युवाहरूले इतिहासबाट चेतून्
भीम उपाध्याय ।
मलाई अहिलेका कुनै राजनीतिक दलहरूसंग कुनै चासो छैन। तर विगत ३ दशकदेखि मुलुक चुसेर, अभक्ष खाएर, होँडलेर सखाप खोक्रो पार्ने तिनै नेताहरूको पछि लाग्नु भन्दा झिंगा धमाउने काम गर्नु बढी पुण्यकार्य हो भन्ने लाग्छ। पूराना सबै नेतालाई रिटायर नगरेसम्म देश उभो लाग्नै सक्दैन, यसमा मलाई म किंचित पनि संशय छैन।
जुन दलमा भए पनि नयॉ युवावर्ग जागून् र देशको सत्ताको बागडोर हाकून्, मेरो तिनलाई समर्थन रहिरहन्छ।
तर यदि जिवनमा आहार, विहार कुपथ पर्यो भने जिवनभरि त्यसको दुष्प्रभावले बेहाल बनाइदिन्छ।
विगत ३ दशकको मुलुकको प्रशासन र राजनीतिमा मेरो गहन अनुभव, चिन्तन र अनुभवले के भन्छ भने पूराना नेताहरू सबै फँसिसकेका छन्, तिनका ऑत कमजोर छ, कॉतर छन्, हुने नहुने मान्छेसंग नैतिक, अनैतिक नाता गासेका छन्। तिनले खानुसम्म अभक्ष खाएका, पिएका छन। कुसंस्कार र कुलतमा फँसेका छन्। तिनीहरूबाटै सिर्जित समस्याको चाङ देखेर तिनकै नौ नाडी गल्छ, त्यसैले त जनतालाई बिषयान्तर गरेर निरन्तर दशकौंसम्म झुक्याउदै आएका छन्। बाघ आयो बाघ आयो भनेर स्यालले कुखुरा चोर्ने दाउ खेल्न तिनले बखुबी जानेका छन्। जनता आफ्नो कुखुरा चोरिएर मात्र हैन उत्तानो टाङ लाग्दै आएको ३ दशक नाघिसक्यो। यही पारामा चल्न दिने हो भने मुलुकमा अरू ३ दशक कसैले कुखुरा नपाले हुन्छ।
लोकतान्त्रिक सरकार। हो भने उसले आफ्नो काम गर्दै जाने हो। सरकारले सडकका मान्छे बटुलेर, बोलाएर, बैठक गरेर काम गर्ने हैन। सत्तामा जाने भनेकै म्यान्डेट पाएको हो। त्यसको आधारमा गरेको कामको जनताले मुल्यांकन गर्ने हो। कागजको खोस्टोमा के लेखेको छ त्यो भन्दा यथार्थमा के छ र के हुनुपर्ने हो त्यो गर्ने हो। कागजमा नलेखेर जे पनि गर्न पाईने भनेको हैन।
भारतमा मोदी विपक्षी र सडकका मान्छेहरू बोलाएर बैठक गरेर कस्मिर वा अयोध्याको बारेमा आफ्नो काम गरिरहेका छन् कि जनताले दिएको म्यान्डेट बमोजिम?
बेलायतमा बोरिस जोन्सनले म्यान्डेटले काम गरिरहेका छन् कि नानाथरिका बैठक गरेर?
ट्रम्पले विपक्षीहरूलाई सोधीसोधी बैठक बोलाएर काम गरिरहेका छन् कि म्यान्डेटले?
सत्तामा जाने भनेको के हो? जागिर हो?
नेपाली नेताहरू राजतन्त्रका हिङ नभए पनि हिङ पोको पारेको टाला जस्ता हुन्।
पति मरे पत्नी, पत्नी मरे पति सत्तामा ल्याउने हाम्रो प्राचीन परम्परा रहिआएको हो। बा मरे छोरा, छोरा नभए छोरी गद्दीमा बसाल्ने गरेकै हो। नेताहरूलाई मनमा गढेको हुनुपर्छ, यसो नगरे त सायद देशै रहन्न, दु:खी नेपाल सुखी र समृद्ध हुदैन।
मुलुकको राजनीति युवाअमैत्री मात्र हैन, युवाबिरोधी एवं युवाबैरी समेत छ। तर युवाहरू अरिंगालको भूमिकामा यसरी नतमस्तक छन् कि तिनलाई देख्दा टिठ मात्र लाग्छ। जिन्दगीभरि बूढा बाउको फेरो समातेर आफै अकालमा दिमागी बूढा बनेर परनिर्भर एवं नालायक सिद्ध हुनुमा तिनमा आफूलाई गर्व हुने रोगले गॉजेको छ। नयॉ सोच नआओस् भनेर तिनका ब्रेन पहिल्यै ड्यामेज गरिसकिएको जस्तो पाईन्छ।
कुनै बेला गलैचा, कुनै बेला गार्मेन्ट, कुनै बेला स्कूल खोल्ने कुनै बेला नर्सिङ होम र अस्पताल खोल्ने, कुनै बेला मेडिसिन र ईन्जिनियरिङ कलेज खोल्ने, कुनै बेला तिनका सिट संख्यामा लेनदेन गरेर अनुमति दिने हुदै गएको हो। कुनै बेला बिदेशमा पढ्न पठाउन कन्सल्ट्यान्सी खोल्ने, कुनै बेला जग्गाको कारोबार गरेर कुबेर बन्ने उद्योग गर्ने, कुनै बेला बालुवा गिट्टी ढुंगाको कारोबार गर्ने, कुनै बेला मुन्द्रेले ठेक्का कब्जागर्ने पनि भएकै हुन्। त्यस्तै कुनै बेला कर्मचारीको सरूवामा एजेन्ट बनेर प्रिपेड पोष्टपेड डिल गर्ने, कुनै बेला राजनीतिक नियुक्तिमा मोलमोलाई गर्ने, कुनैबेला समानुपातिक पदमा बोलकबोल गर्ने, कुनै बेला सरकारी समिति संस्थान परिषद बोर्ड प्राधिकरणमा भरमार चम्चा राजनीतिक कार्यकर्ता भर्ने, कुनैबेला राजदूत नियुक्तिबाट द्रब्य हातपार्ने कामले पनि चुचुरो छोएकै हो। अनि, कुनै बेला अदालतको प्रयोग गरी दरबन्दी भन्दा बढीको उच्चपदस्थ सेना वा प्रहरी अधिकारीलाई बढुवा गर्ने, कुनै बेला रक्तचन्दन तस्करी गर्ने, कुनै बेला हतियार तस्करी गर्न कोरिडर खोलिदिने, कुनै बेला राजनीतिक दल तथा नेताहरूलाई करोडौं चन्दा दिएर क्रेताबाट उठाएको सरकारलाई बुझाउनुपर्ने अर्बौं नासो रकम भ्याट वा आयकर, बिक्री कर मुक्त गर्ने …गर्दागर्दै गर्दागर्दै दशकौंसम्म कुपथमा हिडेपछि फट्यांग्राले पनि लात हान्ने नै भयो, मनमा चोट पर्ने नै भयो!
के गरिस् मंगले आफ्नै ढंगले!
तर अझै चेत पलाएको छैन खासगरि मूर्ख युवा जनताको! सर्वश्व बिग्रिएपछि पलाएको चेतको काम के गरी लगोस् त नि!