कुर्सीको युद्धमा अक्सिजनको के महत्त्व ?



नारायण गाउँले ।

साह्रै दुःखलाग्दो कुरा के छ भने नेपालमा हालसम्म कोभिड़बाट भएका धेरैजसो मृत्युहरू बचाउन सकिने प्रकृतिका छन् ।
पछिल्ला धेरै मृत्यु त चारैतिर गुहार्दा समेत अक्सिजन नपाएर, आइसियुमा बेड र भेन्टिलेटर नपाएर अनि एम्बुलेन्समा घुम्दाघुम्दै ओर्लिने हस्पिटल नपाएर भएका छन् । सिकिस्त भएर हस्पिटल पुग्दासमेत कोरोना टेस्ट गर्ने लामो लाइन लाग्दा लाग्दै मान्छे ढलेका घटना कत्ति पनि सामान्य होइनन् । आइसियुमा भएका बिरामीलाई समेत अक्सिजनको व्यवस्था आफै गर भन्ने स्थिति कति दयनीय होला !
यी त शहर र सामाजिक सञ्जालको पहुँचका कुरा भए, देशको अधिकांश भागमा डाक्टर छैनन्, अस्पताल र अक्सिजन छैनन् । तिनको कथा लेख्नेहरू पनि छैनन् ।

सरकारले व्यापक परीक्षण र उपचार गर्दागर्दै, महिनौंदेखि पूर्वाधार र क्षमता वृद्धि गर्दागर्दै र सम्पूर्ण साधनस्रोत प्रयोग गर्दागर्दै केही नलागेर भएका मृत्यु पनि होइनन् यी । सरकारको प्राथमिकता अझै पनि सिंहदरबारबाहिर निस्किन सकेको छैन । भारतमा अक्सिजन अभावको खबर आउँदै गर्दा हामी पत्रकार सम्मेलन गरेर पर्याप्त स्टक रहेको दाबी गर्न व्यस्त रह्यौं । यस्तो सङ्गीन जनस्वास्थ्यको सङ्कटमा सरकारले हात उठाउनु हाम्रो पुस्ताका लागि नै लज्जाको विषय पनि हो ।

यतिबेला कुनै पनि हस्पिटल पुग्नुभो र आधा घण्टा बिताउनुभो भने या नजिकको आफन्तलाई हस्पिटल लैजानै पर्ने अवस्था आयो भने स्थिति कति भयावह छ भन्ने थाहा हुन्छ । सिस्टम पूरै कोल्याप्स्ड छ । यद्यपि सरकारी भाषण र कागजमा हस्पिटल पनि छन्, बेड पनि छ र अक्सिजनदेखि भेन्टिलेटरसम्मको पर्याप्त व्यवस्था छ । स्थिति नियन्त्रणभित्रै छ ।

सरकार परिवर्तनको माहोल छ । तर कुनै पनि दलले बचाउन सकिने मान्छे मरेको घटनालाई इश्यु बनाएका छैनन् । यो महामारीलाई नियन्त्रण गर्ने मास्टरप्लान देखाएका छैनन् । हस्पिटलको दैलोमा पुगेर पनि उपचार नपाई बोरामा पोको पारेर ट्याक्टरमा शव घर लैजान पर्ने अवस्थाप्रति दुःख व्यक्त गरेका छैनन् । माफी मागेका छैनन् । राजनीति यतिसम्म दुर्गन्धित नबन्नुपर्ने हो ।

हो, यतिबेला मृत्युको ताण्डव पक्कै पनि नेपालमा मात्र होइन, विश्वभर फैलिएको छ तर उपचारको मुखै देख्न नपाई भएको मृत्यु र हप्तौंसम्मको उपचारपछि केही नलागेर हुने मृत्यु एउटै होइन । भाइरसको यतिबेला सबैभन्दा ठूलो र सस्तो उपचार अक्सिजन-सपोर्ट नै हो । शरीरले रोगी फोक्सो बोकेर भाइरसलाई परास्त नगरुन्जेल शरीरमा अक्सिजन कमी हुन नदिने हो भने धेरैलाई बचाउन सकिन्छ ।
अक्सिजनले बचाउन सकिने केही ज्यान न हो, तर हामीलाई चाहिएको कुर्सी हो । कुर्सीको युद्धमा अक्सिजनको के महत्त्व ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम

मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो

पार्टी विभाजनविरुद्ध उपेन्द्र यादव पक्ष अदालत जाने

काठमाडौं । पार्टी विभाजनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अदालत जाने

२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौँ । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु