नेपालको भूराजनीतिको शिक्षा खै किन नबुझेका हौँ हामीले ?



केशवप्रसाद भट्टराई ।
१. पृथ्वीनारायण शाहले क्याप्टेन किनलोक नेतृत्वको ब्रिटिस सेनालाई त हराए–तर उनलाई थाहा थियो–सारा संसार खाएर भारतमा शासन गर्न आउन समर्थ अङ्ग्रेजहरूसँग शत्रुता राखेर नेपालको एकीकरण र सुरक्षा सम्भव छैन ।

त्यसैले क्याप्टेन किनलोकको पराजय लगत्तै किनलोकले आफ्ना उच्चाधिकारीहरू समक्ष युद्ध विवरण र गोर्खाली सेना र सरकारबारे विस्तृत जानकारी पुर्याउन नपाउँदै पृथ्वीनारायण शाहले आफ्ना दूतहरू अङ्ग्रेज अधिकारीहरूसँग भेटघाट र वार्ताकालागि पठाइसकेका थिए ।
किनलोकले आफ्ना कुरा राख्नु भन्दा अघि नै उनले अङ्ग्रेज अधिकारीहरूलाई आफ्नो पक्षमा पारिसकेका थिए ।
परिणाममा किनलोक त झन् नेपालमाथि आक्रमण गरेकोमा दण्डित पो भए – अङ्ग्रेज सरकारबाट ।

२. बहादुर शाहले अङ्ग्रेजहरूसँग मित्रता राख्दै नेपाललाई टिष्टा र सतलजसम्म विस्तार गरे ।
अङ्ग्रेजहरूसँग विश्वास बढाउँदै अङ्ग्रेज सरकारमै आश्रित राज्यहरूलाई पनि नेपालमा मिलाए ।
तिब्बतमा नेपालको प्रभाव र वर्चस्वलाई स्थापना गरे ।
पृथ्वी नारायण शाह र बहादुर शाहको भूराजनीतिक शिक्षालाई नबुझेका भीमसेन थापाले नेपालको एक तिहाई भूभाग गुमाए ।
३. जङ्ग बहादुर रहरले बेलायत र फ्रान्सको भ्रमणमा गएका थिएनन् ,
भारत स्थित कम्पनी सरकारसँगको सम्बन्धको मात्रै भर नपरेर सोझै ब्रिटिस सरकार र फ्रान्ससँग सम्बन्ध विस्तार गरेर नेपालको स्वतन्त्रता र प्रभुसत्तालाई विस्तार र सुरक्षित गर्न चाहन्थे ।
उनी सफल पनि भए ।
साथै, बाँके, बर्दिया, कैलाली र कंचनपुर लगायतका नेपाली भूभाग फिर्ता ल्याए ।

४. मोहन समशेर, राजा त्रिभुवन र मातृकाप्रसाद कोइरालाले नेपालको भूराजनीतिको जटीलतालाई बुझेका थिए ।
त्यसैले भारतसँग निकट सम्वन्ध राख्दै,भारतीय दवावलाई सम्भव भएसम्म सामना गर्दै, अमेरिका, बेलायत र फ्रान्स जस्ता मुलुकसँगको सम्वन्धले त्यो दवावलाई खेप्न सक्ने अवस्थामा मुलुकलाई लगेका थिए ।
त्यसैले भारतका छ सय राजा रजौटाहरूको स्वतन्त्र अस्तित्व समाप्तहुँदा नेपाल स्वतन्त्र रहिरह्यो ।
भारत स्वतन्त्र हुनु पूर्व तत्कालीन समयका विश्व शक्ति र राष्ट्र सङ्घ सुरक्षा परिषदका स्थायी सदस्य–अमेरिका र बेलायतसँग नेपालको दौत्य सम्वन्ध स्थापना भैसकेकोले नेपाल भन्दा धेरै ठूला र शक्तिशाली भारतीय राज्यहरू भारत र पाकिस्तानमा विलय हुँदा पनि नेपाल स्वतन्त्र रहिरह्यो ।

