नेतृत्व माथिको टिका टिप्पणी पार्टी माथिको ठूलो षड्यन्त्र



– वासुदेव भट्टराई ।
प्रजातन्त्र सहितको संवैधानिक राजसंस्था, धार्मिक स्वतन्त्रतसहितको हिन्दू राष्ट्र नेपाल र स्थानीय स्वायत्त शासन प्रणालीलाई मूल एजेण्डाका रुपमा अघि सार्दै सम्वद्र्धनवादको मार्गचित्रबाट स्वाभिमान सहितको समृद्ध नेपाल र स्वावलम्वी एवं सुखी नेपालीको सपना बोकेर अगाडि बढिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र पुनः देशी विदेशी धमिराहरु सल्बलाएको देख्दा उदेक लागेर आउँछ । देशका ठूला दलहरु विशेषतः नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीहरु लगायतबाट नेपाल देश र नेपाली जनताहरुलाई नुन देखाएर लौरो हान्ने प्रवृत्ति र व्यवहार बाहेक केही प्राप्त हुनेवाला छैन भन्ने छर्लङ्ग भएको अवस्थामा अबको बैकल्पिक शक्ति राप्रपा नै हो भन्ने बुझेर देशी विदेशी विधर्मीहरु, पार्टी भित्र रहेर सिन्को नभाँच्ने तर अवसरका अवस्थामा सबै मै हुँ भन्ने डंका फुक्दै सबै सेवा सुविधा हडप गर्ने र फेरि के अलि स्वार्थ र अवसर कम भयो स्वयं एक भिमकाय प्रवृत्तिको द्योतक मै हुँ भन्दै पार्टी भित्रका आन्तरिक कुरादेखि लिएर सानो मसिनो बिषयलाई उछाल्दै नेतृत्व वर्गमा लान्छना लगाउन कार्यालय नै खोलेर छिचिमिरा झैं निस्किएका छन् भाँडहरु ।

बिशेषतः भारतमा भएको बाह्र बुँदे राष्ट्रघाती सम्झौतामा देश बेच्न लालायित व्यक्तिहरु र यस्तोबेला त साथ देलान भनेका निकटतम साथीहरु समेत तिनै राष्ट्रघातीहरुको बाटोमा घाँटी जोडेर हिंडे पछि अब देशको अस्मिता रहँदैन भन्ने ठम्याएर आम नेपाली जनताको भावना अनुसार राजसंस्था, हिन्दूराष्ट्र, स्थानीय स्वयत्त शासन प्रणाली लगायत अन्य साझा मुद्दा बोक्दा तँलाई टुँडिखेलमा लगेर शुली चढाईन्छ भन्दा समेत ज्यानको पर्वाह नगरी जुन नेता एजेण्डामा अटल भई अलौकिक हिम्मत, आँट र विश्वासका साथ हाल सम्मका सबैखाले अप्ठेरा परिस्थितिहरुमा निडर भएर अग्रपंक्तिमा रही पार्टी र पार्टीका नेता कार्यकर्तालाई हौसला, प्रेरणा र प्रोत्साहन दिदै आमनेपालीहरु समक्ष प्रस्तुत भयो त्यो नै आज एजेण्डा बेच्ने दलाल, मुसा प्रवृत्ति, हठी, निरंकुश, तानाशाह भयो ?

अचानक भएको अदृश्य वा अकल्पनिय परिवर्तनका कारण देशको राजनैतिक अवस्था जटिल भएर साम्यवादी वा समाजवादी कित्ता बाहेकको अरु बिकल्प छैन, यिनै दुई मध्ये एक कित्तामा उभिनु पर्ने अवस्था आयो भन्दै जनताले अलिकति मत कम दिएर पार्टी संगठन कमजोर के भएको थियो, पार्टीको नेतृत्व क्रमिक रुपमा दोश्रो पुस्तामा हस्तान्तरण गर्ने कुरा के आएको थियो, अपराधिक गूटहरुले देश सर्लक्क निल्ने प्रपन्च सहित सरकार परिवर्तनको कुरा के आएको थियो, अन्तर्राष्ट्रिय मन्च र समन्वयहरुमा नेपालकै तारा भएर परिपक्क नेताका रुपमा उदय हुन लागेको के थियो, चाहे पानीको फोहोरा खान होस् वा प्रहरीको अश्रुग्याँस वा लाठी, अग्रपंक्तिमा रहेर ज्यान हत्केलामा राखी देशको लागि सडकबाटै आफूलाई आहुति दिन तयार हुने नेताका रुपमा के पहिचान बनाएको थियो सबै सबै अवस्थामा कमल थापा माथि नै प्रहार ।

प्रसंग विद्धत्ता माथि पनि जोडौं, पहिले स्नातक, स्नातकोत्तर, पिएचडी पढ्नेहरुलाई विद्वान भनेर नामै सुनेर पनि सम्मान हुन्थ्यो किनकी उनीहरुले कतिपय बिषयहरुलाई बिष ठाने पनि रुद्रकण्ठी भित्रै लुकाएर आफ्नो शिक्षा र विद्धत्तालाई सम्मानित बनाएर राख्दथे । तर अब सबै पढेलेखेका छन्, कसैको कुनैपनि अभिव्यक्तिप्रति फरक र विश्लेषण गरेर मात्र टिका टिप्पणी गर्दछन् । त्यसैले अब मै मात्र पढे लेखेको, विद्वान, जान्ने सुन्ने अरु सबै पटमूर्ख भन्ने कुत्सित मनसायबाट सबै टाढा रहनु नै बेश हुनेछ । मैले नपाउने भएपछि बिभिन्न सामाजिक संजाल प्रयोग गरेर होस् वा संचारमाध्यम प्रयोग गरेर होस्, उसलाई पनि प्राप्त गर्न दिन्न भन्ने मूख्र्याइँ गर्दै दुधको साक्षी बिरालो बन्ने चेष्टाले झनै बिषवमन भएको आभाष भएको छ । पार्टी, संगठन, नीति, सिद्धान्त प्रति किंचित चासो होईन मै खाउँ, मै लाउँ……म नभए भाँडमा जाओस् संगठन, सिद्धान्त अनि पार्टी भन्नेहरुदेखि उदेक लागेर आउँछ । हालको अवस्थामा अवस्था र परिस्थितिमा कमल थापाको तेजोवध गरेर यो पार्टीको एजेण्डा स्थापित गर्छु वा यो आन्दोलन सफल पार्छु भन्ने कसैले सोचेको छ भनें त्यसलाई दिवास्वप्नाका रुपमा ग्रहण गर्न सकिन्छ र यस्तो यदि भएमा देशी विदेशीले क्षणभरमै हाम्रो आन्दोलन खरानी बनाउनेछन्, आन्दोलनलाई गन्तव्यमा पुर्याउन अझै पनि आशा र भरोसाका केन्द्र हाल पनि उर्जाशील र जुझारु नीति प्रणेताबाट मात्र संभव रहन्छ ।

टिका टिप्पणी गर्नेहरु पार्टीको एजेण्डा प्रति समर्पित हुन् भने हाम्रा एजेण्डाहरुले सार्थकता पाउँदै गर्दा अनि यो नीति युद्धले विजय प्राप्त गर्दै गर्दा अराजक र अपराधिकरण मात्रमा रमाएकाहरु एकाकार भै विज्ञप्ति जारी गरिसकेको कुरालाई अत्यन्त गम्भीर रुपले बुझेर कसैको उक्साहटमा बमौसमी नारदमुनी हुँदै “भाइ फुटे गँवार लुटे” नबन्न र जवरजस्ती नेतृत्वलाई विभाजितताको मानसिकतातर्पm नधकेल्न समेत म अनुरोध गर्न चाहन्छु ।

