त्यो संविधान र यो संविधान !
केशवप्रसाद भट्टराई ।
१. सारमा ४७ सालको संविधान बढी प्रजातान्त्रिक र प्रजातान्त्रिक विधि र प्रकृयाबाट आएको थियो, मूल्य, आदर्श र मर्ममा पनि उक्त संविधान बढी प्रजातान्त्रिक थियो ।
जनताका सुझाव र परामर्श ग्रहण गर्नमा ४७ सालको संविधानले बढी जिम्मेवार, इमान्दार र संवेदनशील थियो र देखिन्थ्यो ।
किसुनजी र विश्वनाथजीहरूको उच्च प्रतिवद्धता युक्त निष्ठाले त्यसो गराएको थियो ।
२. बाहिर सतहीरूपमा मात्रै यो संविधान पूर्ण प्रजातान्त्रिक विधिबाट आएको हो । नाऊ र आवरणमा मात्रै ।
सारमा यो संविधानका रचयिता र श्रष्टाहरूले संविधान सभाको गठन देखि लिएर त्यसको कार्यप्रणाली, संविधान निर्माण प्रक्रियादेखि पारीत गर्ने र घोषणा गर्ने सम्मका चरणमा संविधान, प्रजातन्त्र र स्वयम् संविधान सभाको लिनुसम्मको हुर्मत लिइएको थियो ।
उनीहरूका तात्कालिक निजी र व्यक्तिगत नाङ्गो सत्ता स्वार्थ र महत्वाकांक्षाले संविधानको आत्मालाई नै प्रदुषित गराएका थिए ।
त्यसैले यो संविधानलाई जनताले आफ्नो मानेनन् । दलहरूले पनि आफ्नो मानेनन् !
मानेका छैनन् ।
संवैधानिक अङ्ग र आफ्नो संरक्षक र अभिभावक स्वयम् सर्वोच्च अदालतको समेत मान मर्दन गर्ने गरी आएको थियो यो संविधान !
त्यसैले यसको कोही वारेश छैन ।
कोही संरक्षक र अभिभावक छैनन् !
त्यसैले आजको स्थिति उत्पन्न भएको छ ।
३. ४७ सालको लाई लाञ्छित र अकाल मृत्यू वरणगर्न वाध्य बनाएर गरेर आएको संविधान र व्यवस्थालाई त्यसको सराप लागेको हुन सक्छ ।
त्यसैले त्यो संविधानका श्रष्टा र रचयिताको तुलनामा यो संविधानका रचयिता र श्रष्टा देश र जनता माझ लाञ्छित छन् ।
जनताबाट तिरष्कृत छन् ।
राजनीतिकरूपमा असुरक्षित छन् ।
“धर्मो रक्षति रक्षित“ को मर्म पनि यही हो ।
४. जस्तो व्यवस्था हुन्छ, जस्तो संविधान र कानुन हुन्छ , राज्य त्यस्तै बन्छ ।
सरकार र दलहरू त्यस्तै हुन्छन् ।
नराम्रो मानिसलाई पनि राम्रो व्यवस्थाले राम्रो बनाउँछ , नराम्रो व्यवस्थाले राम्रो मानिसलाई पनि नराम्रो बनाइदिन्छ ।
मानिस खराव भएर व्यवस्था खराव हुने होइन ।
मानिसको स्वभावमा रहेका दोष र खरावी हटाउन नै व्यवस्था चाहिने हो , संविधान र कानुन चाहिने हो , संरचना र विधि चाहिने हो ।
मानिसले आफैँ आफ्ना अभाव , कमी र कमजोरी हटाउन नसक्ने भएर नै उसले व्यवस्था, संविधान, राज्य, कानुन र सरकार निर्माण गरेको हो ।
राज्य अस्तित्वमा आएको हो ।