यी हुन् विश्वलाई परिवर्तन गर्न सघाउने खोप
एउटा ठूलो रोगको प्रकोप कति धेरै घातक र अस्थिरताको कारक बन्न सक्छ भन्ने कोरोनाभाइरस महामारीले अनुभव गराएको छ । आउँदै गरेका खोपका माझ यतिखेर मानिसहरूको एउटै आशा छिट्टै सामान्य जनजीवनमा फर्कने छ । तर खोपको सहायताले सामना गरिएको यो पहिलो रोग होइन । यहाँ हामीले मानिसहरूको जीवनलाई रूपान्तरण गरेका केही खोप कार्यक्रमहरूलाई फर्केर हेरेका छौँ
बिफर
खोप अभियानको अहिलेसम्मकै ठूलो शत्रु बिफर हो तर यो सबैभन्दा ठूलो सफलताको कथा पनि बन्यो । बीसौँ शताब्दीमा मात्र यस रोगले ३० करोड मानिसहरूको ज्यान लिएको थियो । र त्यसअघि समेत दशौँ लाखमा मानिसहरूले यसका कारण ज्यान गुमाएको विश्वास गरिन्छ । निकै सङ्क्रामक बिफरको भाइरसको हमलामा पर्ने झण्डै ३० प्रतिशतले ज्यान गुमाएका थिए । यसले धेरैजसो शरीरभर पीडा दिने गिर्खाहरू उत्पन्न गराउँथ्यो । बाँचेकामध्ये पनि धेरै दृष्टिविहीन वा अन्य शारीरिक समस्याबाट ग्रस्त हुन पुगे। । त्यसअघि चीन, भारत, अफ्रिकादेखि टर्की हुँदै ब्रिटेनसम्म नवौँ शताब्दीदेखि चलिआएका विभिन्न परम्परागत उपायहरू यस रोगको निदानका लागि प्रयोग हुन्थे । ब्रिटेनमा सन् १७९६ मा एडवर्ड जेनरले यसको खोप विकास गरेका थिए । परम्परागत उपायभन्दा उक्त खोप निकै प्रभावकारी रहे पनि त्यसको प्रगतिदर निकै सुस्त थियो । सन् १९६७ मा व्यापक खोप कार्यक्रम सुरु गरिएपछि मात्र यो रोग नियन्त्रणमा आएको थियो । यो रोगको भाइरस यतिखेर रुस र अमेरिकाको निकै सुरक्षित प्रयोगशालामा मात्र बाँकी छ ।
पोलियो
यस रोगले ज्यान लिने मानिसहरूको सङ्ख्या केही कम भएको भए पनि बाँच्नेहरूका हकमा यो रोग बिफरको तुलनामा बढी क्रुर हो । खासगरी कलिला बालबालिकामा प्रभाव पार्ने यसको भाइरस मुखमार्फत् शरीरमा प्रवेश गर्छ र रगतमार्फत् अन्तिममा स्नायु प्रणालीमा हमला गर्छ । दुई सयमध्ये एक घटनाका हकमा यसले निको नहुने पक्षघात सिर्जना गर्छ ।
श्वासप्रश्वासको मांसपेशीले काम नगर्दा पक्षघात सामना गर्ने १० जनामध्ये एकजनाको मृत्यु हुनेगर्छ । सख्त प्रभावित हुने मानिसहरूका लागि धेरै गर्न सकिने भनेको उसलाई श्वासप्रश्वासमा सघाउन सन् १९२० को दशकमा विकास गरिएको शरीर ढाक्ने फलामे उपकरणमा राख्नु हुन्थ्यो । रोग लागेका धेरैले फलामे फोक्सोको रूपमा विकास गरिएको उक्त उपकरणमा कयौँ साता बिताउँथे । तर केहीले भने हलचल गर्न नसकीकन बाँकी जीवन नै त्यसरी काट्नुपथ्र्यो । बिफरजस्तो शरीरबाहिर कुनै लक्षण नदेखिने भएकाले समेत यो सङ्क्रामक रोग हो भन्ने थाहा पाउने काम सन् १९०५ मा भएको थियो ।
खासगरी स्वच्छ पानीको व्यवस्था नभएका गरीब देशहरूमा धेरै सङ्ख्यामा बालबालिकाहरूमा यस रोगले पक्षघात निम्त्याएको थियो । तर सन् १९५२ मा अमेरिकी चिकित्सक जोनस सल्कले यसको पहिलो खोप विकास गरे । त्यसलाई सन् १९६१ मा अल्बर्ट सबिनले परिस्कृत संस्करण निकालेर सुईबाट नभई मुखबाटै लिन सकिने गराए । तर अमेरिकाको औषधि इतिहासकै एउटा खराब गल्तीका कारण एक लाखभन्दा धेरै मात्रामा जीवित पोलियो भाइरस रहँदा १६० जना बालबालिकाहरूमा पूर्णरूपमा पक्षघात देखियो भने १० जनाले ज्यान गुमाए । तर यस रोगविरुद्ध अभियान रोकिएन। र पछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई आफ्ना ठूला खोप कार्यक्रममार्फत् संसारभर वितरण गर्यो। अहिले वार्षिक केही दर्जन घटना देखिने पोलियो प्राकृतिक रूपमा अफगानिस्तान र पाकिस्तानमा मात्र छ।
