वामदेव गौतमद्वारा राष्ट्रिय सभा सदस्यको पद तथा गोपनियताको सपथ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको सपथ लिएका छन् । संसद सचिवालयमा बिहीबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई राष्ट्रिय सभा सदस्यको पद तथा गोपनियताको सथप गराएका हुन् ।
सरकारको सिफारिसमा बिहीबार नै राष्ट्रपति बिद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनयन गरेकी थिइन् । सपथपछि अध्यक्ष तिमिल्सिनाले गौतमलाई सांसदको ब्याच लगाइदिएकी थिइन् ।
सपथ ग्रहणपछि गौतमले राष्ट्रियता, जनताप्रति बफादार भएर भूमिका निभाउने बताए । पार्टीको समाजवादमा जाने लक्ष्यमा पुग्न आफूले भूमिका खेल्ने उनले बताए ।
सपथ ग्रहण कार्यक्रममा नेकपा नेता एवं पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत सहभागी थिए । प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई राष्ट्रियसभा पठाउने निर्णयको विरोध भएपनि बुधबार मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।