मानिसको भौतिक मोहले चोट पुर्याएको पृथ्वीको दृष्यचित्र
जब हामी बहुमूल्य धातुका लागि, कोइलाजन्य ऊर्जाका लागि अथवा खनिज पदार्थका लागि पृथ्वी खोतल्छौँ, हामीले अर्को कुनै समयको अध्याय समाप्त पारेका हुन्छौँ । लेखिका एस्ट्रा टेलरका शब्दमा भन्दा यी खनिजहरूले ’खाँदिएर बसेका पूर्वकाल’ जनाउँछन्, तिनले कुनै कालको ज्वालामुखीको या उष्णप्रदेशीय जङ्गलको या अति तातो पानी बाहिर निस्कँदा खाँदिन पुगेको समयको कथा बोकेका हुन्छन् ।
ती त्यस्तो अवस्थामा पुग्न दशौँ लाख वर्ष लाग्छ तर तिनलाई मशिन वा विस्फोटक पदार्थको प्रयोग गरेर उत्खनन गरेर निकाल्न क्षणिक प्रयत्न गरे पुग्छ । मान्छेहरूले आफ्नो पैताला मुनिको जमिनभित्र गुप्त धन छ भन्ने महसुस गरेदेखि नै त्यहाँ भित्र के छ भन्ने खोज्न पृथ्वी खोतलिरहेका छन् । खानीले हाम्रो आधुनिक जीवनको हरेक अंश सम्भव तुल्याइदिएको छ। तर त्यसले प्राकृतिक संसारलाई असर पारेको छ । जब खानीले पारेको असर तपाईँ आफ्नै आँखाले हेर्नुहुन्छ अनि त्यसपछि तपाईँ आफूसँग भएका चिजबिजबारे सोच्न थाल्नुहुनेछ ।
यी शब्दहरू पनि तपाईँकहाँ भौगर्भिक माध्यमबाटै आइपुगेका छन्ः यो स्क्रीनको पछाडि राखिएको धातु दशौँ लाख वर्षदेखि चट्टानभित्र बन्द भएर रहेका वस्तु हुन्। र अहिले पनि संसारको कुनै कुनामा ती श्रोतका दोहन अझ बढी गहिरो खनेर भइरहेको छ । तलका केही चित्रमा मानवीय गतिविधिका कारण पृथ्वीको सतहमा लागेका चोटहरू छन् ।
कुनै अप्राकृतिक रङ्गिन बाँध छन् त कुनै मानवताका औँलाका चक्रजस्ता बनेका भू तस्बिरहरू । यदि प्राचीन कच्चा पदार्थ र खनिजहरू खाँदिएको भूतकाल हो भने दुःखपूर्वक भन्नुपर्छ अब दागयुक्त भविष्यत्काल बाँकी छ।
रिचर्ड फिशर र जेभियर हर्सफेल्ड
बीबीसी फ्यूचर