दादुरा
दादुरा एउटा सफलताको कथा भए पनि खोप अभियानको एउटा असफलताको कथा हो । पछिल्ला वर्षमा अफ्रिकामा फैलिएको इबोला प्रकोपले विश्वव्यापी चासो सिर्जना गर्दा त्यसबाट ज्यान गुमाउनेहरू २० हजारभन्दा कमको सङ्ख्यामा थिए । तर दादुराले बर्सेनि झण्डै १ लाख ४० हजारको ज्यान लिइरहेको छ । त्यस्तो मृत्युको सङ्ख्या सन् १९६३ यता खोप उपलब्ध हुँदाहुँदै पनि देखिएको हो।
यो निकै सङ्क्रामक भाइरस खोकी वा प्रत्यक्ष संशर्गका बेला फैलने गर्छ र त्यसले ज्वरोका साथै शरीरमा डाम उत्पन्न गराउँछ । त्यसको जटिलताले झाडापखला, निमोनिया र मस्तिष्क सुन्निने अवस्थाको सिर्जना गराइ मृत्युसम्म गराउँछ । खोपको विकासले बर्सेनि हुने २६ लाख सङ्ख्याको मृत्युदरलाई निकै घटाएको थियो । तर यो यति धेरै सङ्क्रामक थियो कि ९५ प्रतिसतभन्दा थोरै मानिसहरूलाई खोप लगाइएको ठाउँमा यो फैलिइहाल्थ्यो । त्यसैले खोप हुँदाहुँदै पनि धेरै ठाउँमा यस रोगको सङ्कट उच्च थियो। विकसित देशमा मृत्युदर कम भए पनि बाँकी भागमा भने त्यसको खराब अवस्था पाइएको थियो । खोपको विकासले दादुराबाट वर्षेनी हुने २६ लाख सङ्ख्याको मृत्युदरलाई निकै घटाएको थियो।
सन् २०१९ को सुरुदेखि यो वर्षको गर्मीयामसम्म प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा दादुराको विश्वकै खराब सङ्कट देखिँदा त्यहाँ ७ हजारभन्दा बढी बालबालिकाले ज्यान गुमाएका थिए ।
मलेरिया
आजका दिनमा विश्वको झण्डै आधा जनसङ्ख्या मलेरिया परजीवीको जोखिममा छ । लामखुट्टेबाट फैलने यस रोगले बर्सेनि झण्डै चार लाख मानिसहरूको ज्यान लिने गर्छ । अहिलेसम्म मलेरियाको कुनै खोप नभएपनि ३२ वर्षको अध्ययन र ७० करोड डलर खर्चिएपछि एउटा खोप आउने क्रममा छ।
ऐतिहासिक समयदेखि नै यस रोगले मानिसहरूलाई असर गर्ने गरेको छ र यसको योगदान मानवजातिको विकासक्रमसँग समेत जोडिने गर्छ । अहिले यस रोगबाट हुने ९५ प्रतिशत मृत्यु अफ्रिकामा हुन्छ । झुल लगाउने वा सङ्क्रमणबाट बच्न औषधि सेवन गर्नेजस्ता अन्य थुप्रै उपाय भए पनि यसबीच लामखुट्टे र परजीवी दुवै ती उपायसँग जुध्न सक्ने भइदिएका छन् । अहिलेसम्म त्यसको कुनै खोप नभएपनि ३२ वर्षको अध्ययन र ७० करोड डलर खर्चिएपछि एउटा खोप आउने क्रममा छ।
परीक्षणका क्रममा त्यो ४० प्रतिशत प्रभावकारी देखिएको छ र त्यसले चार वर्षसम्म रोगबाट बचाउनेछ । त्यस्तो विवरण अन्य मुख्य खोपका तुलनामा निकै कमजोर दरको हो । त्यसमाथि यो निदान पूरा हुन चार मात्रा लगाउनु पर्नेछ । यस्तो भए पनि चिकित्सकहरू खोप कार्यक्रमबाट आशावादी छन् जुन मलावी, घाना र केन्यामा सन् २०२३ सम्मका लागि जारी छ ।
बीबीसीबाट