रक्तबीज नियन्त्रणको भित्रीपाटो
डा. गोविन्दशरण उपाध्याय ।
चण्डीको पाठ गर्ने धेरैजसोले रक्तबीजको कथा पढेका छन् । कोभिड-१९ जस्तो महामारी नियन्त्रणमा नागरिक र सरकारी तन्त्रलाई यो कथाले निकै महत्वपूर्ण सल्लाह प्रदान गर्छ | देवी र रक्तबीज नामक असुरलाई बिम्व बनाएर प्रस्तुत गरिएको रगतबाट फैलिने महामारी र त्यसलाई नियन्त्रण गर्न मातृशक्तिहरूको प्रयत्नबाट हामीले धेरैनै शिक्षा ग्रहण गर्नुपर्छ ।
युद्धको अवस्थामा रगतबाट फैलिने महारोगले सम्पूर्ण विश्व आक्रान्त बन्यो । देवताहरूले पुन: मात्रिशक्तिसंग एसको नियन्त्रणका लागि प्रस्ताव राखे । युद्धरत देवीहरूले एकआपसमा गहन छलफल गरे । महाकाली (कालो रङ्गमा अर्को कुनै पनि रङ्गको प्रभाव हुँदैन)लाई रक्तबीजलाई फिल्डमैं गएर नियन्त्रण गर्ने अभिभारा मिल्यो । अन्य देवीहरूले वाहिरबाट रक्तबीज उपर सामुहिकरुपमा प्रहार गरे । महाकालीले बगिरहेको रगतलाई अन्य व्यक्तिहरूसंग संसर्गबाट जोगाइन् भने अन्य देवीहरूले साम,दाम, दण्ड तथा भेदहरूको प्रयोग गरेर रक्तबीजको गतिविधिलाई सीमित राखे ।अन्तत: रक्तबीज शक्तिहीन भयो र मर्यो ।
असलमा यो रुपकका रूपमा लेखिएको कथाले महामारी नियन्त्रण गर्न प्रयोग गरिएको प्राचीन मोडलको सूचना प्रदान गर्छ । यो कथाले भन्छ, महामारीका अवस्थामा सबैभन्दा उत्तरदायित्व मातृशक्तिमा आइपर्छ किनभने घरको सूरक्षाका सवालमा माताहरू बढी नै सक्रिय हुनुपर्छ । आज नेपालका गाउँगाउँमा आमा समुहहरू छन्, तिनको प्रयोग गरेर कोभिड-१९ लाई नियन्त्रण गर्नेतिर पहल गर्न सकिन्छ । व्यक्तिगत स्वास्थ्यका सवालमा घरभित्र महिलाशक्तिको जतिधेरै योगदान हुनसक्छ, अरूको हुनैसक्दैन ।
मुखखोलेर खकार निकाल्ने र त्यसबाट करोना भएको/नभएको पहिचान गर्ने विधि निकै रोचक छ । मलाई लाग्छ, महाकालीले मुख खोलेर रक्तबीजहरूलाई नियन्त्रण गरिन् भन्नुको अर्थ पक्कै पनि “मुखबाट कुनै औषधीय र्याल”को प्रयोग गरेर रक्तबीजलाई नियन्त्रण गरिएको पो हो कि ? नेपालीमा एउटा पुरानो उखान छ “जहाँ रोग हुन्छ त्यसको उपचारको औषधि पनि त्यही नै हुन्छ ।”
परम्परागत चण्डीपाठ गर्दा कवच, अर्गला र किलक – यी तीनबटा स्तोत्रहरूको पाठ नगरीकन चण्डीपाठ गरेको फल मिल्दैन भनिएको छ । कवचको अर्थ सुरक्षा कवच हो, अर्गलाको अर्थ दैलोमा सुरक्षाका लागि लगाउने “आउलो” हो र किलकको अर्थ हो – पूर्णनियन्त्रण वा बाँधेर राख्नु । चण्डीपाठको यो परम्परा निर्वाह नगरिकन कुनै पनि महामारी नियन्त्रित हुनैसक्दैनन् । कवच कोरन्टाइन स्थल वा आत्मनियन्त्रणको मनोबैज्ञानिक विधि हो, अर्गला त्यस आत्मनियन्त्रणप्रतिको प्रतिबद्धता हो भने किलकले आत्मनियन्त्रित (self-qurantine) को अवस्थामा अन्यसंग संसर्गबाट पूर्णतया जोगिनुपर्छ भन्ने संदेश दिन्छ ।
चण्डीले “आत्मनियन्त्रण” व्यक्ति वा समाजले मात्र महामारीहरू नियन्त्रित गर्न सक्छन् र त्यस्तो आत्मनियन्त्रणको निगरानी महाकाली अर्थात् मात्रिशक्तिबाट हुनुपर्छ भन्ने अर्थ लाग्छ । साच्चिकै भन्ने हो भने व्यबहारिक यथार्थ पनि यही हो ।