कयौं योग्य तथा सक्षमहरूको पहिचानको पद्धति नै भएन शासन व्यवस्थामा
जेपी गुप्ता ।
पार्टीले नाभीको शक्ति लगायो प्रधानमन्त्री फेर्न सक्दैन । संसदीय दलको नेता फेर्न स्वयं संसदीय दल सक्षम छैन । हजारौं इंजिनियरहरू रहँदा रहँदै विद्युत प्राधिकरणमा कूलमानको पुनर्नियुक्ति अपरिहार्यता छ भनिदैछ । अर्थमन्त्री राजीनामा दिन्छन्, उनैलाई सोही विषयको सल्लाहकार बनाइन्छ । एकपछि अर्को गरी राजदूतको पदसम्ममा युवराज खतिवडाले निरन्तरता पाउँछन् ।
न्यायाधीशबाट अवकाश पाएर एक जोर लबेदा सुरूवाल धुन पाउँदैन मानव अधिकार आयोगमा पुर्याइन्छ । मुख्य सचिवबाट निवृत्त भै अमेरिकामा रहेका आफन्तलाई भनी सुनाउन नपाउँदै बेलायतको राजदूत बहाली गराइन्छ । अख्तियार प्रमुखमा एक पूर्वसचिव पछि अर्को पूर्वसचिव नै । युग बदलेको कांग्रेसमा देउवाको निर्विकल्प अविच्छिन्नता छ ।
दूई सय चालीस बर्षदेखिको दासत्वको बिरोधमा बनेको पार्टीमा उपेन्द्र यादव २३ बर्षदेखि अध्यक्ष र अरू यस्तै अनेकन उदाहरणहरू ! तीन करोड जनसंख्या भएको नेपालमा कि त “म्यूजिकल चेयर” खेलमा कुर्सी नै थोरै भयो कि, कयौं योग्य तथा सक्षमहरूको पहिचानको पद्धति नै भएन यहाँको शासन व्यवस्थामा !