‘मन भन्नु नै दुःख हो’



महेश श्रेष्ठ ।

स्वेच्छाले कोही दुःखी हुँदैन । दुःख हाम्रो चुनाव होइन । आनन्द हाम्रो चुनाव हो । हामी यसकारण दुःखी छौं की हामी आनन्दको, सुखको चुनाव गर्छौं । वास्तवमा जहाँ चुनाव हुन्छ, त्यहाँ दुःख अनिवार्य छ । दुःखबाट मुक्ति पाउन आनन्दको चाहा गर्ने होइन । दुःखबाट मुक्ति पाउने एक मात्रै उपाय भन्नु मनको स्वभावलाई चिन्नु हो । हामी आफ्नै मनको स्वभावसँग बेखबर छौं, त्यसैले दुःखी छौं । व्याकुल छौं । मनको स्वभाव आफैंले निरीक्षण गरेर थाहापाउनु पर्ने कुरा हो । अनेक अवसरमा पूर्वजानकारीले आफूभित्रको संसारलाई चिन्ने सन्दर्भमा बाधा खडा गर्छ । यो तथ्यलाई होसमा राखेर अध्यात्मका अभिव्यक्तिहरूलाई पढ्न राम्रो हो । तथापी अनुभव गरेका मानिसहरूको अभिव्यक्तिबाट केही जानकारी बटुल्न हितकरै हुने हुँदा मनको स्वभावका सन्दर्भमा केही चर्चा गरेको छु ।

१. मन द्वन्द्व हो

आममानिसले कुनै पनि कुरा गर्छ, कुनै सम्बन्ध निभाउँछ वा कुनै कुरा छनौट गर्छ भने केवल आधा मनले गर्छ । एक मनले कुनै कुरा गर्न खोज्छ, अर्को मनले त्यही कुरा गर्न मन गर्दैन । जसलाई प्रेम गर्छौं,अर्को मनले उसैलाई घृणा पनि गर्छौं । जुन चिजमा आशक्ति हुन्छ, मनको कतै कुनामा त्यो कुराको छुटकाराको चाहना पनि हुन्छ । मनले चाहने र नचाहने कुराको पक्ष र विपक्षमा प्रतिशतको मात्रै भिन्नता हुन्छ । विचार र चिन्तन बिना मनको अस्तित्व सम्भव छैन । चिन्तन भन्नु पक्ष र विपक्ष, नाफा र नोक्सान अनेक कुराको सन्दर्भमा गरिएका विचारको द्वन्द्व हो । मनको यस्तै चुनाव गर्ने स्वभावकै कारण दुःख अनिवार्य हुन्छ । वास्तवमा मन हुनु नै दुःख हो । मन छ भन्नु नै तनाव हुनु हो । मन र आनन्द एक अर्काको विकल्प हो । दुवै एक साथ सम्भवै हुन्न । आन्नद त केवल अमनको अवस्थामा मात्रै सम्भव हुन्छ ।

२.मनसँग जमिनको जस्तै स्वभाव छ

जसरी जमिनमा केही बोटबिरूवा रोपिएपछि जमिनको उर्वरताले त्यो बढ्न थाल्छ । त्यस्तै मनमा केही विचार वा मनोभावना रोपिएपछि त्यो आफैं बढ्दै जान्छ । हाम्रो मन निक्कै उर्वर जमिन हो । तर समस्या चाहिं कहाँनेर हो भने हामीसँग मनरूपी जमिनमा चाहिएको कुरा रोप्ने र नचाहिएको कुरा उखेल्ने वा नरोप्ने क्षमतामा चाहिं कमी छ । हाम्रो मनमा के के रोपिरहेका छौं, त्यो हाम्रो बसमै हुन्न । अनियन्त्रित रूपमा अनजानमै निक्कै तीव्रतर रूपमा हामीले सीमित रूपमा उपयोगी र असंख्य रूपमा नराम्रा विचार र मनोभावना पलप्रतिपल रोपिरेका हुन्छौं । हामीमध्ये अधिकांशको मन अनेक अनेक विषालु र काम नलाग्ने झार र बृक्षहरूले भरिएको जंगल जस्तै हो । चाहिएको रूख, बोटबिरुवा मात्रै हुने हो भने जंगलबाट हामीलाई निक्कै फाइदा लिन सक्ने थियौं । तर हरेकपल मनरूपी जंगलमा काम नलाग्ने र हानी पुर्याउने विचार र मनोभावना बढ्दै फैलँदै गर्दा हाम्रो जीवन निक्कै अस्तव्यस्त पीडादायी भइरहको हुन्छ ।

३.मन एक तीव्र प्रक्रिया हो

मनको सन्दर्भमा बुझ्नुपर्ने अर्को कुरा भनेको मन एक अनियन्त्रित उडानको प्रक्रिया हो, तसर्थ स्थिरतामा मनको अन्त्य हुन्छ । हामीसँग सम्झनाको यात्रामा निस्कन लाखौं माइलको राजमार्ग झैं वर्षौ लामो विगत छ । कल्पनाको उडानका लागि खुल्ला अन्तरिक्षमा झैं जुनसुकै दिशामा जान स्वतन्त्र छौं । वर्तमानको अहिलेको यो क्षण केवल विन्दु हो । वर्तमानमा ध्यानलाई सम्पूर्ण रूपमा केन्द्रित गरिएको अवस्थामा मनले गति गर्न नसक्दा मनको अस्तित्व हराउँछ । समस्या चाहिं फेरि उही मनसँगको आशक्ति हो । जसरी यो शरीर नै ‘म’हुँ भन्ने आशक्ति छ, त्यो भन्दा निक्कै गहिरो रूपमा ‘मन’भन्नु नै ‘म’हुँ भन्ने आशक्ति हुनुको कारणले मन विलय भएको क्षणमा योगीले मृत्युको अनुभव गर्छ । मनप्रतिको त्यही आशक्ति नै, ध्यानमा बाधा हो । अमनको आनन्दपूर्व मृत्यु नजिक आउँदै गर्दा बेचैन छ । अज्ञातको डर । त्यही बेचैन, त्यही डर नै वर्तमानमा पलप्रतिपल होस्पूर्ण भएर बाँच्नुको सबैभन्दा ठूलो अवरोध हो ।

४. मन मृगतृष्णा हो 

बाँच्नका लागि अनेक कुराहरूको आवश्यकता पर्छ । तर हामीले जीवनलाई यस्तो बनाएका छौं किमानौं हामी आवश्यकताहरू पूरा गर्न बाँचेका छौं । एउटा आवश्यकता पूराभयो, एकपछि अर्को गरेर आवश्यकताहरू लहर लागेर आउँछ । वास्तवमा मानिसका केही सीमित आवश्यकता मात्रै हुन्छ । नब्बे प्रतिशतभन्दा बढी आवश्यकताहरू त मनको स्वभावका कारण उत्पन्न भएको हो । मन भन्नु नै भएकोमा सन्तुष्ट नभई नभएको कुरा चाहनु हो । वस्तुका सन्दर्भमा मात्रै नभई समयका सन्दर्भमा यो लागू हुन्छ । आफूसँग भएको अहिले र यो क्षणमा रमाउँदैन मन । तर हुँदैन भएको कल्पना र सम्झना उसको लागि प्यारो छ ।

मनको यही असन्तुष्टिको स्वभावका कारण हामीले अवश्यकता र महत्वकांक्षा वा लालसाबीच भिन्नता पाउँदैनौं । अवश्यकताको एउटा सीमा हुन्छ तर महत्वकांक्षा वा लालसा, नुनपानी खाएर तिर्खा मर्नुको साटो झन् झन् तिर्खा बढ्दै जाने जस्तै हो । यसलाई यसरी बुझौं, मन हुनुको कारण नै जीवन जस्तो छ हामीले त्यसलाई त्यस्तै रूपमा स्वीकार्न नसकेका हौं । मनका कारण नै हामी कहिल्यै नटुङ्गिने दौडमा छौं । हाम्रो लक्ष्य क्षितिज जस्तै परपर सरी रहन्छ । कहिले नभेटिने गरी सरी रहन्छ ।

जीवनमा एकचित्तले कर्म गर्नुपर्छ तर प्रतिफल हाम्रो हातमा छैन भन्ने बोधका साथ । कर्म प्राथमिक हो, उद्देश्य होइन । यात्रा प्राथमिकता हो लक्ष्य होइन । टाउकोमा लक्ष्यरूपी भविष्यको बोझ छ भने यात्रामा कसरी आनन्द हुन्छ । कहीँ पुग्नु छैन, कतै जानु छैन भनि आत्मसात गरेर यात्रा गर्दा यात्रा, यात्रा नरहेर घुमफिर बन्छ । उत्सव बन्छ । यस्तो बाटोले निरन्तरको यात्रामै पनि विश्रामको आनन्द मिल्छ ।

५. मन समाजिक आयाम हो 

हामीलाई लागेको जस्तै मन व्यक्तिगत आयाम मात्रै होइन । मन भन्नु व्यक्तिगत आयाम कम र हामीभित्रको सामाजिक आयाम बढी हो । उदाहरणका लागि संसारभर जहाँ रहेपनि सबै नेपालीको सोच्ने तरिकामा केही समानता हुन्छ । अर्थात् हामीसँग अलिकति नेपाली मन छ । संसारभरका हिन्दूहरूसँग अलिकति हिन्दू मन छ । वास्तवमा हाम्रो मन कस्तो हुन्छ भन्ने कुरा समाजिक आयामहरू जस्तै राष्ट्रियता, धर्म, जाति, पेशा, उमेर, लिङ्ग, भूगोल, अध्ययन गरिएको विषय, संगत इत्यादिले निर्धारण गर्ने कुरा हो । समाजको अर्थ मानिस समूह समूहमा विचार वा स्वार्थको आधारमा विभाजित हुनु हो । हरेक समूहको आ–आफ्नै स्वार्थ हुन्छन् । यस्ता स्वार्थहरू अनेक अवस्थामा बाझिएका हुन्छन् । समाजको अर्थ नै सामूहिक अन्तर संघर्षहो । तसर्थ समाजिक जीवन दुःखको कारण हो । गहिराइमा हेर्ने हो भने संसारिक जीवन भन्नु भौतिक वस्तुको उपभोग होइन,मनको उल्झन हो । अनि अध्यात्म भन्नु मनबाट मुक्त हुनु हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिको उपस्थितिमा सिंहदरबारको मूलगेट अगाडि यसरी मनाइयो पृथ्वीजयन्ती, तस्बिरमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण

काठमाडौँ । आज पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवस । नेपाल

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा