मृत्युन्जयको पथमा
डा. गोविन्दशरण उपाध्याय ।
निरन्तरता, धैर्यता र विजयीभाव भविष्यका विजेतामा विकसित हुने गुण हुन् जुन तर्क, विश्वास र आस्थाका आधारमा अभिनिर्मित हुन्छ । विश्वका अधिकांश परिवर्तनहरू अकस्मात भएका छैनन् । ती परिवर्तनहरू धेरै लामो वैचारिक, व्याबहारिक र अत्यन्त कष्टप्रद त्यागहरूबाट प्राप्त भएका छन् । जसमा वास्तविक परिवर्तनको चाहना छ उसले आजीवन परिवर्तनको आवश्यकता र अनिवार्यतालाई पछ्याईरहन्छ । कहिलेकाहीँ त यस्तो परिवर्तनको इच्छाशक्ति पुस्तान्तरण हुन्छ र दोस्रो वा तेस्रो पुस्ताले मात्र परिवर्तनको स्वाद चाख्न पाउँछ । यहाँ बुझ्नु र मनन गर्नु पर्ने विषय के हो भने सुनामीजस्तै अपरझट प्राप्त परिवर्तनहरूले मौलिक रुपान्तरण गर्न सक्दैनन् । दिगो रुपान्तरणको लागि रुपान्तरणको आधारभूत मानचित्र बोक्ने सिद्धान्तको जग हुनुपर्छ । अल्पकालीन परिवर्तन र असफल परिवर्तनमा निःसन्देह अस्पस्ट र दोहोरो अर्थ दिने सिद्धान्त नै जिम्मेदार हुन्छ । नेपाली जनताले यस्तो असफलता धेरैपटक अनुभव गरिसकेका छन् ।
वैदिक ऋषि उद्दलकले आफ्ना छोरा स्वेतकेतुलाई मृत्युलाई दिए । स्वेतकेतु मृत्यु पाएर पनि निराश भएनन् । उनले धर्यता र विजयीभावका साथ मृत्युको निरन्तर अनुसरण गरे । अन्तन्तः स्वेतकेतु मृत्युको द्वारमा पुगेर मृत्युसँग सिकेर मृत्युन्जय बने । बालक ध्रुवले आंफ्नो सङ्कल्प शक्तिको बलले सातवर्षको कलिलो उमेरमा भगवानको दर्शन प्राप्त गरे । आयु सकिएपछि काल आएर आफ्नो शीर निहुरियो र त्यसैलाई सिंढी बनाएर ध्रुव स्वर्ग गए । कालको हातमा पुगेका सत्यवानलाई देवी सावित्रीले आफ्नो दृढ सङ्कल्प शक्ति र सतित्व अर्थात् सत्यप्रतिको निष्ठाका वलमा मृत्युको हातबाट फर्काएर ल्याईन् । आयु सकिएका बालक मार्कन्डेयले दृढविश्वास, सङ्कल्प शक्ति र धैर्यताका बलमा मृत्युलाई पराजित गरेर ऋषिपद प्राप्त गरे । यी सबै जन्मदा सामान्य मान्छे थिए तर निरन्तरता, धैर्यता र दृढ सङ्कल्प शक्तिले परिपूर्ण विश्वासका कारण काललाई जित्न सफल भए ।
हाम्रा अगाडी काललाई जित्ने लक्ष होइन देशको राजनैतिक प्रतिमान फेर्ने लक्ष छ । स्वेतकेतु, सावित्री, ध्रुव र मार्कन्डेयका तुलनामा हाम्रो लक्ष सामान्य छ । हाम्रा पूर्वजले संसारको सबैभन्दा अजेय सत्य मृत्युलाई समेत जितेका थिए ्र हामी मृत्युन्जयका सन्तान भएर वर्तमान नेपाललाई समस्याबाट मुक्त बनाएर विश्वका सर्वश्रेष्ठ बनाउँछौं भन्ने लक्ष प्राप्त गर्न कुनै कठीन छैन । मृत्यु भन्दा ठूलो सङ्कट, काल भन्दा शक्तिशाली शत्रु र सङ्कल्प शक्ति विनाको चेतना विश्वका सबैभन्दा शक्तिशाली त्रासदी हुन् । नेपालको वर्तमान सङ्कटग्रस्त छ र हामीसंग त्यो संकटबाट देशलाई निकाल्ने मानचित्र र दृढसङ्कल्प शक्ति छ । मानचित्रलाई सङ्कल्पशक्तिको रथमा चढाएर हामी जहाँजहाँ जानेछौँ, त्यो बाटोमा प्रकाश फैलिने तय छ । म सक्दिन, यो सङ्कल्प उनीहरूको हो, हामीले मात्र गरेर केही हुँदैन, अहिले समय भएको छैन, मेरो लागि यो उपयुक्त समय होइन जस्ता आत्मनिरोधि संकथननै हाम्रा असली शत्रु हुन् । यदि सङ्कल्प शक्तिको शक्तिको महत्वलाई बुझ्दाबुझ्दै पनि हामी “वहाना” खोज्दै छौँ भने उद्देश्य अझैं टाढा छ ।
नेता बन्न र नेतृत्व प्रदान गर्न सजिलो छैन । नेतृत्व गर्नुभन्दा अनुयायी (भोटर) बन्न धेरै सजिलो छ । प्रकृतिले प्राकृतिक रूपमा नै हामीलाई “नेतृत्व” गर्ने क्षमतासंग अभिनिर्मित गरेको छ । एउटा दियोले हजारौँलाखौं दियोहरू बाल्छ । हरेक दियोमा उत्तिनै शक्ति हुन्छ । हामीले आफ्नो “दियो” निभाउने कि अन्य दियो बालेर आफु नेता बन्ने अर्थात् परिवर्तनको संवाहक बन्ने निर्णय आफैले गर्नुपर्छ । निभ्ने दियोको भूमिका सधैंका लागि समाप्त हुन्छ, प्रज्वलित दियोहरू सधैं उर्जाशील, उर्जाका स्रोत तथा सबैले देख्न, भेट्न र अनुभूति गर्न सक्ने हुन्छन् । ऋषि संस्कृतिका उत्तराधिकारीका रूपमा हामी नेपालीले यो क्षमता प्राकृतिक रूपमा प्राप्त गरेका छौँ । भेडाका बीचमा हुर्किको बाघले आफुलाई भेडा नै सम्झिरहेको हुन्छ तर जव कुनै छिमेकी बाघले भेडासँग हिंडिरहेको बाघ—भेडाको रहस्य चिनाई दिन्छ, उ स्वस्थ हुन्छ । निर्णय हामीले लिनुपर्छ – भेडाको बथानको निरीह सदस्य बनेर जीवन यापन गर्ने कि ऋषिकुलको उत्तराधिकारीका रूपमा आफ्नो प्राकृतिक शक्तिलाई स्वीकार गरेर वास्तविक परिवर्तनको पथमा अगाडी बढ्ने ।
मातृभूमिका रूपमा नेपाललाई माया गर्ने हरेक सदस्यहरू मृत्युन्जय हुनुपर्छ, हरेक सदस्य ज्ञानका वास्तविक (दियो)का संवाहक हुनुपर्छ र आफूलाई भेडाहरूका साम्राज्यको एउटा निरीह सदस्यबाट मुक्त गरेर ऋषिकुलका उत्तराधिकारीका रूपमा बाघझैं शक्तिशाली बनेर नेतृत्व निर्माण गर्नुपर्छ, नेतृत्ववहन गर्नुपर्छ ।