण गर्ने जिम्मा लिनुपर्छ । आजभोलि यस्तो प्रवृत्ति बढेको छ तर मन्दिरहरूको तुलनामा हाम्रा प्रयासहरू निकै कम छन् । यदि हामीले मन्दिरहरूको संरक्षण गर्र्यौं भने मन्दिरहरूले हाम्रो धर्म, संस्कृति तथा इतिहासको गौरवलाई निरन्तरता दिने छन् । हाम्रो धार्मिकताले मन्दिरको र मन्दिरले हाम्रो धर्मसंस्कृतिको रक्षा गर्ने छन् ।
धर्मको कोलममा हिन्दू लेख्दैमा हिन्दू धर्मको रक्षा हुँदैन । मन्दिरप्रतिको दायित्व हामीले पूर्ण गर्नुपर्छ । मन्दिरले आयोजना गर्ने कार्यक्रममा सक्रियता पूर्वक भाग लिनुपर्छ । आफूले कमाएको धन मध्ये केही प्रतिशत नियमित रूपमा दान दिनुपर्छ । महिनामा एक पटक मन्दिरमा स्वयंसेवक बनेर मन्दिरको संरक्षणमा टेवा दिनुपर्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा, आजभोलि केही प्रगतिशील भनाउँदा र विदेशी धर्महरूले “मठमन्दिर, पण्डितपुरोहित, पूजाआजा“हरू सामन्तवादका प्रतिनिधि हुन्“ भन्ने जस्तो नितान्त घृणित, विभेदकारी र आफैंलाई नष्ट गर्ने “वैचारिक–जाल“हरू फैलाएर आफ्नै धर्म, संस्कृति तथा इतिहासप्रति हीनताबोध उत्पन्न गर्ने काम भइरहेको छ । यस्ता घृणावादी सोचको प्रतिवाद गर्नुपर्छ । मन्दिरहरू हाम्रो पहिचान हुन्, हाम्रा इतिहास हुन् । हाम्रो संस्कृतिको निरन्तरताका लागि अनिवार्य सोपान हुन् । यी घृणावादीको बैचारिक जालमा परेर आफ्नै धर्मका विरुद्ध बोल्नेहरूको बौद्धिक प्रतिवाद गरौँ ।
अन्त्यमा, मन्दिरहरू, मठहरू, हरू, गुम्वाहरू, चैत्यहरू, हाम्रा जीवित धर्म, संस्कृति र इतिहास हुन् । हाम्रो स्वाभिमानी इतिहास यिनैसँग जोडिएको छ । मन्दिरको वेवास्ता गर्नु आत्मघात हो । मन्दिर र मन्दिर संस्कृतिसँग आफू र आफ्नो परिवारलाई जोडौं । सनातन धर्मको विनम्र तर स्वाभिमानी अनुयायी भएको प्रमाण बनौं । धन हुनेले धन, मन हुनेले मन र शारीरिक सेवा दिन सक्नेले स्वयंसेवा प्रदान गरौँ ।
हामी गर्न सक्छौं ।