लोकतान्त्रिक संस्कारच्यूत भएपछिको नाटक
भीम उपाध्याय ।
आधा समय केपी ओलीले र आधा समय प्रचण्डले सरकार चलाउने र दुईजना अध्यक्ष पाईलटले नेकपा दललाई संयुक्त सहमतिमा चलाउने मूलभूत आधार थिए। तर त्यही आधार भत्केर स्टेरिंग जसले जता पायो उतै बटारेपछि त्यसकै जगमा बनेको घर टिक्ने कुरा हुदैन र थिएन। सरकार दल र नेपालको राजनीतिले अन्तत: गाडी बल्ड्याङ खॉदैछ। वचन पूरा नगर्ने फटाहामा गनिन्छन्।
नेपालीको चाहना अनुरूप अग्रगामी हिडाईको विगतको ३ वर्षको अवधि बेफ्वॉकमा खेर गयो। दल र नेता आउछन्, जान्छन् तर मुलुक अघि बढिरहनुपर्छ। त्यस्तो मात्र दिगो राजनीति र शासन ब्यवस्था हुन्छ। हिन्दू संस्कारमा लासको माया गरेर बस्नुहुदैन, तुरून्तै सदगद् गर्नुपर्छ। लास गन्हाएर छुट्टि छ। वर्षौँ कोमामा बसेको मान्छेलाई जिवन जिएको भन्न कहॉ मिल्दो हो र!
नेपालको लोकतन्त्र नैतिकताच्यूत बनेको ३ दशक पार गरिसकेको छ। त्यसैले राजीनामाको डंका पिटिदै आएको छ। नेपालमा प्रम जनताले हैन तिनका कार्यकर्ता सांसदहरूले चुनेका हुन्। जनताको प्रम होईन यो सबैले बुझ्नुपर्छ। तर जनहितमा देशहितमा काम गरेर जनताको नेता वा जनताका प्रम बन्न सकिन्छ।
कसैले माग्दैमा कुनै नेपाली प्रमले किन राजीनामा दिने? आजसम्म कसले सहजै राजीनामा दिएका थिए र? राजीनामा दिनै परे सबैले रडाको गरेर हटेका थिए, कसैले जनताको हुर्मत लिन छाडेनन्। तत्कालिन प्रम कृष्ण भट्टराई र प्रचण्डले मात्र सर्लक्कै राजीनामा दिएर मार्ग प्रसस्त गरेका थिए।
गिरिजा, मनमोहन, सुर्यबहादुरले राजीनामा दिदा संसद भंग गर्न सिफारिस गरेका थिए। अरू प्रमहरूले महिनौँ झुलाउदै सत्ता लम्बाएर सबै राजनैतिक नियुक्ति गर्नुसम्म गरेर बल्ल बाटो लागेका थिए।
माधव नेपालले प्रमबाट राजीनामा दिएपछि पनि ९ महिनासम्म कामचलाउ सरकार नै चलाए। डा बाबुरामले प्रम पदबाट राजीनामा नदिईनै अर्को ब्युरोक्रेटिक रेग्मी सरकार बन्यो। झलनाथले मन्त्रिमंडल बनाउनै नसकेर, लत्तो छाडेर , खुट्टै नटेकी प्रमबाट सुईकुच्चा ठोकेका थिए।
संविधान बनेपछि सुशिलले पनि झुलाउदै प्रम पद तुरून्तै छाडेनन्। त्यसपछि बनेको ओलीको एमाले माओबादी संयुक्त सरकारमा पूर्वसहमति विपरित प्रचण्डलाई ओलीले आफूले केही समयपछि छाड्नुपर्ने प्रम पद नछाड्नाले प्रचण्डले अलग्गिएर शेरबहादुरसंग गठबन्धन गर्न पर्यो। प्रचण्डले सहमति अनुरूप शेरबहादुरलाई सहजै प्रम पद हस्तान्तरण गरे। यिनै प्रचण्डले पहिलो पटक प्रम हुदा पनि सजिलै पदत्याग गरेका थिए। शेरबहादुरले आम चुनाव सकिएर पनि नयॉ सरकार बनाउन ३ महिना झुलाउदै प्रम पद छाडेनन्।
यस्तो इतिहास बोकेका नेताहरूले यतिखेर अनि कुन नजिर नैतिक धरातलमा अहिले ओलीले प्रम पदबाट किन राजीनामा दिने? कसले पो विगतमा सजिलै पदत्याग गरेका थिए र बहुदल आएपछि ओलीले नैतिकता देखाउन जरूरी हुन्छ। राजाले पो सजिलै गद्दी त्याग्छन्, जनताको नेता त राजा भन्दा ‘माथि’ को हो, नैतिकताको लोकतान्त्रिक पद्दतिको छडी काम लाग्ने कुरै भएन।
सत्ता भनेको सके पदबाट गलहत्याउने हो, नसके चुप लागेर थान्कोमा बस्ने हो, गिड्गिडाउने काम छैन। पुरुषार्थीहरू सडकमा रूँदै चिच्याउदै हिड्दैनन्। लाछीको काम हो सडकमा गिड्गिडाउनु। पद्दतिमा कोही नहिड्ने लोकतन्त्र हैन। लोकतन्त्र नैतिकता नै हो। तर नैतिकता छैन भने नीति र नेता फट्याइँ र फटाहा हुन्छ। लोकतन्त्र नभएपछि र खोल लोकतन्त्रको राखेर मन शान्त गर्न चाहनेहरूको बाहुल्यता रहेसम्म नेपालमा सुशासन होला? कौनो उपाय नाई छी!