लाग्छ, हामी ताली बजाउने मेसिन मात्रै हौँ !
नारायण गाउँले ।
-देउबासँग एक भएर छोरीलाई मेयर बनाएको एक महिना नबित्दै आफैले लिङ्ग नछुट्टिएको भनेको ओलीसँग एकता गर्ने प्रचण्डले सिद्धान्त र वैचारिकताको चर्को भाषण गर्छन् र हामी ताली बजाउँछौं !
-नक्कली सुकुम्बासी बनेर सरकारी जग्गा हड़प्नेलाई अर्थमन्त्रालय नै सुम्पिनेदेखि महामारीको नाममा यति र ओम्नीलाई मालामाल गराएर, जनतालाई ‘सक्ने जति बाँच्ने हो’ भन्न सक्ने ओलीले सुशासन र समाजवादको भाषण गर्छन् र पनि हामी ताली बजाउँछौं ।
-आफ्नै नेतृत्वमा भएको चुनाबमा सातवटै प्रदेशमा पार्टी पत्तासाफ भएको देखेर, सबै नियुक्ति बदर हुँदासमेत सासू अड़किएको देखेर, पार्टीको कार्यकालभरि एउटा विभागलाई पूर्णता दिन समेत नसकेको देखेर अनि संसदमा उभिएर प्रतिपक्षी नेताले दिएको एउटा सम्झन लायकको वक्तव्य समेत नभेटेरै पनि हामी देउबा जिन्दाबाद भन्छौं र ताली बजाउँछौं ।
-कुन हस्पिटलमा कति बेड र कति भेन्टिलेटर खाली छ भन्ने स्तरको सामान्य सूचना र समन्वय समेत नहुँदा एम्बुलेन्सबाट हस्पिटल चहार्दै नागरिकको मृत्यु भएको छ । सङ्क्रमण र रोग तीव्र रूपमा भयावह बन्दै छ । सड़कमा एक छाक खान पाउँदा खुशी हुनेको लाइन छ । यस्तो इतिहासकै संवेदनशील समयमा समेत निर्लज्ज रूपमा बालुवाटारदेखि शीतलनिवास र खुमलटारसम्म सत्ता, शक्ति र लेनदेनको नाङ्गो नाच चल्दै छ, र पनि हामी ताली बजाउँछौं ।
-आफ्नै आमा बिरामी हुनुभो भने कहाँ लैजाने हो भन्ने हामीलाई थाहा छैन । हस्पिटलले पहिले धरौटी माग्ला, केही गरी पैसा जुट्यो या माथिको नेताको फोनले काम गर्यो भने फेरि पीसीआर रिपोर्ट माग्ला । त्यसैमा दुई दिन जान्छ । त्यसपछि आईसीयुमा बेड खाली नभएको भन्दै अर्को हस्पिटल रिफर होला । यही भूमरीमा छटपटिएर आमा जब चितामा पुग्नुहुन्छ, त्यहाँ पनि झण्डा ओढ़ाएर हामी ताली नै बजाउँछौं !
लाग्छ, हामी ताली बजाउने मेसिन मात्रै हौँ !