५. माओले नेपाललाई चीनकै ( तिब्बत ) कै अंग त दावी गरे तर तिब्बतसँगै नेपाल पस्ने आँट गरेनन् ।
कारण त्यतिखेर नेपालको अमेरिका र वेलायत साथै फ्रान्ससँग समेत दौत्य सम्बन्ध स्थापना भैसकेको थियो ।
नेपाललाई आर्थिक सहयोगगर्ने पहिलो राष्ट्र अमेरिका थियो ।
शीत युद्धको अत्यन्त जटील अवस्थामा राजा महेन्द्रले भारतसँगको सम्वन्धलाई पहिलो प्राथमिकतामा त राखे नै तर चीनलाई पनि विश्वासमा लिएरै भारतसँगको त्यस्तो सम्बन्धलाई कायम राखे ।

६. राजा महेन्द्रको कूटनीतिको अर्को महत्वपूर्ण पक्ष के थियो भने ( भारत र चीनबाट नेपालको स्वतन्त्रता र प्रभुसत्तामाथि पर्न सक्ने सम्भावित दवावलाई धान्न अमेरिका र वेलायत जस्ता मुलुकसँगको सम्बन्धको मूल्य उनले बुझेका थिए ।
त्यसलाई निर्वाह पनि गरे ।
परिणाम नेपालको पहिलो निर्वाचित सरकारलाई सैन्य हस्तक्षेप गरेर आफ्नो प्रतक्ष शासन शुरू गरेको केही महिना भित्रै प्रजातन्त्रको जननी भनिने वेलायतकी महारानी नेपाल भ्रमणमा आइन् ।
कुनै मुलुकको आन्तरिक राजनीतिसँग बेलायतको विदेश नीति आश्रित नहुने जवाफ वेलायतको थियो ।
राजा महेन्द्रको अमेरिका र सोभियत सङ्घसँगको सम्बन्ध पनि त्यस्तै मित्रतापूर्ण थियो क्ष्
पूर्व पश्चिम राजमार्ग निर्माणमा अर्थात यौटै परियोजनामा उनले भारत, वेलायत, अमेरिका रूस सवैलाई जोडे ।

७. परराष्ट्र नीतिमा राजा वीरेन्द्रले राजा महेन्द्रकै नीतिको अनुशरण गरे तर त्यसमा त्यत्तिकै प्रभाव र शक्ति भर्न सकेनन् , सन्तुलन मिलेन ।

८. नेपालमा भारत, चीन, अमेरिका जस्ता मुलुकको प्रतिष्पर्धा हुन्छ, प्रतिद्वन्द्विता रहन्छ ।
यो नेपालका कुनै दल वा सरकारलाई सोधेर उनीहरूले त्यस्तो प्रतिष्पर्धा गर्ने हैनन् ।
नेपाललाई मन परे पनि गर्छन् र मन नपरे पनि गर्छन् ।
सामाजिक सञ्जाल र अखवारका पानामा र दलहरूका प्रचार सामग्रीमा र युट्युब च्यानलमा हामीले सरापेर , गाली गरेर उनीहरूले त्यो रोक्ने होइनन् ।

९. अफगानिस्तान, इराक वा लिबियाका जनता र सरकार हामी भन्दा धेरै लडाकु, धेरै राष्ट्र भक्त र धेरै लामो इतिहास भएका मुलुक हुन् , तर आज‘‘. भनिरहनु पर्दैन ।
त्यसैले ठूला र शक्तिशाली मुलुकहरू वीच नेपालमा हुने त्यस्तो प्रतिष्पर्धा र प्रतिद्वन्द्वितावाट आफ्नो मुलुकको प्रतिरक्षा र राष्ट्रिय हितहरूको सुरक्षाको रणनीति नेपालको दायित्व हो– उनीहरूको होइन ।

