गरीव मुर्दार !!
डा. गोविन्दशरण उपाध्याय ।
मुर्दारघरमा लास राखेको चारदिनपछि एउटी दूब्ली महिला र केही मान्छेहरू सनाखत गर्न अस्पतालको मुर्दाघरभित्र छिरे । एकजना डाक्टर र नर्स पनि सँगै थिए । “तीन लाख औषधि–उपचारको बिल बाँकी छ । कोरोना लागेको मान्छेलाई आर्मीले सित्तैमा आर्यघाट लैजन्नन्–“ डाक्टर र नर्सले कुरा गर्दै थिए । अमिसा नर्स–डाक्टर संवाद सुनेर सुनेर चिन्तित भैइन् “हे भगवान् ! मेरो लोग्नेको लास नहोस् । अन्नको गेडा मुखमा परेको छैन, तीन लाख कहाँबाट तिर्न सकूँला !!“
अपरिचित सहयोगीका साथ अमीसा आफ्नो हराएको लोग्नेको खोजि गर्दै एउटा अस्पतालमा पुगेकी थिइन् । उनले आफ्नो जिन्दगीमा एकपटक पनि पांचको नोट छोएकी थिइनन् ।
लस्करै लासहरू राखिएका थिए । मुर्दारघरका सहयोगीले क्रमशः लाशहरूको अनुहार देखाउँदै गयो । आठौं नम्वरको लाशमा पुगेपछि अमिताका आँखा रोकिए । जीऊ चिसो भयो, मुख सुक्यो । आँखाबाट आँशु निस्कन सकेनन् । उनीलाई त्यहाँ उभिन पनि गारो भयो । अचम्मको व्यथा प्रकट भयो । उनीसँग लाश हेर्नुको विकल्प थिएन । अन्ततः दशौँ लाश हेरेर अमिसाले भनिन् “मेरो मान्छे यहाँ छैन ।“
दश दिनपछि सहयोगी अमिसाको घरमा आए “भाउजु ! दाइको (तपाईंको लोग्ने) को कुनै खवर पाउनु भयो ? अमिसा अचानक डाँको छोडेर रून लागिन् । उनी भन्दै थिइन् “मुर्दारघरको आठौँ लाश नै मेरो लोग्ने हो । मैले सनाख्त गरेको भए अस्पतालको तीन लाख, आर्मीको खर्च, मृत्यु–संस्कारपछिका खर्च मैले जुटाउन सक्दिन । आफ्नै पेटमा चारदिनदेखि अन्नको एउटा गेडा परेको छैन । यहाँ आफ्नै मरेको लोग्नेलाई चिन्न पनि पैसा लाग्दो रहेछ । गरीवलाई रोग र मृत्यु दूवै लाग्नु अपराध रहेछ । क्षमा गर्नुस्, म आफ्नो लोग्नेलाई चिनेर पनि नाचिन्न बाध्य भएँ ।“ सहयोगीसँग पनि कुनै जवाफ थिएन ।
विचारा हामीले रोजेको, ल्याएको लोकतान्त्रिक गणतन्त्र, जहाँ गरीवहरू रोग, भोक र शोक जसरी मरे पनि मूल्य तिर्नैपर्छ !! तर राजनैतिक व्यवसायीहरूलाई सबै निःशुल्क छ । (असल कामगर्ने राजनैतिककर्मीलाई सधैं अभिनन्दन छ)