लाज
डा. गोविन्दशरण उपाध्याय ।
जव देशको कार्यकारी प्रमुख भएका मान्छेहरू (श्रीबाबुराम, पुष्पकमल, माधव, केपीहरू) आफ्नो देशको स्वास्थ्य क्षेत्रलाई अविश्वास गरेर स्वास्थ्य परीक्षणका लागि विदेश गएको समाचार पढ्छु, मनमा असाध्यै पीडा हुन्छ । आफ्नो देशको स्वास्थ्य प्रणाली र चिकित्सकहरूमा अविश्वास गर्ने व्यक्तिहरू सर्वोच्च नेतृत्वमा पुग्ने र पुर्याउने हामी जनतालाई धिक्कार छ भन्न मन लाग्छ ।
प्राण र स्वास्थ्य सबैको लागि प्रिय हुन्छ । एउटा भौतिक प्राणीका रूपमा देशको सर्वोच्च व्यक्ति र एउटा सामान्य भिक्षुकमा कुनै अन्तर हुँदैन । दूवै नेपाली नागरिक हुन् । एउटा व्यापारी विदेश गएर स्वास्थ्य परीक्षण गर्छ भने जायज मान्न सकिन्छ तर देशको सर्वोच्च पदमा पुगेको व्यक्ति (समाजसेवी)ले त्यसो गर्दा देशका नागरिकहरूको शिर झुक्छ भने चिकित्सकहरूको मनोबलको कुरा नै गर्न सकिन्न ।
नेपाल सरकारले केही सकारात्मक निर्णयहरू गरेर देशका गरीव जनतालाई स्वास्थ्य क्षेत्रमा सहुलियत दिएको छ तर त्यस्तो सहुलियतमा पनि राजनैतिक पहुँच भएका डाँकाहरूको चलखेल छ । स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गर्ने संविधानका उपरोक्त धाराहरू मरेका छन् किनभने यी धाराहरूले जनताको कुरा गर्छन् नेताहरूलाई धाराहरूले छुंदैन ।
मैले देशको नेतृत्व गर्ने व्यक्तिहरूले उपचार गर्नुहुँदैन भन्ने तुच्छ विचार राख्दिन तर जनता मर्ने र नेता बचाउने व्यवस्थाको अन्त्य हुनु जरुरी छ । अबका मौलिक राजनैतिक दलहरूले यो कोर्समा सुधार गर्नुपर्छ । नत्र देशले सधैं लाजमा बाँच्नु पर्छ । हाम्रो देशमा अमेरिका, बेलायत वा चीनजस्तो स्वास्थ्य सुविधा नहोला तर यदि जीवनका लागि नै उपयुक्त छैन भने पूर्णतया बन्द गरिदिनुपर्छ, होइन भने जनतालाई मृत्युको मुखमा छोडेर आफूचाहिं विदेशी स्वास्थ्य संस्थाहरूमा जाने नेताहरू विश्वासघाती हुन् ।
मान्छेले स्वास्थ्यका लागि सबै थोक छोड्न सक्छ । यदि नेपालका चिकित्सक र स्वास्थ्य प्रभागहरू नेताका लागि उपयुक्त वा विशवासनीय छैनन् भने तिनलाई मानवोचित बनाउने ठाउँमा (सरकारी मन्त्री) बसेको बखत किन सुधार गर्ने प्रयत्न गरिएन ? यदि नेपालका स्वास्थ्य संस्थाहरू राम्रा छन् भने नेताको व्यबहारले देश र जनतासंग विश्वासघात गरेको छ र हुनेखानेहरूले विदेशमा जान सक्ने बाटो खोलेको छ ।
केही अपवादलाई छोडेर कुनै पनि चिकित्सकले रोगीको रोग बढेको देख्न चाहन्छ भन्ने मलाई पटक्कै लाग्दैन । केही कृतघ्न, स्वार्थी र धनलोलुप चिकित्सक र राजनैतिक नेतृत्वको पापको भारी सबै चिकित्सकहरूलाई बोकाउनु गलत मात्र होइन अन्याय हुन्छ । सरकारले जनताको पक्षमा निर्माण गरेका कानुन मान्नु सबैको कर्तव्य हो, नत्र दण्डित हुनुपर्छ । चिकित्सकहरूले उपलब्ध साधन तथा स्रोतहरूको उपयुक्त प्रयोग गरेर स्वास्थ्य सुविधा दिने हो । स्वास्थ्य क्षेत्रलाई व्यवसाय बनाउँनु मौलिक हक हो तर जीवनदायी औषधि–उपचारमा न्यायोचित मनपरितन्त्रमा नियन्त्रित गर्न नसक्नु सरकारको लाचारी हो अथवा साँठगाँठ हो यही साँठगाँठ बुझेकाहरू विदेश लाग्छन् ।
मैले व्यक्ति विशेषको कुरा पटक्कै गरेको होइन । राजाका दोषहरू देख्नेले राजपरिवारका अधिकांश सदस्यहरूले वीर वा शिक्षण अस्पतालमा उपचार गराएको तत्थ्य पनि भुल्नुहुँदैन । सामन्तहरूले नेपाल र नेपालीलाई विश्वास गर्ने तर तथाकथित समाजवादी र साम्यवादीहरूले विश्वास नगर्ने कस्तो अचम्म ? अब त राजनीतिको डाडुपनियो हातमा लिएको २८ वर्ष वितिसकेका छन् । शिशु प्रजातन्त्र भनेर आफ्नो जगहँसाई नगरौं । २८ वर्षको कुनै पनि व्यक्ति वा समाज शिशु हुँदैन । आज जे–जति राम्रा न नराम्रा कुराहरू छन् ती सबै शिशु–प्रजातन्त्रका सन्तान हुन् । स्वीकार गरौँ, देशलाई अझैं लज्जित हुनवाट जोगाऔं ।