कोरोना नियन्त्रणमा सरकार आफैं ‘सिरियस’ छैन भन्ने स्पष्ट छ



नारायण गाउँले ।

आत्तिएर त झन केही हुँदैन, तर कोभिड़को बढ्दो लहरबाट हदैसम्मको सतर्कता जरूरी छ । खासगरी कोभिड़ भनेको सामान्य रुघाखोकी मात्रै हो भन्नेहरूबाट सतर्क रहनुहोला !

रातदिन जनस्वास्थ्यबारे सोच्ने सरकार र पर्याप्त स्वास्थ्य पूर्वाधार भएका देशमा समेत यो नियन्त्रणबाहिर छ । हामी कहाँको अवस्था तपाईंहरूलाई थाहै छ ।

दोस्रो लहर विश्वभर झन बढ़ी घातक बनेर आएको छ । लामो समय र विश्वभर फैलिएकाले स्वाभाविक रूपमा भाइरस उत्परिवर्तन भएर शक्तिशाली भएको छ । नियन्त्रणमा लिन जति बढ़ी समय लाग्छ, भाइरसको प्रकार र सङ्क्रमणशीलता झन बढ्दै जाने डर हुन्छ ।
नेपाल र यहाँको सामाजिक जीवन अन्य देशभन्दा अलि फरक छ । कोभिड़अघिको तथ्याङ्क अनुसार लण्डनको भूमिगत मेट्रो ट्रेनले मात्रै बर्सेनि सवा अर्ब यात्रीलाई ओसारपसार गर्छ । यो भनेको दैनिक पचास लाखको सङ्ख्या हो । काठमाडौंको कुल जनसङ्ख्याभन्दा धेरै मान्छे त एक दिनमैं लण्डनको भूमिगत मेट्रोमा ओहोर-दोहोर गर्ने रहेछन् । संसारकै व्यस्तमध्येको हीथ्रो एअरपोर्टबाट बर्सेनि आठ करोड़ यात्रु आवतजावत गर्छन् । सुपरमार्केटको किनमेल होस् या कामको लागि सार्वजनिक सवारी साधन होस्, यहाँको जनजीवन नै एकआपसमा नठोक्किई नचल्ने खालको छ । हाम्रो देशको जनसङ्ख्या जति त वार्षिक पर्यटक नै तान्ने धेरै आकर्षण-केन्द्रहरू छन् । एउटा गाउँको जनसङ्ख्या जति त एउटै बिल्डिङ्मा काम गर्छन् । यसले महामारीलाई भूसको आगोजस्तै फैल्याउन मद्दत गर्छ । भारतकै नयाँ दिल्लीलाई हेर्ने हो भने पनि सामान्य अवस्थामा झन्डै पचास लाख यात्रीले दैनिक दिल्ली मेट्रो प्रयोग गर्ने रहेछन् । लण्डन र दिल्ली भन्दा संसारमा व्यस्त र भिड़भाड़ हुने धेरै शहर छन् ।

सौभाग्यवश हाम्रो जीवनशैली अलिकति फरक छ । हाम्रो दैनिक जीवन धेरै जसो खुला आकाश र स्वच्छ हावामा बित्छ । एक त पर्यटक नै नगण्य आउँछन्, त्यसैमा पनि विदेशी पर्यटकले कमैमात्र सार्वजनिक सवारी प्रयोग गर्छन् । तिनीहरूसँग हामी घुलमिल हुने अवस्था खासै हुँदैन । विदेशमा जस्तो हाम्रो वृद्ध पुस्ता कुनै एउटा नर्सिंग होममा प्याक भएर बस्दैन, जहाँ भाइरसको एउटा झिल्को पसोस् र डढेलो बनेर निस्कोस् । कसैको घर भेट्न जाँदा पनि आँगन या चौरमा क़ुर्चीमा अलग अलग बस्ने हाम्रो संस्कार छ । देश अझै पनि दुर्गम छ । जहाँ जति थोरै स्वास्थ्यपूर्वाधार छ, त्यहाँ बाहिरसँगको सम्बन्ध पनि त्यत्ति नै कम भएकाले महामारी फैलिने डर पनि कम छ ।

