म यसकारण दक्षिणपन्थी
केशवप्रसाद भट्टराई ।
मैले बुझेको दक्षिणपन्थ भनेको देहाय अनुसारको व्यवस्था हो भन्ने बुझेकोले म आफूलाई दक्षिणपन्थी मान्दछुः
१. साविकको राजनीतिक, सामाजिक र आर्थिक प्रणाली, सरकार गठनको सिद्धान्त, राजनीतिक विचार र दृष्टिकोण र समाजप्रतिको धारणा र राजनीतिक अभ्यास र व्यवहारका राम्रा कुराहरूलाई संरक्षण गर्दै, त्यसका खरावीहरूलाई सुधार गर्दै जाने ।
२. राज्य शक्ति र अधिकारहरू व्यक्ति वा व्यक्ति समूहमा निहित नभएर कानुनद्वारा गठित संरचना र संस्थाहरूमा निहित हुने र राज्य शक्ति र अधिकारहरू सार्वजनिक हित, कल्याण र सुरक्षाकालागि निर्धारित विधि र प्रक्रियाबाट त्यस्ता कानुनद्वारा गठित संरचना र सँस्थाहरूबाट प्रयोग र प्रचलन हुने ।
कुनै कोरा काल्पनिक, आवेगात्माक, भावनात्मक सिद्धान्त, मूल्य र मान्यताहरूबाट नभएर राष्ट्र, समाज र जनताका आवश्यकताहरूबाट राजनीतिक वा राज्य संरचना हरूबाट परिचालित हुने ।
३. जनताका र समाजमा परम्परादेखिनै स्थापित सामाजिक संगठन र सँस्थाहरू,
तिनको स्थापनाको उद्देश्य र तिनका आर्थिक र भौतिक सम्पत्ति तिनको स्थापनाको मूल उद्देश्य र कार्य क्षेत्र विपरीत हुने गरी राज्य कानुनद्वारा नियन्त्रण गर्न नपाइने,
तिनको स्वायत्ततालाई राज्यको सर्वोच्च प्रतिवद्धता प्राप्त हुने ।
४. जनताको मूल मानव अधिकार, जीवन सम्पत्ति र सम्मान राज्यको सर्वोच्च प्राथमिकता र प्रतिवद्धता हुने,
सम्पत्ति आर्जन गर्ने, त्यसलाई आफूखुसी भोग चलन गर्न पाउने अधिकारमाथि स्वयम् व्यक्तिको सहमतिमा बाहेक राज्यले कुनै किसिमको हस्तक्षेप नगर्ने,
जनताका मौलिक अधिकार र मूल स्वतन्त्रता कुनै राज्य कानुनद्वारा वाधित नहुने व्यवस्था ,
जनताका स्थानीयतहका समस्याहरूको समाधानहरूबारे दृष्टिकोण राष्ट्रिय राख्ने तर समाधान स्थानीय सँस्था, संरचना र स्थानीय अभ्यास अनुसार विधिको शासन अनुरूप व्यवस्थापन गर्ने ।
५. समाजमा विद्यमान वर्गीय संरचनाहरू, आर्थिक र सामाजिक विभेद मूलतः समाजको उत्पादन प्रणाली र आर्थिक व्यवस्था अनुसार निर्माण हुने भएकोले समाज र अर्थतन्त्र आधुनिक औद्योगिक युगमा प्रवेश गर्ने वित्तिकै त्यी वर्गीय विभेदका संरचनाहरू धराशायी हुने भएकोले कुनै राजनीतिक नारा वा आन्दोलन भन्दा पनि उत्पादन प्रणाली र आर्थिक व्यवस्थामा सुधार र परिवर्तन ल्याउने,
(आधुनिक छाला जुत्ता कारखानामा कुनै ब्राह्मण, क्षत्रिय वा कथित दलित समुदायका सार्कीहरू लहरै बसेर जुताको काम गर्ने, एउटै क्यान्टिन मा सँगै बसेर खाने व्यवस्था आफैँ निर्माण हुन्छ )
६ . संक्षेपमा बुँदागतरूपमा भन्दा
६ . १. दक्षिणपन्थीहरू बढी व्यक्तिगत स्वतन्त्रताको पक्षधर हुन्छन्
६ . २. आर्थिक र सामाजिक सवालमा थोरै राज्य हस्तक्षेपको पक्षधर हुन्छन् ।
६ . ३. सरकारले आफ्नो आम्दानी अनुसार खर्च गरोस्,
सरकारी ढुकुटीको पैसा सस्तो नारावाजी र ठोस उपलव्धि नदेखिने क्षेत्रमा ह्वारह्वार खर्च नगरोस् भन्ने चाहन्छन्
६ . ४. सामाजिक सुरक्षाको महलमा गरिने खर्च लक्षित समूहको निश्चित पहिचान गरी किटान गरिएका समुदाय र व्यक्तिमा मात्र खर्च गरिनुपर्दछ भन्दछन् ।
६ . ५. ईश्वरमा विश्वास गर्दछन र मुलुकको परम्परा, धर्म र संस्कृतिलाई आदर गर्दछन् ।
६. ६. सानो, थोरै, छरितो तर प्रभावकारी सरकारको पक्षधर हुन्छन् ।
६.७. नागरिकको व्यक्तिगत जीवनमा राज्य हस्तक्षेप हुनु हुँदैन भन्छन् र जनताको सम्पत्तिलाई पवित्रतम वस्तुकोरूपमा राज्यले सम्मान र मर्यादा गर्नुपर्दछ भन्दछन् ।
६. ८. हिंसात्मक, उग्र र हठात परिवर्तनलाई होइन क्रमशः विकास र सुधारलाई समर्थन गर्दछन् ।
(राजनीतिक,सामाजिक र आर्थिक क्षेत्रको एकता, विकास, शान्ति, स्थिरता र सुरक्षालाई उच्चतम प्राथमिकतामा राख्दछन् र ठूलो उथलपुथल र परिवर्तनद्वारा तिनलाई अस्तव्यस्त हुने अवस्था आउन दिंदैनन् )
६. ९. राष्ट्रको स्वतन्त्रता, एकता, अखण्डताप्रति समर्पित र प्रतिवद्ध हुन्छन् ।
आन्तरिक राजनीतिक उद्देस्यकोलागि वाह्य हस्तक्षेप र भूमिकालाई अस्वीकार गर्दछन् ।
६.१० . प्राकृतिक साधन र स्रोतको दीर्घकालीन र भविष्यको पुस्ताकालागि समेत सुरक्षित हुने गरी उपयोग गर्ने नीति अख्तियार गर्दछन् ।
६. ११. राजनीतिक दल, तिनका संरचना र संयन्त्र भन्दा संविधान र कानुनद्वारा गठित संस्था र संरचनाहरू माथि हुन्छन् , निर्णायक र अन्तिमरूपमा मान्य हुन्छन् ।