पशुपतिनाथले कसरी कल्याण गर्न सक्लान् ?
डा. गोविन्दशरण उपाध्याय ।
सरकारका ९० प्रतिशत कर्मचारीहरू इमानदार, मेहनती र सहयोगी छन् । १० प्रतिशत कर्मचारीहरू कामचोर, चपलुस र घूसखोर भएको अनुमान गर्न सकिन्छ । राजनीतिमा पनि देश र जनताको सेवा गर्न जीवन अर्पेका त्यागिहरू छन् । सबैलाई भष्टचारीको आरोप लगाउनु इमानदार कर्मचारी र राजनैतिक नेतृत्व प्रति अन्याय हुन्छ भन्ने सबैको मान्यता हुन्छ नै ।
एउटा माछोले पोखरी फोहोर गर्छ भनेझैं फोहोरी मानसिकता भएका मन्त्रीहरू र भष्टाचारको अपवित्र चिन्तन भएका कर्मचारी तथा दलालहरूले असल कर्मचारी र नेताहरूको हुर्मत लिएका छन् । चापलुसी, पैसा र पहुँचमा अब्बल कर्मचारी र भष्टाचार गर्ने लक्षका साथ नेतृत्वमा पुगेका राजनेताहरूले नेपाल र नेपालीको हदैसम्म वदनामी गरेका छन् ।
यस्तो थाहा हुँदाहुँदै पनि हामी जनताहरू तिनै व्यक्तिहरूलाई राजनैतिक नेतृत्वमा चुनेर पठाउँछौँ र तिनै भ्रष्टाचार गरेर अकुत कमाएका कर्मचारीहरूको जीवनशैली प्राप्त गर्ने चाहना राख्छौं । साच्चिकै भन्ने हो भने वर्तमान राज्य संयन्त्रबाट देश र जनताको भलो हुन्छ भनेर सोच्नुनै अर्थहीन छ । जुन देशलाई १० प्रतिशत भ्रष्ट राजनैतिक नेता. १० प्रतिशत भ्रष्टाचारी मानसिकता भएका कर्मचारी र १० प्रतिशत दलालहरूले संचालन गर्छन् र ९० प्रतिशतले दोष बोक्छन्, पशुपतिनाथले कसरी कल्याण गर्न सक्लान् ?
वर्तमान भष्टाचार राजनैतिक संरक्षणको प्रतिफल हो । वर्तमान राजनैतिक परिपाटी ढल्दा सबैभन्दा नोकसान यिनै १० प्रतिशतलाई हुन्छ र विदेशीको सहयोग लिएर भएपनि आफ्नो सुविधा सुविधा संरक्षण गर्नेछन् । आफ्नो स्वार्थ पुरा गर्नको लागि देश र जनताको व्यापार पनि गर्ने छन् ।
अबको चुनावमा जनताले निर्णय गर्नु पर्छ कि परम्परागत पार्टीलाई भोट हालेर उपरोक्त १० प्रतिशत स्वाँठहरूलाई देशका जनतालाई लुट्ने लाइसेन्स दिने कि इमान्दारीका पक्षमा मतदान गरेर कपुको यथास्थितिवादबाट उन्मुक्ति प्राप्त गर्ने ? सत्य तीतो हुन्छ तर सत्य यही हो । यो पढेपछि ठीक हो भनेर टाउको हल्लाउनु भन्दा पनि अर्को चुनावमा भोट नदिने अठोट गर्ने वा वैकल्पिक तर ९० प्रतिशत जनताको पक्षमा उभिने ?