नेपालमा छिमेकी भारत या युरोपमा जस्तो सङ्क्रमणदर पक्कै हुँदैन । सङ्क्रमणको चेन प्राकृतिक रूपमैं कमजोर देखिन्छ । यस्तो अवस्थामा सङ्क्रमण नियन्त्रण गर्न पनि उत्तिकै सजिलो हुन्छ ।
यस्को अर्थ यो महामारीलाई हलुका रूपमा लिनुपर्छ भन्नेचाहिँ कत्ति पनि होइन । तर अलिकति तैयारी, अलिकति सतर्कता र अलिकति सही सूचना हुने हो भने यो लडाइँ लड्नु धेरै सजिलो हुनेछ ।

हामीकहाँ अन्य देशमा कोरोना भाइरस देखिने बेला चितवनलगायतका ठाउँमा लाखौं खर्चेर कोरोना अस्पताल बने । तर जब देशमैं कोरोना पस्यो, ती अस्पताल कुनै न कुनै बहाना देखाएर बन्द भए । झन बढ़ी खुल्नुपर्ने निजी हस्पिटलका ढोका बन्द भए । कैयौं बिरामीको एम्बुलेन्समैं मृत्यु भयो । मृत्यु हुनेमा हाम्रा आफन्त नपरेकाले हामीलाई छोएन । त्यसै पनि देशको मुद्दा पार्टी एकीकरण र विभाजन थियो । अरूले के छुन्थ्यो र ? चीनका विद्यार्थी प्लेन चढेर आए, भारतका मजदुर तीन हप्ता हिँडेर सीमासम्म त आए, तर अरू छोडम्, आमाको चितामा दागबत्ती दिनसमेत देश छिर्न पाएनन् । अरबको खाड़ी लगायत विदेशी भूमिमा महिनौं अलपत्र मजदुर र उद्धारको नाममा तेब्बर भाड़ा असुलिएका घटना अरूले बिर्से पनि भोग्नेहरूको मनमा ताजै होला ।

यो दोस्रो लहरले गाउँभन्दा शहरलाई बढ़ी छुनेछ । पर्याप्त अक्सिजन र भेन्टिलेटरमात्रै हुने हो भने पनि धेरै जीवन बचाउन सकिने रहेछ भन्ने अनुभव विश्वको छ । भारतमा अक्सिजनको अभाव देखिई सकेको छ । छिमेकको यो भयावह अवस्थाबाट शिक्षा लिएर सरकारले पूर्व तैयारी सुरु गरेजस्तो देखिन्न ।

राजनैतिक बेइमानी हाम्रो सबैभन्दा ठूलो समस्या हो । हप्तौंअघि राजधानीका स्थानीय जात्रा रोक्न खोज्ने तर आफ्नो स्वार्थ र ईगो गाँसिएका जात्रा र यात्राचाहिँ आफैले उद्घाटन गर्ने उदाहरण हाम्रै देशमा मात्र देख्न पाइन्छ । यसले आम नागरिकलाई नीतिनियमको अवज्ञा गर्न उत्प्रेरित त गर्छ नै, सरकार आफै सीरियस छैन भन्ने पनि देखाउँछ ।

अन्तिममा भोग्नुपर्ने तपाईंले हो । त्यसैले तपाईंले जे गर्न सक्नुहुन्छ, त्यत्ति चाहिँ गर्नुहोस् र सकेसम्म सुरक्षित रहनुहोस् । शुभदिन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वर्ग, नर्क, पाप-पुण्य हुन्छ कि हुँदैन ?

-डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रको कसौटीमा ईश्वर भेटिन्छ कि भेटिन्न, आत्मा भेटिन्छ कि

ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएपछि भएन खनिज सम्झौता

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सकारात्मक वार्तापछि शुक्रबार

ढोरपाटनमा हिमपात हुँदा जनजीवन प्रभावित

ढोरपाटन (बागलुङ)। भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ। शुक्रबार दिउसोदेखि

‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मलई हराउने