नेतृत्व दोश्रो पुस्तामा हस्तान्तरण गर्ने कुरामा म सतप्रतिसत सहमत छु तर त्यो कार्यान्वयन पूर्व हामी कति तयारीमा छौं भन्ने तर्पm सावधान हुनु जरुरी छ । हुनत मेरो सोचाई गलत हुन सक्दछ तर नेपालको वैकल्पिक राष्ट्रवादी पार्टीको नेतृत्व लिंदै र दिंदै गर्दा अन्य धेरै कुरामा र बिशेष गरी तीन कुरामा ध्यान पुर्याउनु पर्दछ जस्तो लाग्दछ । प्रथमतः नेतृत्व लिने नेता यो देशका शसक्त पार्टीहरुका शीर्ष नेताहरुसँगको साक्षात्कार, सामित्यता, उठवस, राष्ट्रिय राजनीति र समिक्षा, देश र नेपाली जनताको समुन्नत भविष्य प्रति चिन्तन आदि बिषयमा अत्यन्त नजिक रहेर विश्लेषण, योजना, वहस र नीति निर्माण गर्ने क्षमता प्राप्त गरिसकेका हुनु पर्दछ, सिद्धान्त फरक भएपनि हिमचिम सुमधुर रहनु पर्दछ ।

दोश्रो, विशेष गरी भारत, चीन, अमेरिका, बेलायत, अन्य पाश्चात्य मुलुक लगायतका विश्वका शक्तिशाली मुलुकहरुका राष्ट्रप्रमूख एवं बिशिष्ट नेतृत्वहरु सँगको चिनजान, आदान प्रदान एवं सम्बन्ध गाँसिएको हुनुपर्दछ र तेश्रो, पार्टी संचालन गर्न देश, विदेश, साथी, संगी, उद्यमी, व्यापारी लगायतबाट आर्थिक सहयोग प्राप्त गर्न सक्ने हैसियत निर्माण गरिसकेको हुनुपर्दछ । यसो भन्दैगर्दा यो क्षमता भएका नेतृत्व नभएको भन्न खोजिएको चाहिँ पटक्कै होइन । देश संचालनमा लामो बिरासत बोका र गर्व गर्न पाउने नेताहरु हुनुहुन्छ । त्यस्तै हाम्रो पार्टीको दोश्रो र तेश्रो पुस्तालाई उल्लेखित तीन बिषयमा परिपक्क गराउने, पहिचान, सामिप्यता, उठवस, परामर्श र छलफल गराउने राजनीति धर्म र दायित्व पहिलो पुस्ताका नेतृत्वको हो जुन कुरा पहिलो पुस्ताका नेतृत्वबाट हुनुपर्ने पहलकदमीको कमी रहेको या त दोश्रो पुस्ताका नेताहरु यी कुराहरुका बारेमा पहिलो पुस्तासँग अपेक्षा नगर्ने, नरुचाउने, विश्वास नगर्ने, मैमत्ता बन्नुका कारण हुन नसकिरहेको हो दुबै पुस्ताका नेताले यो बिषयलाई गम्भिरतापूर्वक ग्रहण गर्नु जरुरी रहेको छ ।

मौलिक धर्म, संस्कार, संस्कृति र परम्पराको मुद्दा बोक्ने पार्टीका नेता कार्यकर्ताले गणतन्त्रवादीहरुको जस्तो विधर्मी र अपराधिक मनोवृत्ति पालेर बिभिन्न वहानामा आफ्नो घरमा आगो लगाउने कार्य गर्नु हुँदैन । कसैले पनि हाम्रो नीति, सिद्धान्त र पार्टीलाई बिभिन्न वहाना बन्धक बनाएर उर्वरताको तेजोबध गर्दै गतिशून्य बनाउनु हुँदैन । धेरै कुरा भन्दा पनि सर्पको खुट्टा सर्पले नै देख्दछ । त्यसैले पार्टीका नेतृत्व तह र विशेष गरी त्रय अध्यक्षज्यूहरुले कोहीपनि अभिमन्यू बन्नु नपर्ने गरी तथ्यपरक विश्लेषण र व्याख्या केवल सत्य र न्यायका दृष्टिबाट गरी बुद्धिमत्तापूर्ण ढंगले पार्टीलाई अगाडि बढाउनु हुनेछ भन्ने पूर्ण विश्वास गर्दछौं ।
अस्तु

लेखक राप्रपाका केन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास

दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही

प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९