समस्या र समाधान
डा. विश्व पौडेल ।
काठमाडौंमा कुनै पनि पश्चिमी मुलुकबाट आउने मान्छेले शुरुमै नोट गर्ने यहाँँको फोहर भनेको सडक वरिपरि फ्यालिएका चकलेट ,चाउचाउका खोल, सडक छेउछाउमा भैराख्ने धुलो आदि हो। यो समस्या समाधान गर्नसकिएला कि नसकिएला?
सन १९८१ तिर शांघाइका मेयर च्याङ चमिन (पछि राष्ट्र पति भएका) को एक नम्बर एजेण्ड गर्मीमा स्थानीय जनताले खाएर फ्याँक्ने खरबुजाको बोक्राको व्यवस्थापन थियो। खरबुजा शांघाइमा गर्मीमा एकदमै लोकप्रिय फल हो, चिनियाँहरु खरबुजालाई आधा काटेर चम्चाले भित्रको फल निकालेर खान्छन, हाम्रो जस्तो सानो स्लाइस हैन। त्यसबेला खरबुजाको जथाभावी फालिएका बोक्रा कुहिएर हुने हैरानीले शांघाइ सरकार तनावमा थियो। मेयर च्याङ शिकागो भ्रमणमा जाँदा हेर्न गएको प्रमुख ठाउँनै त्यहाँको फोहोर प्रशोधन केन्द्र थियो भनेर अमेरिकी काँग्रेसम्यान बार्बर कोनेबलले लेखेका छन। म नब्बेको दशकमा शांघाईमा छदाँ सम्म त्यो समस्या समाधान भैसकेको थियो र मैले पढेका केही किताबमा उनको राजनैतिक बढुवाको मुख्य कारकमा एक शांघाइको फोहोर व्यवस्थापना समस्या समाधान गर्नसक्नु पनि थियो भन्ने लेखिएको थियो।
हाम्रोमा चाँही खाली ठुलाठुला कुरा गर्ने, तर गर्न सकिने सानो सानो काममा ध्यान नदिने चलन छ।
केही समय डा. स्वर्णिम वाग्लेसँग योजना आयोगमा हुँदा वाग्लेले यस्ता समस्या समाधान गर्न https://www.challenge.gov/ जस्ता मेकानिज्म शुरु गर्ने कुरा गरेको सम्झन्छु। ब्युरोक्रेसीले काम गर्न, नयाँँ कुरा सोच्न सजिलो छैन, नेताहरु आफ्नै आन्तरिक द्वन्दमा छन तर हाम्रो देशमा युवाहरु हजारौंको संख्यामा विदेशमा पढ्दै छन, स्वदेशमा पनि शिक्षा अघी बढेको छ। हामीले पनि यस्ता कामका लागि थोरै कोषबाट शुरु गर्ने र त्यसलाई बढाउदै लैजाने गर्नसक्छौ भन्ने सोचाइ डा. वाग्लेको थियो। त्यसबेला पचास करोड रुपैयाँको उद्यमशिलताको कोष पनि थियो, तर खर्च भएको थिएन। डा. वाग्लेको tenure छोटो थियो, त्यो धेरै काम धेरै अघि बढ्न पाएन।
नयाँँ सरकार आएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमको बेला पनि एउटा राम्रो मौका देखेको थिएँ। गोकर्ण विष्टजी मन्त्री हुनुभएको थियो र मलाई पनि उक्त कार्यक्रम कसरी गर्दा उपयुक्त होला भन्ने सरसल्लाहमा बोलाई राख्नुहुन्थ्यो। मेरो सल्लाह सधैंं पहिला काठमाडौंमा वा नजिकै देख्ने ठाउँमा यो खर्च गर्नुस्, पछि यसको शिक्षा अरु ठाउँमा लागू गर्नुहोला भन्नेहुन्थ्यो।
प्रधानमन्त्री रोजगार योजनाले पहिलो वर्ष ३ अर्ब, दोश्रो वर्ष ५ अर्ब र गएको वर्ष ११ अर्ब, जतिको बजेट पाएको थियो। काठमाडौंमा चिटिक्क परेका सडकको छेउमा फोहर देख्दा अहिले पनि वेरोजगार मान्छेहरु र त्यो दश एघार अरबको फन्ड सम्झन्छु। मान्छे पनि छन, पैसा पनि छ, तर काममा ध्यान दिएर एकपटकमा एउटा समस्या समाधान गरेरै छोड्छु भन्ने अठोट लिने युगद्रष्टा मेयर वा अन्य कोही आउन समय लागिराखेको छ।