१०. त्यसैले मैले भनिरहेको हो ( भारत नेपालको पहिलो प्राथमिकताको छिमेकी र मित्र हो ।
चीन दोस्रो हो ।
चीन र भारत नेपालका लागि बराबरका छिमेकी होइनन् , हुनै सक्दैनन् ।
अमेरिका, वेलायत, जापान आदि मुलुक नेपालका तेस्रा छिमेकी हुन् ।
अमेरिका त भारतसँगै पनि नेपाल पस्छ र चीनसँग पनि पस्छ –उनीहरूलाई भाउ दिएर पनि पस्छ र नदिएर पनि ।
अर्थ हो अमेरिका भारतमा पनि छ र चीनमा पनि ।

११. बुझ्नु पर्दछ–चीनमा साम्यवादी सत्ता स्थापना हुनुभन्दा अघि त्यसको सम्भावना नरहँदै, नदेखिदै नेपाल र अमेरिका वीच दौत्य सम्वन्ध स्थापना भइसकेको थियो ।
त्यसैले चीनको साम्यवादी शासनको कारणले अमेरिकाकालागि नेपालको भूराजनीतिक महत्व रहेको होइन ।
भारतमा बृटिस उपनिवेश स्थापना हुँदै गर्दा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे ।
जुन बखत नेपालको एकीकरण भइरहेको थियो त्यही बखत अमेरिकीहरू पनि औपनिवेशिक ब्रिटिस शासकहरू विरूद्ध स्वतन्त्रता युद्ध लडिरहेका थिए ।
पहिलो र दोस्रो विश्व युद्धमा नेपाली सेनाको बहादुरीले अमेरिकामा नेपालको गौरव र सम्मान बढेको थियो ।
त्यसैले दुई मुलुकलाई निकट गराएको थियो ।
मुलुकको परराष्ट्र नीति निर्माण र संचालनमा राजनीति, विचार, धर्म, कुण्ठा, आग्रह, भ्रम, झूठ र घृणालाई स्थान दिनु भनेको पनि राष्ट्रघात नै हो ।
राष्ट्रले विवेक पनि प्रयोग गर्नु पर्दछ र सन्तुलन पनि निर्वाह गर्नु पर्दछ ।
एक अर्का छिमेकीहरू वीचको सम्वन्धमा एक अर्काको विश्वास र सद्भावमा असर पर्न नदिन एक अर्का वीचको सम्वन्धमा पारदर्शिता पनि निर्वाह गर्नु पर्दछ ।
जब राष्ट्रले परराष्ट्र नीतिमा विवेक र सन्तुलनलाई तिरस्कार गर्दछ, प्रतक्ष वा परोक्ष वाह्य हस्तक्षेपको ढोका खुल्दछ ।

१२. परराष्ट्र नीतिमा मुलुकको हित र स्वार्थ रक्षा मात्रै हुन्छ , विचार, आदर्श , नैतिकता र अनैतिकता भन्ने केही हुन्न ।
परराष्ट्र नीतिमा विवेक, सन्तुलन र राष्ट्रिय स्वार्थलाई सर्वोपरी राखेर हिड्न साकिएन भने आन्तरिक राजनीतिमा हस्तक्षेप त मामूली कुरो मात्रै हो ।

१३. अन्त्यमा, हिंसा र हत्याको बलमा आन्तरिक राजनीतिक सवालहरूमा छिनोफानो खोज्ने मुलुकले वाह्य हस्तक्षेप आमन्त्रण नगरेको र नबेहोरेको कुनै उदाहरण भए भनिदिनोस् न !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिको उपस्थितिमा सिंहदरबारको मूलगेट अगाडि यसरी मनाइयो पृथ्वीजयन्ती, तस्बिरमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण

काठमाडौँ । आज पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवस । नेपाल

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा