कामका लागि कार्यालय जान नसक्ने तर पार्टी प्यालेसमा मान्छे बोलाएर अरुलाई गाली गर्दा लज्जाबोध नहुने !



नारायण गाउँले ।

यसो सोच्छु ! बेलायतले भ्याक्सिनेशन सुरु गरिसकेको छ । विश्वकै उत्कृष्टमध्येको स्वास्थ्यसेवा, त्यो पनि निःशुल्क उपलब्ध छ । भनिन्छ, एक दिनको बन्दले झन्डै हाम्रो वार्षिक बजेटभन्दा धेरै नोक्सान हुन्छ ।

तैपनि, बचाउन सकिने सम्भावना हुँदासम्म एउटा मान्छे पनि मर्न नपरोस् भन्ने सोच सरकार र विपक्षको छ । लकडाउन कड़ा बन्दै छ, खाद्यान्न र औषधिलगायतका पसलबाहेक अन्य बन्द छन् । वर्षकै ठूलो चाडमा समेत मान्छेले एक-अर्को परिवार भेट्न पाएनन् । लकडाउन भन्यो, चुप लाग्यो पनि छैन । निम्न-मध्यम वर्गलाई दह्रो आर्थिक टेवा छ । एक वर्षका लागि काममा जान नसके पनि सरकारले तलब दिएको छ । बिजनेशहरूलाई अनुदान र ऋण छ । स्कुललाई कसरी सुचारु राख्ने भन्नेमा दिनहुँ बहस छ । हरेक स्कुलमा परीक्षण केन्द्र र हरेक विद्यार्थीको नियमित परीक्षण गर्ने तैयारी हुँदै छ । कोभिड़ले भ्वाङ् पारेको अर्थतन्त्र पनि उकास्नु छ, राज्यको बढेको ऋण पनि कन्ट्रोल गर्नु छ । सरकारलाई भ्याई नभ्याई छ !

हाम्रो देशको अवस्था भने अनौठो छ । यस्तो जटिल महामारीको समय छ । जनस्वास्थ्यदेखि अर्थतन्त्रसम्म गम्भीर चिन्तन र छलफल गरेर आवश्यक नियमकानुन र निर्देशन दिनुपर्ने निकाय संसद भङ्ग छ । एक हुल हाम्रा नेता रानीपोखरी ओलीले होइन कालीगढ़ले बनायो भन्छन्, हामी परर ताली बजाउँछौं । देशका प्रधानमन्त्री उत्तेजित हुँदै प्रचण्डलाई नुहाइदिँदा साबुनै सिद्धियो भन्छन्, हामी फेरि परर ताली बजाउँछौं ! हिजोसम्म संसार नै आत्तिने गरी काम भएको थियो, आज एक्कासि कामै गर्न नदिएको, त्यो पनि आफ्नै पार्टीले भन्ने छ । हाम्रो ताली हिजो पनि थियो, आज पनि छ ।

कामका लागि कार्यालय जान नसक्ने प्रधानमन्त्री पार्टी प्यालेसमा मान्छे जम्मा गर्दै आफ्नै पार्टीका सांसदलाई गाली गर्दै हिँडेका छन् । प्रतिपक्षलगायतका दल पनि जिन्दाबाद र मुर्दाबादमैं छन् । यसअघि पर्दाभित्र लुक्ने छिमेकी देशहरू खुलेरै खेलमैदानमा छन् । कोही चुनाब हुन्न भन्छ, कोही पचास लाख भोट आउँछ भनेर ठोकुवा गर्छ । तिनका भेला र ऱ्यालीका तस्बीरहरू हेर्दा अवश्यम्भावी स्वास्थ्य दुर्घटना सम्झेर मुटु काँप्छ ! भोलि देशको स्वास्थ्यपूर्वाधारले नधान्ने स्थिति आउँदा मर्ने त्यो हो, जसले सरकारले तोकेको धरौटी राख्न सक्दैन । धरौटी सम्म जोडेर पनि नपुग्ला, बेडका लागि सिफारिश र सोर्स नपुगेर पनि कतिको ज्यान जान सक्छ ।

यता लकडाउनको एउटा नियम अलि कड़ा बनाउँदा शासकले जनतासँग माफी माग्छन् । हामीकहाँ कसैले लज्जाबोध गर्दैन । कसैले यो निकृष्टतम राजनीतिका लागि आफू दोषी छु भन्दैन । हाम्रा नेता उल्टो छाती फुलाएर संसारकै उत्कृष्ट काम गरिरहेको भाषण गर्दै छन् । हामी त हाम्रा गौरवशाली पार्टी, त्यसको अग्रगामी गुट र क्रान्तिकारी नेताका लागि शहीद हुन त्यसै पनि तयार छौं ! देश, जनता र दाजुभाइ त पार्टीपछि आउने प्राथमिकता हुन् ! जय होस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