वामदेवविरुद्धको रिटको सुनुवाई आगामी बुधबार हुने
काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाई हुने भएको छ । शुक्रबार सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर बाँकी सुनुवाई आउँदो बुधबारसम्मका लागि सरेको हो ।
गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि गत बुधबारदेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासको पूर्ण इजलासमा सुनुवाई भएको छ ।
बुधबार नसिकएपछि शुक्रबारका लागि सारिएको सुनुवाई अदालतको समय सकिएपछि फेरि बुधबारका लागि सरेको रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिएका छन् । शुक्रबार वामदेवकातर्फबाट पूर्व महान्याधिवक्ताहरु युवराज संग्रौला र राघवलाल वैद्यका साथै शेरबहादुर केसीले बहस गरेका थिए ।
रिटमा असोज ७ गते प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमको सांसद पद यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।